पाँच महिनाको अवधिमा जंगली जनावरले ८३ जनाको ज्यान लियो – Nepal Press

पाँच महिनाको अवधिमा जंगली जनावरले ८३ जनाको ज्यान लियो

हेटौँडा । पछिल्लो पाँच महिनामा जंगली जनावरको आक्रमणबाट ८३ जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनाको अवधिमा ५९९ जना घाइते भएका छन् । जंगली जनावरको आक्रमणमा परेका २५६ जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेमा सबैभन्दा धेरै संख्या सर्पको टोकाइबाट रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । सर्पको टोकाइबाट ७० जनाको ज्यान गएको छ भने ५३२ जना घाइते भएका छन् । सर्पले आक्रमण गरेको अवस्थाबाट २ सय ३६ जनालाई उद्धार गरिएको छ ।

सर्पपछि हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या धेरै छ । चालू आवको पाँच महिनामा हात्तीको आक्रमणबाट ६ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएको र ३ जनाको उद्धार गरिएको छ ।

पछिल्लो पाँच महिनामा गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु हुनुको साथै १४ जना घाइते र चार जनाको उद्धार गरिएको प्रहरीको तथ्यांक छ । यो अवधिमा बाघको आक्रमणमा परि ३ जनाले ज्यान गुमाएका छन् ।

बाघले आक्रमण गर्दा २४ जना घाइते भएका छन् भने ११ जनालाई उद्धार गरिएको प्रहरीको भनाई छ । भालुको आक्रमणमा परि कसैको पनि मृत्यु नभए पनि १५ जना घाइते भएका छन् भने २ जनाको उद्धार गरिएको छ ।

प्रहरीले जंगली जनावरबाट भएका घटनामा १ हजार ८३५ प्रहरी परिचालन गरिएको पनि जनाएको छ । पछिल्लो समय मानव र जंगली जनावरको द्वन्द्वको घटनामा वृद्धि भएको पाइएको छ ।

प्रहरीले जंगली जनावरको कारण हुने गरेको कृषिबालीको क्षतिबारे आफ्नो तथ्यांकमा उल्लेख गरेको छैन । प्रहरीले तथ्यांकमा उल्लेख नगरे पनि प्रत्येक वर्ष जंगली जनावरको कारण सयौँ विगहा कृषि बालीमा क्षति हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *