एमए साइकोलोजीको पाठ्यक्रम परिमार्जन हुँदै, व्यवहारिक कोर्स ल्याइने केन्द्रीय विभागको भनाइ – Nepal Press

एमए साइकोलोजीको पाठ्यक्रम परिमार्जन हुँदै, व्यवहारिक कोर्स ल्याइने केन्द्रीय विभागको भनाइ

काठमाडौं । स्नातकोत्तर मनोविज्ञान विषयको पाठ्यक्रम परिमार्जन हुने भएको छ । सेमेस्टर प्रणाली लागू भएको करिब एक दशकपछि पाठ्यक्रम परिमार्जन हुन लागेको मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक सन्देश ढकालले जानकारी दिए ।

आइतबार केन्द्रीय विभागमा पूर्वविद्यार्थी एवम् सरोकारवालासँग पाठ्यक्रमको परिमार्जनका विषयमा भएको छलफलमा उनले परिमार्जित पाठ्यक्रम सर्वपक्षीय ढंगले बढी व्यवहारिक बनाउन लागिएको उल्लेख गरे ।

त्यस्तै, मनोविज्ञान केन्द्रीय विभागीय प्रमुख प्रा. डा. नन्दिता शर्माले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड र नेपालमा पनि सुहाउँदो हुने पाठ्यक्रम परिमार्जनमा कार्य गरिएको बताइन् । उनले सर्वपक्षीय सुझावलाई ध्यानमा राखेर पाठ्यक्रम तयार पारिन लागेको पनि उल्लेख गरिन् ।

जसअन्तर्गत यसअघि राखिएका सैद्धान्तिक विषयलाई तुलनात्मकरुपमा अलिक व्यवहारिक सिद्धान्तलाई समेटिएको, अनुसन्धान तथा सम्बन्धित क्षेत्रमा गएर लागू गर्न सक्षम हुने किसिमको कोर्स बनाउन लागिएको तथा प्रयोगात्मक विषयलाई छुट्टै विषयको रुपमा विकास गरिएको छ ।

पहिलो र दोस्रो शैक्षिक सत्रमा सैद्धान्तिक तथा व्यवहारिक विषयलाई समेटेको छ भने अन्य सत्रहरुमा व्यवहारिक र कुन क्षेत्रमा आफूले पढ्ने वा विशिष्टिकृत गर्ने विषय हुनेछ । जस्तै, तेस्रो सत्रदेखि क्लिनिकल क्षेत्रमा जाने, वा औद्योगिक तथा संस्थागत क्षेत्रमा जाने वा परामर्शको क्षेत्रमा जाने भन्ने स्पष्ट भएर त्यहीअनुरुपमा प्रयोगात्मक कक्षादेखि इन्टिर्नसिप सम्मका विषय समेटिने उपप्राध्यापक ढकालले बताए ।

त्यस्तै, क्लिनिकल विशिष्टिकरणमा प्रोजेक्ट म्यानेजमेन्ट एवम् डिजास्टार म्यानेजमेन्ट जस्ता विषय प्रवेश गराउन लागिएको उनले बताए । दोस्रो समेस्टरमा ‘अप्रोचेज एण्ड मेथड्स अफ साइकोलोजी’ विषयअन्तर्गत अनुसन्धानात्मक लेखहरु समावेश गरी अनुसन्धान कसरी गरिन्छ, त्यसका आधारहरु के के हुन्, कस्ता कस्ता विधिहरु प्रयोग गरिएको छ जस्ता विषयमा ज्ञान दिने उद्देश्यले नयाँ प्रयोग गर्न लागिएको ढकालले बताए । यसअघि ३ क्रेडिट आवरको थेसिस हुने गरेकोमा परिमार्जित पाठ्यक्रममा थेसिस ६ क्रेडिट आवरको बनाइने भएको छ ।

उता औद्योगिक तथा संस्थागत मनोविज्ञानमा पनि व्यवहारिक पक्षलाई ध्यान दिइँदै पाठ्यक्रममा केही परिमार्जन गरिएको सहप्राध्यापक सन्जेश श्रेष्ठले जानकारी दिए । यद्यपि यो विषयमा तत्कालै पनि विभिन्न विधिहरु नयाँ आउने भएकाले सबै समावेश गर्ने कुरा चुनौती रहेका ध्यानमा राख्दै कम्तिमा विद्यार्थीहरुलाई आधार तय गर्नेगरी कोर्स विकास गरिएको श्रेष्ठले बताए ।

अन्तरक्रियामा पूर्वविद्यार्थीहरुले आफूले फिल्डमा गएर काम गर्दाखेरि भोग्नुपरेका चुनौतीलाई उल्लेख गर्दै पाठ्यक्रममा गर्न सकिने सुधारका विषयमा सुझाव दिएका थिए ।

जसमा मेन्टल हेल्थ केयरका विषयमा, मनोविज्ञानलाई नेपालको परिवेशमा जोडेर अध्यापन गराउने विषय, अनुसन्धान लेख समावेश गर्दा नेपालीहरुकै राख्नुपर्ने विषय तथा विद्यार्थीहरुलाई न्यूनतम सीप विकासका लागि आधारभूत तालिमका विषयलगायत सुझाव दिइएको थियो ।

सुझावलाई ध्यानमा राखेर कोर्सको डिजाइन हुने विभागीय प्रमुख प्रा. डा. शर्माले जानकारी दिइन् ।

कार्यक्रममा सहप्राध्यापक खेमराज भट्ट, पदम जोशी, पूर्वविद्यार्थीहरुलगायतको सहभागीता थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *