बाबुआमाको सम्बन्ध टुट्यो, रोमनले जन्मदर्ता पाएनन् – Nepal Press

बाबुआमाको सम्बन्ध टुट्यो, रोमनले जन्मदर्ता पाएनन्

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर १७, गोब्रेनीमा एउटा विपन्न दलितहरूको बस्ती छ । त्यस बस्तीमा एक ५ वर्षका बालक बस्छन् । उनको नाम हो, रोमन परियार ।

रोमनको बाबुआमा उनसँग छैनन् । आमाको नाम विष्णु परियार र बाबु राम परियार हुन् । बिहे गर्ने उमेर नपुग्दै राम र विष्णुले प्रेम विवाह गरेका थिए । चितवनकै राप्ती नगरपालिकाको गड्यौलीमा रामको घर थियो ।

उनीहरूले विवाह गरेर तीन सन्तान जन्माए । तीन सन्तान छोरा थिए । तर, रोमन जन्मनुअघि रामसँग विष्णुको मिलाप नभएपछि माइती गोब्रेनी आएर विष्णु आमासँगै बसिन् ।

उनको गर्भ बढ्दै गयो । राम लिन आएनन् । न त उनको तेस्रो गर्भबाट जन्मिएको सन्तानलाई रामले वास्ता गरे । रोमनकी मावली हजुरआमा केशरी परियारका अनुसार रोमन २०७६ साल चैत २९ गते गोब्रेनीमै जन्मिए । उनको रेखदेख विष्णुले माइतीमै गरिन् ।

रोमन हुर्किँदै गएपछि विष्णुले माइती छोडिन् । रोमनलाई आमा केशरीकै काखमा छोडिदिएर गोरखामा अर्को विवाह गरिन् । विष्णुका श्रीमान् रामले रोमनको जन्म हुनु अगावै अर्को विवाह गरेको र विष्णुलाई बेवास्ता गरेको हजुरआमा केशरी बताउँछन् ।

रोमनको हजुरआमा केशरी विपन्न अवस्थामा छिन् । दुई छोरा भारत छन् । एउटी बुहारी नेपाल नै बस्ने भए पनि बुहारी सँगै केशरी एक्लै बस्छिन् । नजिकैको आधारभूत विद्यालय लगौँटामा भर्ना भएका रोमनको जन्मदर्ता छैन । रोमनको हजुरआमाले लेखाइदिएको २०७६ साल चैत २९ गते जन्ममितिको आधारमा रोमनको भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक रोमकान्त पौडेलले जानकारी दिए ।

हजुरआमा एक त वृद्धावस्थामा पुगिसकेकी छन् । अर्कोतिर उनी बिहानैदेखि मदिरा सेवन गर्छिन् । पटक पटक जन्मदर्ताको लागि छोरी र ज्वाइँलाई भन्नु अभिलेख अपडेट गराउनुपर्छ भने पनि बेवास्ता गर्ने गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

त्यति मात्रै होइन रोमनको दाहिने खुट्टा बाङ्गो छ । उनी सिधासँग हिँड्न सक्दैनन् । विद्यालय हिँडेर आउँदा १५ मिनेटको दुरी पार गर्नुपर्छ । उनलाई हिँडेर विद्यालय आउँदा पनि समस्या छ । त्यसैले उनी विद्यालय पनि गयल भइरहन्छन् । प्रधानाध्यापक पौडेल भन्छन्, ‘हजुरआमाले ल्याइदिएको दिनमा आउँछन्, होइन भने विद्यालय पनि छुटिरहेको हुन्छ ।’

उनको खुट्टाको उपचार सम्भव भएको चिकित्सकहरूले पनि बताएका छन् । सोही परामर्शपछि शल्यक्रियामा समन्वय गर्नको लागि स्थानीय अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था अटिजम केयर चितवन सोसाइटीले जन्मदर्ता प्रमाणपत्र बनाइदिन पहल पनि गरेको थियो ।

सोसाइटीका समावेशी शिक्षा प्राविधिक अधिकृत वीरेन्द्रबहादुर थापाले विद्यालयमार्फत वडा कार्यालयमा पहल गर्दा जन्मदर्ता बनाउनै कठिन भएको जानकारी दिए । उनले जन्मदर्ता भए खुट्टाको शल्यक्रिया निःशुल्क गराउन संस्थाले समन्वय गर्न सहज हुने समेत बताए ।

तर, वडा कार्यालयले भने बाबुआमाको प्रमाण नभई जन्मदर्ता गरिदिन नसकिने जनाएको छ । रोमनकी हजुरआमा केशरीले भनिन्, ‘बाबुआमा लिएर आउनु भन्छन् । म उसको घर पनि गएँ । ज्वाइँ भेटिएनन् । हजुरआमाले जन्मदर्ता बनाइदिन सक्दैनौँ भनिन् ।’

उनले छोरी पनि गोरखा बिहे गरेर गइसकेकोले आफूले नै रोमनलाई हुर्काएको र आफूलाई नै संरक्षक बसेर जन्मदर्ता बनाइदिन अनुरोध गर्दा वडाले नमानेको बताइन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष ललितमान तामाङले नेपाल प्रेससँग कुरा गर्दै वडा कार्यालयमा रोमन परियारको जन्मदर्ताको लागि अनुरोध आएको तर वडा सचिवले बाबुआमा नभई जन्मदर्ता बनाइदिन नसकिने बताएको भने । उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘वडा सचिवले बाबुआमा नभई जन्मदर्ता गर्न नमिल्ने भने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर