जिम्मी कार्टरलाई कांग्रेस, एमाले र माओवादीले लेखेको पत्र
काठमाडौं । सन् १९८५ अक्टोबर १८ को अंकमा विश्व प्रसिद्ध अमेरिकी अखबार न्यूयोर्क टाइम्सले हेडलाइन बनायो- जिम्मी कार्टर बिदा मनाउँदै नेपालमा । सगरमाथा आधार शिविरको यात्रा, सगरमाथा क्षेत्रको कालापत्थर पर्वतको आरोहणलगायतका समाचार त्यो बेला विश्व हेडलाइन भएका थिए । १३ दिने नेपालमा बिदा मनाउन आएका थिए कार्टर ।
त्यस बेला नेपालमा राजा वीरेन्द्र थिए । उनको विश्वमा पुग्ने कूटनीतिक परियोजना थियो- शान्ति क्षेत्र नेपाल । शान्ति क्षेत्र नेपालमा अमेरिकाले औपचारिक समर्थन गरेको दुई वर्षपछि कार्टर नेपाल आएका थिए । सन् १९८३ डिसेम्बर ५ बाट सुरु भएको राजा वीरेन्द्रको अमेरिकाको राजकीय भ्रमणको दौरानमा राष्ट्रपति रोनाल्ड रेगनले नेपालको शान्ति क्षेत्र प्रस्तावमा समर्थन गरेका थिए ।
उक्त प्रस्तावकाे समर्थन गर्दै राजा वीरेन्द्र सहभागी भएको कार्यक्रममा रेगनले भाषणमा भनेका थिए, ‘नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव गरेर तपाईं (वीरेन्द्र)ले नेपालको दुर्लभ स्रोतसाधनलाई सैन्य उद्देश्यमा लगाएर देशको भविष्यलाई पछि पार्न चाहनुभएको छैन । हामी अमेरिकीहरु महाराजको शान्ति क्षेत्रका उद्देश्यमा सहमत छौं । शान्ति क्षेत्रको अनुमोदन गर्छौं । हामीलाई आशा छ, यो सारा दुनियाँ एक दिन शान्ति क्षेत्र हुनेछ ।’
सन् १९८३ डिसेम्बर ७ मा नेपालमात्रै होइन, विश्व पनि कुनै दिन शान्ति क्षेत्र हुनेछ भनेर रेगनले भनेको कुरा १३ वर्ष पुगेपछि नेपालमै पनि शान्ति आएन । नेपालमा माओवादीहरु भूमिगत भए । युद्ध सुरु गरे । नेपालमा अशान्ति छायो । हिंसा बढ्यो । सन् २००४ मा अमेरिकाले माओवादीहरुलाई आतंककारीको सूचीमा राख्यो ।
नेपालको शान्ति प्रक्रिया सुरु भएपछि जिम्मी कार्टर फेरि नेपाल आए । सन् २००७ र २००८ मा जिम्मी नेपाल आए । सन् २०१३ मा पनि आए । सबैभन्दा पहिलो नेपाल यात्रा बिदा मनाउन शान्ति क्षेत्र प्रस्तावको युगमा आएका कार्टरको दोस्रो भ्रमण नेपाल शान्ति प्रक्रियामा गएपछि भएको थियो । कार्टरको नेपालआगमनलाई धेरैले स्वागत गरे ।
कुनै बेला अमेरिकालाई साम्राज्यवादी शक्ति भन्दै विदेशी उपस्थितिलाई वैदेशिक हस्तक्षेप भन्ने माओवादी नेतृत्वले कार्टरलाई भन्न थाले- ‘हामीलाई आतंककारी सूचीबाट निकाल्न सहयोग गर्नुपर्यो । कार्टरले सन् २००८ मा सार्वजनिक रुपमै माओवादीलाई आतंककारी सूचीबाट हटाउनेबारेमा मन्तव्य दिएका थिए । अमेरिकाले ८ वर्ष आतंककारी सूचीमा राखेर सन् २०१२ सेप्टेम्बर ६ मा मात्रै सूचीबाट हटायो । प्रचण्ड प्रधानमन्त्री पहिलो पटक हुँदा अमेरिकाको औपचारिक आँखामा माओवादी राजनीतिक दल नभएर आतंककारी दस्ता थियो । आतंककारी सूचीबाट हटाउँदा पनि अमेरिकाले भनेको थियो, ‘आजको सूचीबाट बहिर्गमनले पार्टीको विगतको हिंसालाई नजरअन्दाज गर्दैन ।’
कार्टरलाई पत्र लेखेरै नेपाल बोलाएका थिए दलहरुले
२०६६ जेठ १४ (सन् २००९ मे २८) मा माओवादी अध्यक्ष प्रचण्डले कार्टरलाई ‘प्रिय राष्ट्रपति’ भनेर सम्बोधन गरेर नेपालमा शान्ति प्रक्रियामा स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको रुपमा काम गर्न आमन्त्रण गरेका थिए ।
यस्तै नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले कार्टरलाई प्रचण्डले जस्तै ‘प्रिय राष्ट्रपति’ सम्बोधन गरेर नेपालको संविधानको मस्यौदा तयार गर्न र शान्ति प्रक्रियामा साथ दिन पत्र लेखेका थिए ।
पार्टी दस्तावेजमै अमेरिकालाई ‘अमेरिकी साम्राज्यवाद’ र नेपालको आन्तरिक मामिलामा विदेशी उपस्थितिलाई ‘विदेशी हस्तक्षेप’को उपमा दिने दुई कम्युनिष्ट माओवादी र एमालेका अध्यक्षहरुले कार्टरलाई नेपालमा औपचारिक पत्रबाटै बोलाउनु आफैंमा रोचक छ । रोचक यस मानेमा छ कि त्यो बेला नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघीय मिसन अनमिन सक्रिय भइसकेको थियो । त्यस्तो बेलामा कार्टरलाई पत्र लेखेर कार्टर सेन्टरको नेपालको स्थानीय तहसम्मको उपस्थिति नेपालका दलहरुले औपचारिक रुपमा माग गरेका थिए ।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पनि २०६६ वैशाख २१ (सन् २००९ मे ४)मा पत्र लेखेर कार्टरलाई नेपाल आमन्त्रण गरेका थिए । पत्रमा कोइरालाले नेपाल ‘पूर्ण लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, गैरराजनीतिक सेना र मानव अधिकार’को बाटोमा हिँडेको भन्दै कार्टरलाई नेपालमा आएर सहयोग गर्न आग्रह गरेका थिए ।
राष्ट्रपति हुँदा पनि नेपालको संरक्षण क्षेत्रमा जोडिएका थिए कार्टर
सय वर्षको उमेरमा मृत्युवरण गर्ने प्रथम अमेरिकी राष्ट्रपति हुन् कार्टर । उनी गत डिसेम्बर २९ मा दुनियाँबाट बिदा भए । उनको नेपाल सम्बन्ध एक ट्रेकरको रुपमा, एक पूर्वराष्ट्रपतिको रुपमा मात्रै थिएन, राष्ट्रपति हुँदा पनि कार्टरको नेपाल सम्बन्ध राम्रो थियो ।
यसबारेमा हालसालै न्यूयोर्क टाइम्सको अग्र लेखमा अमेरिकी सहयोग निकाय यूएसएआईडीकी प्रशासक सामन्था पावरले चर्चा गरेकी छन् । डिसेम्बर ३० मा अखबारको प्रथम पृष्ठमै प्रकाशन भएको आलेखमा पावरले भनेकी छन्, ‘कार्टर नेपाल जस्ता देशहरुमा वन विनाश रोकथाम गर्ने, संरक्षण क्षेत्रहरु स्थापना गर्ने र वातावरणीय मुद्दालाई विश्वस्तरमा बढाउने प्रथम अमेरिकी राष्ट्रपति थिए ।’