बौरियो पर्यटन क्षेत्र, तैपनि किन खुसी छैनन् व्यवसायी ?
काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र हो, पर्यटन । कोभिडको कारण सुस्ताएको नेपालको पर्यटकीय गतिविधिमा पछिल्लो समयमा भने सुधार देखिएको छ ।
विदेशी मुद्रा आर्जन गर्ने माध्यमसमेत रहेको पर्यटक आगमनको पछिल्लो तथ्यांकले यो क्षेत्र कोरोना महामारीअघिकै लयमा फर्किएको देखिएको छ । कोरोना महामारीका कारण सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन खस्कियो ।
सन् २०२० मा जम्मा २ लाख ३० हजार ८५ जनामात्रै विदेशी पर्यटक नेपाल आए । यस्तो संख्या सन् २०२१ मा झन् खस्कियो । यस वर्ष १ लाख ५० हजार ९६२ जना मात्रै विदेशी पाहुना नेपाल आएका थिए । सन् २०२२ मा केही सुधार भएर उक्त संख्या ६ लाख १४ हजार ८६९ पुगेको थियो ।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२३ मा नेपालमा १० लाख १४ हजार ८८२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त संख्या सन् २०२४ मा बढेको छ ।
सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन संख्या कोरोना महामारीअघि अर्थात सन् २०१९ को हाराहारी हो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
नेपालमा पर्यटक आगमनको तथ्यांक विश्वभरबाट नेपाल भित्रिने पर्यटकहरूको हो । जसमा भारतबाट हवाई मार्ग प्रयोग गरेर नेपाल भित्रिने पर्यटकलाई मात्रै गणना गरिएको छ, तर खुला सिमाना प्रयोग गर्दै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकको संख्या पनि निकै ठूलो छ । जसको अभिलेख राख्ने गरिएको छैन ।
‘भारतबाट स्थलमार्गबाट आउने भारतीय पर्यटकहरू धेरै छन् । उनीहरूको पनि तथ्यांक संलग्न गर्ने हो भने यो संख्या बढ्नसक्छ’, निर्देशक लामिछानेले भने, ‘अब स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको संख्याको रेकर्ड राख्ने तयारी भइरहेको छ ।’
सन् २०२४ मा १३ लाख २० हजार पर्यटक नेपाल आउने बोर्डको अनुमान थियो, तर अनुमानित लक्ष्य भने पूरा हुन सकेन । ‘यो वर्ष विभिन्न घटनाहरू भए । भारतीय चढेको बस दुर्घटनादेखि हवाई दुर्घटनासम्ममा घटना भए । जसले गर्दा पर्यटक आगमनमा असर पर्यो । जसको असर हामीले लिएको लक्ष्यअनुसार पर्यटक आगमन देखिएन ।’
लक्ष्यअनुसार पर्यटक नआए पनि कोरोना महामारी अगाडिको लयमा फर्किएकाले यो संख्या उल्लेख्य मान्नुपर्ने उनको दाबी छ ।
मार्चमा आए सर्वाधिक, अन्य महिना कति ?
सन् २०२४ को सबैभन्दा बढी मार्च महिनामा पर्यटक नेपाल आएका छन् । यस महिना एक लाख २८ हजार १६७ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यसबाहेक अन्य तीन वटा महिनामा पनि एक लाखभन्दा बढी पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा देखिन्छ ।
मार्चपछि अक्टोबर महिनामा सर्वाधिक पर्यटक नेपाल आएका छन् । यस महिना एक लाख २४ हजार ३९३ पर्यटक नेपाल आउँदा नोभेम्बरमा एक लाख १४ हजार ५०१ जना आएका थिए । यसका साथै अप्रिल महिनामा एक लाख ११ हजार ३७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
बोर्डका अनुसार सन् २०२४ को पहिलो महिना अर्थात् जनवरीमा ७९ हजार पर्यटक नेपाल आएका छन् । यस महिना ७९ हजार १०० जना पर्यटक नेपाल भित्रिएका हुन् ।
दोस्रो महिना अर्थात् फेब्रुअरी महिनामा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल भित्रिए । मे महिनामा ९० हजार २११ जना पर्यटक नेपाल भित्रिएका थिए ।
त्यस्तै जुन महिनामा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्तमा ७२ हजार ७१९, सेप्टेम्बरमा ९६ हजार ३०५ र डिसेम्बरमा ९२ हजार ३४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
भारतबाट आए सबैभन्दा बढी
सन् २०२४ मा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका छन् । यस वर्ष भारतबाट ३ लाख १७ हजार ७७२ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । जुन हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका पर्यटकहरु हुन् ।
दोस्रोमा अमेरिकाबाट पर्यटक बढी नेपाल आएका छन् । सन् २०२४ मा अमेरिकाबाट १ लाख ११ हजार २१६ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । तेस्रोमा रहेको चीनबाट १ लाख १ हजार ८७९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
पर्यटन बोर्डका अनुसार सन् २०२४ मा बेलायतबाट ५७ हजार ५५४ पर्यटक नेपाल आउँदा बंगलादेशबाट ४३ हजार ९८० जना आएका छन् । अस्ट्रेलियाबाट ४३ हजार ९८०, थाइल्यान्डबाट ३० हजार ७४५, श्रीलंकाबाट ३० हजार २२६ र दक्षिण कोरियाबाट २७ हजार ७१ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ ।
क्षमताको एक तिहाइमात्रै !
पर्यटक आगमन कोरोना महामारी अगाडिकै लयमा फर्किए पनि पर्यटन व्यवसायी भने खुसी हुन सकेका छैनन् । महामारीअघि र अहिलेको पर्यटन क्षेत्रको लगानीमा ठूलो अन्तर आइसकेको छ । यस क्षेत्रमा लगानी थुप्रै बढेको छ, तर क्षमताअनुसार पर्यटक आगमन भने हुनसकेको छैन ।
‘हामीले पर्यटक आगमनको संख्या गनेर खुसी हुनुपर्ने अवस्था छैन । ११ लाख पर्यटक आउनु भनेको हाम्रो क्षमताको एक तिहाइमात्रै हो’, होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले भने, ‘हामी निजी क्षेत्रले ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने क्षमताको होटल बनाइसकेका छौं ।’
उनका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाइ प्रायः पाँच तारे होटेलमा हुने गरेको छ । नेपालीहरूले पनि पछिल्लो समय विभिन्न कार्यक्रम, सभा-सम्मेलन तथा गोष्ठीहरू गर्न तारे होटल नै रोज्ने गरेको पाइन्छ । खासगरी विदेशी पर्यटकलाई लक्षित गरेर यस्ता होटलहरूमा लगानी बढ्दै गएको छ ।
‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार नेपालमा एकैसाथ २२ लाख पाहुनालाई आतिथ्य सेवा दिनसक्ने क्षमताको होटल तथा रेस्टुरेन्ट रहेका छन् । होटल उद्योगमा ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबर लगानी भइसकेको छ ।
होटलमा जुन रफ्तारमा लगानी भइरहेको छ, त्यसअनुसार प्रतिफल भने पाउन नसकेको अध्यक्ष शाहले गुनासो गरे ।
‘सन् २०१९ देखि २०२४ को अवधिमा होटलमा लगानी धेरै नै बढेको छ । लगानीअनुसारको प्रतिफल भने पाउन सकिएको छैन’, उनले भने, ‘अहिले नै हामीले लगानी व्यवस्थापन गर्न सकेनौं भने होटलको लगानी बालुवामा पानी बन्ने सम्भावना देखिन्छ । फेरि होटलहरु बन्द हुनुपर्ने दुखान्त अवस्था आउनसक्छ ।’
उनका अनुसार पर्यटन क्षेत्रको सप्लाइ र डिमान्डमा ठूलो उतारचढाव छ । पर्यटक बढाउने योजना नहुने हो भने होटलको अवस्था थप खस्किँदै जाने देखिन्छ । केही योजना बनाए पनि कार्यान्वयन हुन वर्षौं लाग्ने गरेको छ । सरकारले ठोस योजना ल्याएर पर्यटक बढाउन नसक्ने हो भने होटलको लगानी थप धराशायी बन्ने उद्योगीहरु बताउँछन् ।
साधारण शेयरमार्फत सर्वसाधारणमा गएर होटलहरु आफ्नो लगानी उठाउने दाउ खोजिरहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपालका अध्यक्ष पाण्डेको तर्क छ ।
‘पर्यटकका लागि भनेर नेपालमा ठूला होटेलहरू खुले । होटलमा अर्बौं लगानी भइरहेको छ । पर्यटन क्षेत्रका लागि जुन अनुपातमा लगानी भइरहेको छ, त्यसको प्रतिफल छैन । ठूला कतिपय होटल साधारण शेयरमार्फत पब्लिकमा जाने र लगानी उठाउने दाउमा हिँड्ने गरेका छन्’, उनले भने, ‘लगानी उठाउन सार्वजनिक निष्कासन (आईपीओ) मा जाने हो भने सर्वसाधारण फस्ने डर हुन्छ । यसबारे कसैको ध्यान पुगेको छैन ।’
अन्य मुलुकको तुलनामा नेपालको पर्यटन क्षेत्र कुन अवस्थामा छ भनेर समीक्षा गर्न जरुरी रहेको उनको जिकिर छ । अध्यक्ष पाण्डेले भने, ‘एसियन देशहरूमा चीन, भारत, बंगलादेश, भुटान, श्रीलंकाभन्दा पहिले नेपालमा पर्यटनको विकास भएको थियो, तर हामी अहिले कहाँ छौं र उनीहरू कहाँ पुगिसके हेर्नुपर्छ । उनीहरू हामीभन्दा अगाडि कसरी पुगे भन्नेबारे नेपालले मनन गर्नुपर्छ, तर हामी पर्यटकको संख्या गणनामै खुसी भएर बसेका छौं ।’
पर्यटन दशक मनाउने तयारीमा सरकार
‘पर्यटन दशक’ मनाउने सरकारले तयारी थालेको छ । सन् २०२५ देखि २०३५ लाई ‘पर्यटन दशक’ मनाउने तयारी भइरहेको लामिछानेले जानकारी दिए ।
उनले भने, ‘सन् २०२५ देखि २०३५ लाई पर्यटन दशक मनाउने तयारी थालिएको छ । यस दशकभित्रमा प्रत्येक वर्ष ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिनेछ ।’
केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि पर्यटन दशक मनाउने तयारी भइरहेको जानकारी दिएका थिए ।
निर्देशक लामिछानेका अनुसार पर्यटन दशक मनाउन चीनले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने जनाएको छ । यसले गर्दा नेपालमा चिनियाँ पर्यटक बढ्ने आँकलन गरिएको लामिछानेले जानकारी दिए ।
‘पर्यटन क्षेत्रलाई माथि लैजानेगरी हामीले तयारी थालेका छौं । पर्यटक भित्र्याउने लक्ष्यसहित कार्यविधि तयार गर्दैछौं’, उनले भने ।