न्यूरोडमा ट्याक्सी चालक र नगरप्रहरीबीच घम्साघम्सी, नगरप्रहरी घाइते
काठमाडौं । काठमाडौं महानगरपालिकाकाे नगरप्रहरी र ट्याक्सी ड्राइभरबीच घम्साघम्सी भएकाे छ । न्यूरोडको इन्द्रचोकमा नो पार्किङमा ट्याक्सी पार्किङ गरेको भन्दै महानगरको नगर प्रहरी र ट्याक्सी ड्राइभरबीच आज दिउँसाे घम्साघम्सी भएकाे हाे ।
नगरप्रहरीले ट्याक्सी चालकमाथि कुटपिट गरि नियन्त्रणमा लिएकाे ट्याक्सी चालकहरुकाे दाबी छ ।
क्षेत्राधिकार भन्दा बाहिर गएर नगरप्रहरीले कुटपिट गर्नुको साथै चालकलाई नियन्त्रणमा लिएको भन्दै ट्याक्सीचालक मजदुरहरूले न्युरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए ।
नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले भने नगरप्रहरीले ट्याक्सी चालकमाथि हातपात नगरेको दाबी गरे । उनका अनुसार न्यूरोडको नो पार्किङमा १० वटा भन्दा बढी ट्याक्सी पार्किङ गरेर राखिएको थियो । सिटी फुकेर सोही क्रममा नगरप्रहरीले हिललक लगाउन खोज्दा ट्याक्सी चालकहरुले आक्रमणको प्रयास गरेको थियो ।
दुबै पक्षबीच घम्साघम्सी हुँदा नगरप्रहरी घाइते भएको उनले बताए । घाइते भएका नगरप्रहरीलाई बीर अस्पतालमा राखिएको छ ।
उनले भने,‘ हाम्रो टोलीले नो पार्किङमा राखेको ट्याक्सीहरुलाई ह्रिल लक लगाउन खोज्दा उनीहरु जाइलागे । सोही क्रममा दुबै पक्षबीच घम्साघम्सी भएको थियो । हाम्रो नगरप्रहरी घाइते भएर अस्पताल भर्ना हुनुभएको छ । ’ अहिले विवाद साम्य भइसकेको उनले बताए ।
‘ट्याक्सीचालक मजदुरहरू अघि आउनुभएको थियो । तपाईहरु त्यसरी अनधिकृत तरिकाले पार्किङ गरेर बस्दिनुभएन भनेर भनेपछि अबदेखि मिलेरै काम गर्ने र जजसको कमीकमजोरी छ त्यसलाई सुधार्ने भनेर छलफल गरेर जानुभइसक्यो । ’ उनले भने ।
उनले नगरप्रहरीले कसैलाई पनि कुटपिट नगरेको र नियन्त्रणमा पनि नलिएको दाबी गरे । काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले ट्याक्सीचालक कुटिएको विषयमा जानकारी नभएको बताए ।