वरिष्ठ पत्रकार थापाले पाए शहीद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार – Nepal Press

वरिष्ठ पत्रकार थापाले पाए शहीद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार

भक्तपुर । वरिष्ठ पत्रकार बलराम थापालाई शहीद बैकुण्ठहरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

शहीद बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा प्रेस सेन्टर नेपाल भक्तपुर शाखाले स्थापना गरेको उक्त पुरस्कार शाखाको तेस्रो अधिवेशनको अवसर पारेर वरिष्ठ पत्रकार थापालाई प्रदान गरिएको हो ।

थापाले मूलप्रवाह मासिक पत्रिकामार्फत देश, जनता र सर्वहारा वर्गलाई हित पुर्‍याएको योगदानको उच्च कदर गर्दै पुरस्कार दिइएको प्रेस सेन्टर भक्तपुरले जनाएको छ । पुरस्कारको राशी १० हजार र सम्मानपत्र रहेको प्रेस सेन्टर भक्तपुरका निवर्तमान अध्यक्ष सञ्जीप घिमिरेले बताए ।

प्रेस सेन्टर भक्तपुरको तेस्रो अधिवेशनको अवसर पारेर नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले वरिष्ठ पत्रकार थापालाई उक्त पुरस्कार वितरण गरेका थिए ।

महासचिव गुरुङले जनपक्षीय पत्रकारलाई राज्यले प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै पद र प्रतिष्ठालाई केद्रविन्दुमा राखी सत्तापक्षले विपक्षीहरुलाई शत्रुतापूर्ण व्यवहारमा गरिरहेको बताए ।

बहुदलमा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्नेमा निषेधको सोच बढ्नु प्रत्युत्पादक हुने उनको भनाइ छ ।

दलाल पुँजीवादले सर्वसत्तावादलाई बढावा दिएको बताउँदै महासचिव गुरुङले विश्व साम्राज्यवादको लाइन पनि यही भएको र नेपालमा वर्तमान सरकार गठन यसैको पटाक्षेप भएको दाबी गरे ।

उनले वर्गीय अन्तरविरोध पहिचान गरी अघि बढेमात्रै समाजवादसम्म पुग्न सकिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको केद्र, प्रदेश र जिल्लामा निर्वाचित प्रेस सेन्टरमा आवद्ध पत्रकारलाई समेत सम्मान गरिएको थियो ।

यसैबीच तेस्रो अधिवेशनले मदन ढुङ्गानाको अध्यक्षतामा १७ सदस्यीय प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । ७ सदस्यीय पदाधिकारीमा निराजन सिलवाल र रत्नकाजी प्रजापति उपाध्यक्ष, प्रदीप श्रेष्ठ सचिव, निशा कुस्मा र अमृता बुढाथोकी सहसचिव तथा बाबुराम दाहाल कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै रोशन क्षेत्री र रुपक ढुङ्गानालगायतलाई केन्द्रीय प्रतिनिधि र बाबुकाजी श्रेष्ठ र सुरेश श्रेष्ठलगायतलाई प्रदेश प्रतिनिधि चयन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *