रवि पक्षका वकिलको तर्क : सबै ठगी जीबीले गरेका हुन्, उनै जवाफदेही हुनुपर्छ – Nepal Press

रवि पक्षका वकिलको तर्क : सबै ठगी जीबीले गरेका हुन्, उनै जवाफदेही हुनुपर्छ

पोखरा । सूर्यदर्शन सहकारीको रकम अचपलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तर्फका वकिलको बहस सुरु भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालासमा रवि पक्षका ३ जना अधिवक्ताले बहस गरेका छन् ।

पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठसहित वरिष्ठ अधिवक्ता शुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका हुन् । रविको पक्षमा बहस गर्न १७ जना अधिवक्ताले नाम टिपाएका छन् । भोलि पुनः निरन्तरता हुनेछ ।

सोमबार बहस गरेका तिनै जना अधिवक्ताले सहकारीको रकम ठगी सबै जिबी राईले गरेको र जवाफदेही जिबी नै हुनुपर्ने जोड दिए । ‘आज बहस गरेको तिनै जनाले ठगी, बदमासी र सहकारीको रकम हिनामिना गरेको सबै जिबी राई हो । उ पो जवाफदेही हुनुपर्छ त । रविलाई मुछ्न पाइदैन भन्ने कुरामा जोड दिएका थिए,’ बहसमा सहभागी एक अधिवक्ताले भने ।

उनीहरुले सहकारीको पैसा गएको भनिएको गोर्खा मिडियामा रहेका सामान बेचेर बचतकर्ताको रकम फिर्ता गर्न आग्रह गरे । ‘गोर्खा मिडिया नेटवर्क प्रालिमा अहिलेको डिप्रिसेसन कटाएर पनि ४४ करोेड बढीको सम्पत्ति छ । नेपाल सरकारले बचतकर्तालाई रकम फिर्ता गर्ने नै हो भनेदेखि मिडियामा भएको सामान विक्रि गरेर गरे भइहाल्छ नि,’ अधिवक्ता रमनले भने ।

संसदले आफुलाई नभएको अधिकार प्रयोग गरेको समेत उनले आरोप लगाए । ‘यो मुद्दा चाहिँ संसदले विभिन्न तरिकाले नभएको अधिकार प्रयोग गरेर र सरकारी वकिललाई दवाव दिएर दर्ता भयो । यो मुद्दा गर्ने कानुनी आधार छैन,’ उनले भने, ‘रविलाई एकपछि अर्काे मुद्दा लगाएर जिन्दगी अप्ठ्यारोमा पार्ने काम भयो ।’

अधिवक्ता शुशिल पन्तले २०५३ सालमा अंशवाफत पाएको जग्गालाई जफत गर्नुपर्छ भन्न पाइन्छ भन्दै प्रश्न गरे । उनले सरकारले बदनियत राखेर मुद्दा दर्ता गरेकाले खारेज हुनुपर्ने तर्क गरे ।

‘२०५३ सालमा अंशबाफत पाएको जग्गा आफैले लेख्ने विगो दाबीमा । अनि यो जग्गा अवैध तरिकाले कमाएको हो । जफत गर्नुपर्छ भनेर भन्न पाइन्छ ? २०५३ सालमा अंशमा पाएको जग्गा जफत हुनुपर्छ भनेर आउन पाइदैन । जुन आयो नेपाल सरकार यसले बदनियत देखिन्छ । यो मुद्दा खारेज हुनुपर्छ’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *