सिंहदरबार दक्षिणी गेटबाट फणीन्द्र नेपाल पक्राउ
काठमाडौं । ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्त पुर्याएको छ ।
लिपुलेकसम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार बनेको भन्दै नेपाल धर्ना दिन गएका थिए । ‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर घाँटीमा झुण्ड्याएका उनी त्यसलाई ज्याकेटले छोपेर सिंहदरबार गेटसम्म पुगे । आज १२ बजेदेखि २ बजेसम्म एक्लै धर्ना बस्ने उनको योजना थियो ।
सिंहदरबार गेटमा पुगेर ज्याकेट फुकालेर उनले आफ्नो ब्यानर प्रदर्शन गरे । तर, त्यसको एक मिनेटभित्रै प्रहरीले पक्राउ गरेको नेपालले बताएका छन् । आफूलाई सिंहदवार वृत्तभित्र यत्तिकै राखिएको उनले जानकारी दिए ।
आफू सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्न जान लागेको उनले फेसबुकमा पोस्ट गरेर जानकारी गराएका थिए ।
फणीन्द्र नेपालले सामाजिक सञ्जालमा गरेको पोष्ट-
लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन् झन् मौन रहनेछ , इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ । त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्यान्ह १२:०० बजेदेखि ४:०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।