काठमाडौं महानगरपालिकाका ७१ जना ‘सिटी भोलेन्टियर’ ग्र्याजुएट
काठमाडौं । काठमाडौं महानगरपालिकाको बालबालिका तथा वातावरण उप–समूह अन्तर्गतका ७१ जना महानगर स्वयंसेवक (सिटी भोलेन्टियर) ग्र्याजुएट भएका छन् । शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई सम्मान गरिएको हो ।
वातावरण जनस्वास्थ्य संस्थाका प्रोजेक्ट अफिसर सुजित श्रेष्ठका अनुसार गत वैशाखदेखि काठमाडौं महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत बालबालिका र वातावरणका लागि एक सय जना स्वयंसेवक जसलाई छोटकरीमा ‘बाबा’ नाम दिएर खटाइएको थियो । महानगरका सामुदायिक विद्यालयहरूमा हरेक शुक्रबार बुक फ्री फ्राइडेका लागि यी स्वयंसेवक खटिने गर्थे । उनीहरूले वातावरण सम्बन्धी विभिन्न क्रियाकलापहरू गराउने गर्दथे ।
‘सिटी भोलेन्टियर गएको वैशाखदेखि दशैं अगाडीसम्म खटिएका थिए । सयको हाराहारीमा खटिएका सिटी भोलेन्टियरहरु मध्ये आज ७१ जना ग्र्याजुएट भएका हुन्’, उनले भने ।
सिटी भोलेन्टियरमा खटिएकामध्ये उत्कृष्ट भिडियो बनाउनेहरूलाई समेत सम्मान गरिएको छ । जसमा ममता खत्री, अमिता महर्जन र सुमन श्रेष्ठ सम्मानित भएका हुन् ।
सिटी भोलेन्टियरमा खटिएकी सरिता महतोले यस क्षेत्रमा आफू लागेर निकै परिवर्तन गर्न पाएको अनुभव सुनाएकी थिइन् । फरक क्षमता भएका विद्यार्थीहरूमा आफू सिटी भोलेन्टियर भएर खट्दा छुट्टै खुशी मिलेको समेत उनले बताइन् ।
त्यस्तै, बाँसबारी माध्यमिक विद्यालयकी प्रधानाध्यापक नारायणी तिमिल्सिनाले सिटी भोलेन्टियरले आफ्नो विद्यालयमा निकै परिवर्तन ल्याएको भन्दै प्रशंसा गरिन् । उनले भनिन्, ‘यो कार्यक्रमले निकै परिवर्तन ल्याएको छ । अबका दिनमा पनि सिटी भोलेन्टियरको कार्यक्रम निरन्तर होस भन्ने माग राख्दछु । यो कार्यक्रमलाई निरन्तरता दिँदा विद्यालय सुन्दर बन्नेछ ।’
यो कार्यक्रमले बालबालिकाहरूमा धेरै परिवर्तन ल्याएको समेत उनले जानकारी दिइन् ।
काठमाडौं महानगरपालिकाहरूकी उपमेयर सुनिता डङ्गोलले महानगरपालिकाले थुप्रै काम गर्ने परिकल्पना गरेको मध्ये सिटी भोलेन्टियर पनि एक रहेको बताइन् । उनले भनिन्, ‘सिटी भोलेन्टियर भएर सिकेको कुरा अन्य ठाउँमा बुझिन्न । यसले व्यक्तिगत सिकाइमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ । समाज बुझ्ने मौका पाउनु भएको छ । बालबालिकाहरुसंग काम गर्ने मौका पाउनु भएको छ । यसले आगामी दिनमा चाल्ने पाइलाहरूलाई थप प्रेरणा मिल्नेछ ।’
वातावरणको क्षेत्रमा सिटी भोलेन्टियरको योगदान महत्त्वपूर्ण रहेको उनले बताइन् । सामुदायिक विद्यालयलाई सफा सुन्दर र हराभरा बनाउन गरेको सिटी भोलेन्टियरको योगदान उच्च रहेको भन्दै उनले प्रशंसा गरिन् ।