सुर्खेतमा चाउमिनको आफ्नै ब्राण्ड बनाएकी पौरखी चन्द्रा – Nepal Press

सुर्खेतमा चाउमिनको आफ्नै ब्राण्ड बनाएकी पौरखी चन्द्रा

सुर्खेत । सुर्खेतमा अचेल टन्नै होटल रेष्टुरेन्ट खुलेका छन् । अन्यत्र झैँ खाजाको लागि धेरैको पहिलो रोजाइमा पर्छ मम र चाउमिन । यी नास्ता हरेक पसलमा पाइन्छ । तर, अधिकांश चन्द्राको चाउमिनमै पुग्छन् ।

यहाँ भेटिएका मीनबहादुर शाही आफू चन्द्राको नियमित ग्राहक भएको बताउँछन् ।

‘यहाँको चाउमिन र ममको स्वादले बारम्बार आउन बाध्य बनाउँछ,’ शाहीले भने, ‘चाउमिन ताजा र स्वादिलो हुन्छ नि त !’

उनका अनुसार पसलको सबैभन्दा चित्त बुझ्ने कुरा आँखैअघि चाउमिन तयार भएको देख्नु र त्यहीँ खानु हो ।

सुर्खेतकी नितु रायमाझी पनि साथीभाइसँग खाज खान यही होटमा आउने बताउँछिन् ।

‘यहाँको चाउमिन असाध्यै स्वादिष्ट छ उनले भनिन्,‘यो चाउमिन खाँदा घरकै झल्को आउँछ । साथीभाइहरूसँग रमाइलो गर्न र स्वादिष्ट खाजा खान यहीँ आउँछु । अन्यत्र यस्तो स्वाद पाउन मुस्किल छ । यो ठाउँ हाम्रो लागि विशेष बनेको छ,’ उनले भनिन् ।

आमाबुवाले ३५ वर्षअघि खोलेको चाउमिन पसललाई निरन्तरता दिएकी छन् चन्द्रकुमारी गाहा मगरले । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानकी उनको संघर्षले यो चाउमिन पसल लोकप्रिय भएको मात्र छैन समाजमा उनलाई प्रेरणादायी पात्रको रूपमा चिनाएको पनि छ ।

आफ्नो व्यवसायिक सफलतामा खुसी छन् चन्द्रा ।

पसल चलाउन आफूले पढाइ छोड्नुपरेको सम्झेर भने उनको मन अहिलेसम्म अमिलो छ । आमाबुवाले भारतमा बसेर चाउमिन बनाउने सीप सिकेको र २०४६ सालमा फर्किएर आफैँ पसल सुरू गरेको चन्द्र सुनाउँछिन् ।

चाउमिन पसल खोलेको तीन वर्षपछि बुवाले दोस्रो बिहे गरेर भारत गए । बुवाले छाडेपछि उनको परिवारको आर्थिक स्थिति बिग्रियो । १३ वर्षकी चन्द्रालाई घरको धेरै जिम्मेवारी बहन गर्नुपर्ने भयो । त्यतिबेला उनी ५ कक्षामा पढ्दै थिइन् । स्कूल बिदा हुनेबित्तिकै घर फर्केर आमालाई सघाउँथिन् । आमाले चन्द्रालाई चाउमिन बनाउन सिकाउँथिन् ।

चाउमिन व्यवसायलाई टिकाइराख्न आमाले निकै संघर्ष गरिन् । छोराछोरी हुर्काउने र घर चलाउनुपर्ने कारणले आमाले मात्र व्यवसाय टिकाउन सक्ने परिस्थिति भएन । व्यवसाय चलाउन चन्द्राले पाँचकक्षामै आफ्नो पढाइको बिट मार्नुपर्‍यो ।

चन्द्राको परिवारले सुरुवाती दिनमा चाउमिन मात्र बेच्थे । उनले भने पसल चलाउन थालेको केही वर्षमै त्यसलाई विस्तार गरिन् । चाउमिनमात्र होइन मम पनि बनाउन थालिन् ।

