सहकारी अध्यादेशको विरोधबारे मन्त्री अधिकारीले भने- नमिलेका कुराहरू मिलाउँछौँ, छटपटिइहाल्नु पर्दैन (भिडिओ)
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको सहकारी अध्यादेशलाई लिएर अहिले नै आत्तिइहाल्नु पर्ने स्थिति नरहेको स्पष्ट पारेका छन् ।
सोमबार नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभामा बोल्दै मन्त्री अधिकारीले यस्तो जनाएका हुन् ।
कार्यक्रममा मन्त्री अधिकारीले भने, ‘केही नमिलेका कुराहरू मिलाउँदै जाने हो । एकै पटक सबै ठिक हुन्छ भन्ने होइन । अध्यादेशमा केही कुराहरू छुटेका छन् । केही नमिलेका छन् । यसलाई मिलाउँदै जान सकिन्छ । अहिले नै आत्तिइहाल्नु पर्ने, छटपटिइहाल्नु पर्ने अवस्था छैन ।’
सरकारले अध्यादेश मार्फत सहकारी सञ्चालकहरूको कार्यकालको सीमा तोकेको छ । कुनै पनि व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन नपाउने र बहाल रहन नपाउने व्यवस्था गरेको छ । यसबारे सहकारी अभियानकर्मीहरूले व्यापक विरोध गरेका छन् ।
यो व्यवस्थामा प्रारम्भिक व्यवस्था छुटेको मन्त्री अधिकारीले स्पष्ट पारेका छन् ।
‘बचत तथा ऋण कारोबार गर्न स्वीकृत लिएको संस्थामा भनेका छौँ । यो प्रारम्भिक तहमा हो । त्यहाँ प्रारम्भिक शब्द परेको छैन । फेरि पनि त्यसलाई सच्याउँला । तर, प्रारम्भिक तहमा दुई कार्यकाल भन्दा बस्न नपाउने भन्ने उद्देश्यबाट आएको हो’, उनले भने, ‘विगतमा दुई पटक बसेकाले अहिले पाउँदैन भनेर हल्ला फैलाइएको छ । छोरो जन्मिएको नै छैन यति वर्ष भयो मेरो छोरो भन्न मिल्छ की मिल्दैन रु ऐन कार्यान्वयनमा आएपछिको दुई वर्ष हो ।’
सरकारले सहकारी अध्यादेश ल्याएपछि केही कुराहरू चर्चामा आएको र केहीले भ्रम पनि फिँजाएकोमा उनले आपत्ति जनाए । सहकारीमा स्पष्ट नभएका कुराहरू स्पष्ट पार्नेबारे लबिङ गर्न समेत उनले आग्रह गरे ।
सहकारीका समस्या र समाधानबारे जानकारी दिन आवश्यक छ । सहकारी ठिक छन् र यसलाई बदनाम गराउन पाइँदैन भनेर ऐक्यबद्धता जनाउन आवश्यक रहेको मन्त्री अधिकारीले बताए ।
सहकारीमा फैलाइएको हल्ला मिथ्या हो भन्न जरुरत रहेको बताउँदै मन्त्री अधिकारीले भने, ‘अहिले सहकारीहरू एउटै प्रवृत्तिका हुन्, एउटै खाले हुन् । यी सहकारी ठिक छैनन्, अब सहकारी चाहिँदैन भन्ने एउटा थप्का छ । तिनीहरूलाई च्यालेञ्ज गर्न आवश्यक छ । वास्तविक जनतासँग आधारित, कृषिमा आधारित राम्रा सहकारी छन् भनेर भन्नुपर्ने छ । साधारण व्यक्तिहरूको जीवनस्तर उकास्ने भनेको नै सहकारी हो ।’
सहकारी समस्या समाधान गर्न सरकारले अध्यादेश ल्याएकोले यसलाई छिट्टै कार्यान्वयन गरी समस्या समाधान गर्नेमा मन्त्री अधिकारीले आश्वासन समेत दिए ।