सहकारी चाहिँदैन भन्दै हल्ला फिँजाउनेलाई चुनौती दिनुहोस् : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्यामात्र रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७ औँ वार्षिक साधारण सभामा उनले अब सहकारी चाहिँदैन भन्नेहरूलाई चुनौती दिन कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुस गराउने गरी काम गर्नुपर्ने बताए ।
अधिकारीले भने,‘अहिले सहकारीहरू एउटै खाले हुन् । सहकारी ठिक छैनन् । अब सहकारी चाहिँदैन् भन्ने एउटा तप्का छ । तीनिहरूलाई चुनौती दिनको लागि र सहकारी ठिक छन् ,वास्तविक जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवन स्तर उकास्ने ठाउँ भनेको सहकारी हो । किनभने सहकारीमा बचत जम्मा गर्छौं, त्यही परिचालन गर्छौं । अनि व्यवसाय निर्माण गछौं । त्यसकारण हामी सहकारीमा फिँजाइएको हल्ला मिथ्या हो भन्ने आधारमा जान आवश्यक छ ।’
उनले सरकारले विभिन्न संघ संस्थाहरू र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए । सबैले सरकारको मुख ताक्ने मात्र नभई आ-आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘हाम्रो देशको आर्थिक स्थिति हेर्दा सरकारले विभिन्न संघ संस्था अथवा सहकारीलाई गर्ने सहयोगको बारेमा जति अपेक्षा छ, जति आवश्यकता छ । त्यो हुन सकेको छैन । त्यसैले सरकारको मुख ताक्ने मात्र होइन् हामी सवल भएको छौं । हामीले पनि पहल गर्नुपर्छ ।’
उनले ऐन कानूनहरू पूरानै हुँदा अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको गुनासो गरे । त्यस्तै उनले भूमीहीन जनताहरुलाई सरकारले वास्तविक बसोबासका लागि जग्गा दिनुपर्ने पनि बताए ।