चन्द्राको होटेलमा चाउमिन र मम मात्र बन्छ । तर, ग्राहकहरू विशेषगरी चाउमिन खान आउँछन् । हातैले बेलेर तयार पारिएको चाउमिन र यसमा प्रयोग गरिने ताजा कच्चा पदार्थले स्वादमा बेग्लै पहिचान दिएको उनी बताउँछिन् ।

चन्द्राले दैनिक ५० प्लेटभन्दा बढी चाउमिन बिक्री गर्छिन् । कहिलेकाहीँ यो संख्या अझ बढी हुन्छ । आफूले दैनिक ९ केजी चाउमिन बेच्ने र दैनिक करिब ५ हजार रूपैयाँ नाफा कमाउने गरेको चन्द्राले बताइन् ।

दैनिक १०/११ हजार रूपैयाँको कारोबार भएपनि ६ हजार रूपैयाँ लगानीमा खर्च हुन्छ, उनले भनिन् ।

३६ वर्षअघि ६० हजार ऋण लिएर आमाबुवाले व्यवसाय थालेका थिए । २५ सय रूपैयाँ मासिक ब्याज तिर्नुपर्थ्यो । चन्द्राले पसल सम्हाल्न थालेपछि त्यो ऋण तिरिन्, व्यवसाय बढाइन् र राम्रो नाफा निकालिन्, घरखेत जोडिन् । अहिले समाजमा सफल व्यवसायीको रूपमा स्थापित भइन् ।

‘व्यवसायले राम्रै नाफा दिन थाले पनि आमाको उपचारका लागि ठूलो खर्च भयो । तर, बचाउन सकिएन् । यही चाउमिन व्यवसायले अहिले मेरो परिवारको आर्थिक स्थिति सुधारेको छ,’, उनले भनिन् ।

अहिले चन्द्राले तीनजनालाई रोजगार दिएकी छन् । यो कुराले पनि उनलाई खुसी बनाउँछ ।

‘पढ्न नपाउनु मेरो जीवनको सबैभन्दा ठूलो अपूर्णता हो जस्तो लागिरहन्छ,’ उनले भनिन् ‘तर सबैले ‘चन्द्राको चाउमिन’ भनेर चिन्छन् । यो नै मेरो खुसीको स्रोत हो । व्यवसायबाट दामभन्दा बढी नाम कमाएको मा गर्व लाग्छ ।’

अरूलाई पनि व्यवसाय गर्न सुझाउँछिन् चन्द्रा । चाउमिनको तयारीका लागि उनले धेरैलाई सीपसमेत बाँडेकी छन् ।

‘मैले जानेको सीप अरूले सिक्न चाह्यो भने म त खुसी भएर सिकाउँछु । मसँग चाउमिन बनाउने सीप सिकेकाहरूले अहिले व्यवसाय थालेका छन् म बहुत खुसी छु।’

चन्द्राको पसलमै चाउमिन र मम बनाउन सिकेर १८ वर्षयता आफ्नै व्यवसाय चलाउँदै आएकी टीकाकुमारी आर्चाय पनि चन्द्राले होटेल चलाएपछि आफूलाई व्यवसायमा लाग्ने प्रेरणा आएको बताइन् ।

दैनिक ८ हजार रूपैयाँसम्मको व्यापार गरिरहेको बताउँदै टीकाले यही व्यवसायबाट उनले साढे १ करोडको घर र जग्गा जोडेको सुनाइन् ।

वीरेन्द्रनगर-६ का वडाध्यक्ष जनकबहादुर रावल साना व्यवसाय भए पनि अनुशासन र उत्कृष्ट सेवाबाट उदाहरणीय व्यवसायीका रूपमा चन्द्राले पहिचान बनाएको बताउँछन् ।

‘महिलाहरूले आफ्नै पौरखले व्यावसायिक सफलता हासिल गर्न सक्ने उदाहरण चन्द्रा हुन् । वडाले उहाँजस्ता व्यवसायीलाई सधैं प्रोत्साहन गर्नेछ,’ वडाध्यक्षले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *