पूर्वी नेपालका राजावादीसँगको भेटघाटमा भीम रावल, रोक्ने प्रयास गर्दै नेकपा एसका नेताहरु
विराटनगर । एमालेबाट निष्कासनमा परेका भीम रावलले अहिले मातृभूमि जागरण अभियानका नाममा राजावादीहरुसँग हिमचिम बढाएका छन् । उनले सुनसरी र मोरङमा भएको कार्यक्रममा राजसंस्था फर्काइनुपर्छ भन्ने अभियानमा लागेकाहरूसँग बाक्लो भेटघाट गरेका छन् ।
उनीहरूसँगको भेटमा रावल २०६२/६३ सालको आन्दोलनको म्यान्डेट र लक्ष्य गणतन्त्र र सङ्घीयता नभएको भन्दै राजवादीहरुसँग नरम देखिएका छन् । उनले आफूले मातृभूमि जागरण अभियान सुरु गरेकाले सो अभियानमा राजावादी, गणतन्त्रवादी सबैको एकता रहनुपर्ने बताएका छन् ।
रावलले इटहरीमा शनिबार राति राप्रपाका नेताहरूलाई समेत भेटेका छन् । इटहरीका विष्णु रिजालको घरमा भएको भेटघाटमा राप्रपाका पूर्वकेन्द्रीय सदस्य रामु पोख्रेल र राप्रपा इटहरी उपमहानगर कमिटीका उपाध्यक्ष घनश्याम श्रेष्ठले समेत भटेका थिए ।
रिजाल इटहरीका व्यवसायी हुन् । उनी राजसंस्था फर्काइनुपर्छ भन्ने अभियानमा छन् । रावलसँग दुर्गा प्रसाईंको अभियानमा लागेकाहरूले पनि भेटघाट गरेका छन् । इटहरीमा राप्रपाका स्थानीय नेताहरूसँग भएको भेटघाटमा रावलले २०६२/६३ को आन्दोलनको एजेन्डा गणतन्त्र नभएको बताए ।
उनले बाहिरकाले गणतन्त्रको एजेन्डा प्रवेश गराएको भन्दै राजसंस्थाप्रति विश्वास रहेको बताए ।
रावलले भने, ‘२०६२/६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरुलाई जानकारी गराउँछु, धर्मनिरपेक्षता पनि थिएन, सङ्घीयता पनि थिएन । हामीले सङ्गठन गर्ने अभिव्यक्ति दिने सङ्गठन बनाउने यो राजतन्त्रबाटै हुन्छ भनेर आन्दोलन सुरु गर्यौं । जब आन्दोलन उत्कर्षमा पुग्यो, घुसाउनेहरूले धर्मनिरपेक्ष र सङ्घीयता घुसाए ।’
उनले कोशी नदी उर्लेर आएपछि कहिले नछेके जस्तै आन्दोलनले राजतन्त्र जोगाउन नसकेको बताए । अहिले आफू कानून र राजनीतिशास्त्रको विद्यार्थी भएको भन्दै रावलले जनताले निर्वाचनमार्फत संविधान संशोधन गरेर राजतन्त्र फर्काउनसक्ने बाटो रहेको बताए ।
उनले त्यो बाटोबाट मात्रै छिटो परिवर्तन हुनसक्ने नदेखेको भन्दै राजवादीहरूलाई आन्दोलनका लागि समेत उक्साए ।
उनले भने, ‘निर्वाचनको माध्यमबाट मात्रै सबै कुरा हुन्छ जस्तो लाग्दैन । जनतालाई पनि परिचालित गर्नुपर्छ । २०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमालेले पनि मानेको हो, त्यहीअन्तर्गत म पहिलो चोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर शपथ लिएको हो ।
उनले इटहरीमा भएको कार्यक्रममा भने, ‘जनताले अहिले सङ्गठित भएर आवाज नउठाउने हो भने परिवर्तन सम्भव छैन ।’
राजावादीसँगको निकटता रोक्ने प्रयासमा समाजवादी
कोशी प्रदेशको दौडाहामा निस्किएका भीम रावलसँग एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राईले भेटेका छन् ।
भोजपुरमा रहेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका राई रावल विराटनगर आएपछि उनैलाई भेट्न धरान आए । एमालेबाट कारबाहीमा परेका रावल र राईका बिचमा धरानमा भेटघाट भएको हो ।
भेटघाटका क्रममा रावलले आफ्नो अभियानको बारेमा बताएका थिए । उनले मातृभूमि जागरण अभियान सुरु गरेकाले साथीहरुसँगको सल्लाह लिँदै हिँडेको बताए ।
रावल कोशी प्रदेशमा आउँदा विभिन्न भेटघाटको चाँजोपाँजो भने एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलामले मिलाएका हुन् । उनले राजेन्द्र राई मुख्यमन्त्री हुँदा जनसम्पर्क सल्लाहकारको रूपमा काम गरेका थिए ।
आलाम रावललाई हिजो विराटनगर विमानस्थलमै भेट्न पुगेका थिए । विराटनगर विमानस्थलमा रावललाई राजावादीहरूले समेत स्वागत गरेका थिए ।
रावललाई राजसंस्था फर्काउनुपर्छ भन्ने अभियानमा लागेका सतिश पोख्रेलले आफ्नो गाडीमा चढाएर वराह क्षेत्र लान खोजेका थिए । सेतो कलरको प्राडो गाडी लिएर विमानस्थल पुगेका पोख्रेलको गाडीमा रावल चढ्न ठिक्क परेपछि एकीकृत समाजवादीका नेता आलामले रावललाई गाडीमा चढ्नबाट रोकेका थिए ।
पोख्रेलले रावलको झोलासमेत बोकेर गाडीमा हालेको अवस्थामा आलामकै कारण रावल अर्कै गाडीमा चढेको विमानस्थल स्रोतले जनाएको छ ।
अहिले पूर्वएमालेका कार्यकर्ता झापाका डम्बर गिरीसमेत रावलसँगै हिँडिरहेका छन् । उनले रावललाई झापा लैजाने योजना बनाए पनि रावल झापा भने गएनन् ।
गिरी २०७४ को निर्वाचनमा एमालेका तर्फबाट हल्दिवारी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा एमालेका तर्फबाट टिकट नपाएपछि बागी उठेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको गिरी अहिले भने भीम रावलको अभियानमा हिँडिरहेका छन् ।
रावलले धरानका पूर्वमेयर मनोज मेन्याङ्वोलाई समेत भेट्न खोजेका थिए, तर मेन्याङ्वोले रावललाई भेट्न मानेनन् । मेन्याङ्वोले नेपाल प्रेससँग भने, ‘मैले कसैलाई भेटिनँ । भेट्न जरुरी पनि ठानिनँ ।’
२०७९ को निर्वाचनमा पार्टीले धरानको मेयरको टिकट नदिएपछि उनी बागी उठेका थिए । त्यसयता उनी कुनै पनि पार्टीमा आबद्ध नभई बसेका छन् ।
राजावादीभन्दा पनि प्रचण्ड, दुर्गा, माधव रावल सबै भारतवादी हुन् ।सबैको उद्देश्य एमाले कमजोर बनाउने हो ।
Uml saknu parcha that’s it bro
यिनीहरूको मालिकले त एमाले सक्न सकेन । आफैले घुँडा टेक्नुपर्यो । यी भाडाका टट्टुहरूले के गर्नु ? भ्या भ्या गरेर घाँस खान्छन । त्यत्ति हो ।
@ Ksp Pyl “भ्या भ्या गरेर घाँस” खाने भनेको भेडा जस्तै बुद्धि नभएर एउतै रट लगाउने तिमी जस्ता ऐमाले ला झोले अझई भननु परदा “खड्गे ओलीको कन्डो सुन्ग्दै हिदने तिमी जस्ता बुद्धिमा बिरको लागेका हरु होऊ|
एमाले बलियो भए के हुन्छ, कसलाई फाइदा हुन्छ? देशले के पाउँछ? कानुन नै बनाएर गिरीबन्धु टिस्टेट, यति र ओम्नी जस्ता बाँकी रहेका अन्य मरिक महत्वका जमिन-संरचना बेचोस्, देखावटी राष्ट्रवादिता प्रयोग गरेर मुलुकलाई भारतको गुलाम बनाओस् , अपराधीलाई छुट दिएर निर्दोषलाई सुली हाल्न !? एमाले जिन्दाबाद भनिदिनुहुन्छ ?