एमालेको विश्लेषण- प्रचण्डले उग्र जातिवादी, राजावादी र पपुलिस्टसँग मिलेर अराजकता मच्चाउन खोज्दैछन् – Nepal Press

एमालेको विश्लेषण- प्रचण्डले उग्र जातिवादी, राजावादी र पपुलिस्टसँग मिलेर अराजकता मच्चाउन खोज्दैछन्

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको देशकै ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेले सत्ताबाट बाहिरिएको प्रतिशोध लिन माओवादी अध्यक्ष प्रचण्ड अराजकतावादीहरूसँगको साँठगाँठमा लागेको विश्लेषण गरेको छ ।

आइतबारबाट शुरू केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा अस्थिरता, अराजकता र प्रायोजित निराशा जगाउने खेलमा प्रचण्ड रहेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ-

असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्सीमा रहेका र कुर्सीमा रहँदासम्म देश समृद्ध बन्दै गरेको, अर्थतन्त्र लयमा फर्किएको र निराशाको मात्रै कुरा गर्न नहुने भाषण गरिरहेका प्रचण्डले सरकारबाट हटेको दुई साता नबित्दै संसदको रोष्टमबाट नेपाल बंगलादेश जस्तै बन्ने अभिव्यक्ति दिए । यो अन्यन्त गैरजिम्मेवार, गैर कुटनीतिक र अशोभनीय टिप्पणीमात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमूना पनि थियो ।

आज माओवादी केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामकरण गरिएको कोशी प्रदेशको विरुद्ध उग्र जातीयवादी समूहहरुसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउन उद्दत देखिएको छ । पूर्वराजावादीहरुसँग बाक्लै बसाउठी गरिरहेको छ । सरकारमा रहँदा आफैँले कारवाही गरेका व्यक्ति र समूहको खुल्ला समर्थनमा उत्रिएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्यत देखिएको छ । यी घटनाक्रमहरु मओवादी केन्द्रमा गहिरिँदै गरेको वैचारिक विचलन,राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति हुन् ।


प्रतिक्रिया

3 thoughts on “एमालेको विश्लेषण- प्रचण्डले उग्र जातिवादी, राजावादी र पपुलिस्टसँग मिलेर अराजकता मच्चाउन खोज्दैछन्

  1. अनि त्यो सबै भारतको निर्देशनमा हो । मालदिभ्समा वर्तमान राष्ट्रपतिलाई अपदस्थ गर्न ६० लाख अमेरिकी डलर विपक्षीलाई घुस खुवाएको छ भारतले । यहाँ पनि ५२ सालदेखि प्रचण्डलाई पालेर अराजकता मच्चाई रहेको छ ।

    1. भारतीय दलालहरूलाई यहि कुरा भन्न दाम खुवाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर