नेपालमा भूकम्प : पछिल्ला कम्पनको के हुनसक्छ अर्थ ? (भिडिओ) – Nepal Press

नेपालमा भूकम्प : पछिल्ला कम्पनको के हुनसक्छ अर्थ ? (भिडिओ)

काठमाडौं । पश्चिम नेपालका बझाङ, बाजुरा, कालिकोट, जाजरकोटलगायत भेगमा पछिल्लो केहिदिन यता लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लालाई केन्द्रविन्दु बनाएर पछिल्लो १९ दिनमा ९ पटक भूकम्प गएको रेकर्ड छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार पछिल्लो दुई वर्ष (सन् २०२२ नोभेम्बर १ देखि २०२४ डिसेम्बर ३१ सम्म) मा कर्णाली र सुदूरपश्चिम प्रदेशका १० जिल्लामा ३ हजार २४६ पटक ६ रेक्टरभन्दा साना भूकम्प गएको छ ।

यो अवधिमा बझाङ, जाजरकोट र डोटीमा ६ रेक्टरमाथिका तीनवटा भूकम्प गएको थियो । २०८० कात्तिक १७ गते राति गएको जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प जाँदा २ सयभन्दा बढीको ज्यान गएको थियो ।

पश्चिम नेपालमा धेरै लामो समयदेखि ८ रेक्टरभन्दा माथिका भूकम्प नगएको र दिनहुँजसो सानातिना भूकम्प गइरहनुले ठूलो भूकम्पको पूर्वसंकेत त होइन भन्ने चिन्ता बढाएको छ ।

भूगर्भविद्हरूका अनुसार पश्चिम नेपालको भूसहतमुनि ५२५ वर्षयता ठूलो भूकम्प नगएकाले भूकम्पीय शक्ति सञ्चय भइरहेको छ ।

यस्तो छ नेपाल भूकम्पको उच्च जोखिममा रहनुको कारण

भूकम्प जोखिमबारे जान्न भौगोलिक अवस्थाबारे थाहा पाउन जरुरी छ । नेपाल दक्षिणतर्फ भारतीय प्लेट र उत्तरतर्फ युरेसियन प्लेटको बीचमा छ । हिमालयको बीचभागमा अवस्थित नेपाल दुई वटा प्लेट आपसमा जुधेको ठाउँ हो । जुन अफगानिस्तानदेखि म्यानमारसम्मको भाग हिमालयमा पर्छ । यो करिब २५ सय किलोमिटर छ । त्यसमध्ये ८ सय किलोमिटरको भाग चाहिँ नेपालभित्र पर्छ ।

भारतीय प्लेट उत्तरतर्फ सर्ने र युरेसियन प्लेटको मुनि जाने क्रममा भारतीय प्लेटलाई युरेसियनको मुनि जान नदिने गर्दा हिमालयमा अवरोध सिर्जना हुन्छ । त्यही शक्ति भारतीय प्लेट उत्तरतर्फ सर्दा हिमालयमुनि जुन शक्ति सञ्चित हुन्छ । अथवा प्लेट सर्न पाउँदैन । जसले गर्दा शक्ति खुम्चिने अवस्था हुन्छ । नेपालको हकमा त्यो खुम्चिने दर प्रतिवर्ष २ सेन्टिमिटर रहेको छ । जसलाई हिमालयले भित्र छिर्न पाउँदैन । त्यसले गर्दा त्यो ठाउँ खुम्चिन्छ । अर्थात त्यहाँ शक्ति जम्मा भएर बस्छ । कालान्तरमा त्यही शक्ति बढी भएपछि त्यहाँका चटानहरूले थेग्न सक्दैन । त्यहाँको चटान चिप्लिन्छ । शक्ति बाहिर निस्किछ र त्यही शक्ति निस्किँदा भूकम्प जान्छ । त्यही कारणले हिमालय अर्थात नेपालमा सधैँ भूकम्प गइराख्ने भूगर्भविद्हरू बताउँछन् ।

२०७२ को भूकम्प अगाडि पनि पूर्वदेखि पश्चिमसम्मै ठूला विनाशकारी भूकम्प गएको इतिहास छन् । भूकम्प र भूकम्प जाने कारणलाई हेर्दा नेपालको पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्र भूकम्पीय जोखिममा छ ।

के हुन सक्छ पश्चिम नेपालको लगातारको भूकम्पको संकेत ?

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट डा. लोकविजय अधिकारी पश्चिम नेपालको पछिल्ला भूकम्पले भविष्यमा जाने ठूलो भूकम्पको पूर्वानुमान गर्न नसकिने बताउँछन् ।

आजसम्मको प्रविधिले कहाँ, कतिको भूकम्प जान्छ भनेर भन्न सकिने अवस्था नभएकाले कुनै ठाउँमा गएका भूकम्पले अब निकट भविष्यमै ठूलो भूकम्प जाने अर्थात निश्चित समयमा भूकम्प जान्छ भनेर थाहा नदिने उनको भनाइ छ । साथै भूकम्प कुनै निश्चित समय अन्तरालमा अथवा नियमति रूपमा आउने प्रकिया नभई सञ्चित हुने शक्ति चाहिँ बाहिर निस्किन्छ । सोही कारण भूकम्प आउँछ ।

भूकम्पविद् डा.अधिकारी भन्छन्,‘कुनै भूकम्प जाँदा त्यसले यो समयमा यो भन्दा ठूलो भूकम्प जाँदै छ है भनेर भन्न सकिँदैन । र, जान्छ भनेर थाहा पनि हुँदैन । त्यसकारण यी संकेतहरूले खाली के बुझनुपर्छ भने हामी बसेको क्षेत्र अथवा नेपाल सम्पूर्ण रूपमा भूकम्पीय जोखिममा छ भन्ने कुरा बुझनुपर्‍यो भनेर यो भूकम्पले देखाउँछ । साथै अहिले गएका भूकम्पले यो ठाउँ भूकम्पीय जोखिम छ भन्ने कुरा झकझकाइरहेको हो ।’

पश्चिममा अहिले विगतको भन्दा बढी भूकम्प गइरहेको महसुस भइरहेको छ । तर, त्यसको अर्थ निकट भविष्यमा ठूलो भूकम्प जाँदैछ है भनेर संकेतका रूपमा बुझन नसकिने अधिकारीको भनाइ छ ।

कतै ठूलो भूकम्प गयो भने त्यसको पराकम्पहरूले धेरै भूकम्प जाने उनको तर्क छ ।

‘पश्चिममा साना र मझौला भूकम्प गइरहेको छ, त्यहाँ भूकम्पीय शक्ति सञ्चित भएको हो । भूकम्प जानलाई शक्ति छ तर धेरै लामो समयसम्म भूकम्प गएको छैन भनेसी ठूलो भूकम्प जान सक्ने सम्भावना सँधैव छदैछ । यसले भूकम्पीय जोखिममा हामी छौँ भन्ने सङ्केत गर्छ, ’डा.अधिकारी भन्छन् ।

साथै कुनै भूकम्पका पराकम्पहरू धेरै समयसम्म रहन्छ । कुनैका थोरै समयसम्म रहन्छ । यसको उदाहरणका रूपमा गोखरा भूकम्पलाई लिन सकिन्छ । १० वर्षअघि गोरखा भूकम्प गइसकेपछिकाठमाडौंदेखि पूर्वमा झण्डै ५५ हजारभन्दा बढी गोरखा भूकम्पको पराकम्पका रेकर्ड छ ।

गोरखादेखि पश्चिम तर्फको भाग करिब ८ सय किलोमिटर भारतको देराहदुनसम्म विगत ५ सय २५ वर्षयता ८ रेक्टर हाराहारीको ठूलो भूकम्प नगएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभागका सह-प्राध्यापक तथा भूर्गवविद् डा. सुवोध ढकाल बताउँछन् ।

उनी भन्छन्,‘ हाम्रो अपेक्षित ८० देखि १०० वर्षको अन्तरालमा ठूलो भूकम्प जाने भन्ने रेकर्ड छ । जबकी पश्चिम नेपालमा ५२५ वर्ष भइसक्यो ठूलो भुइँचालो गएको छैन । त्यो क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भएर बसेको छ । त्यो सञ्चित भएको शक्ति विस्फोटन हुँदा ठूलो भूकम्प आउँछ भनेर विज्ञानले भनेको छ ।’

‘प्यासिफिक्ली एक्टिभ जोन’ अर्थात ठूलो भूकम्पको सम्भावना बढी भएको भन्ने एउटा लक्षण त्यसले देखाउने डा. ढकालको भनाइ छ ।

के मझौला भूकम्पले ठूलो भूकम्प टार्छ ?

साना र मझौला भूकम्पले ठूलो भूकम्पको जोखिमलाई कम नगर्ने भूर्गभविद् डा. ढकाल बताउँछन् ।

सानो भूकम्प गइराख्नु भनेको एक हिसाबले राम्रो नै मान्नुपर्ने बताउँदै उनी भन्छन्, ‘शक्ति सञ्चय अलिअलि गर्दै घट्छ । यसले ठूलो भूकम्प जाने सम्भावना पनि बढाइराखेको छ । तर, यसैगरी सानो भूकम्प गइराख्यो भने ठूलो भूकम्पको सम्भावनालाई कम गर्र्दै लैजान्छ भनेर बुझन सकिन्छ । धेरै सञ्चित छ भने स्वभाविक नै हो भनेर मान्नुपर्ने हुन्छ । ठूलो भूकम्प आउन सक्ने सम्भावनालाई भने घटाउँदैन ।’

उनी भन्छन्,‘साना-साना भुइँचालो गयो भने ठूलो भूकम्प जानबाट बच्न सकिन्छ भन्ने धारणा छ तर त्यसले ठूलो भूमिका खेल्दैन । ४ , ५ रेक्टरको भूकम्पहरूले ८, ९ रेक्टरको हाराहारीको जानसक्छ भनेर खासै धेरै असर गर्दैन । यस्ता साना साना भूकम्पहरू हजारौं संख्यामा गयो भने मात्रै त्यो शक्तिलाई नास गर्छ ।’

भूकम्पको एक रेक्टर स्केल फरक हुँदा भूकम्पीय शक्तिमा ३२ गुणा फरक हुन्छ । ८ रेक्टर स्केलको भूकम्प जाने शक्ति छ भने ७ रेक्टर स्केलको भूकम्प ३२ वटा गयो भने ८ रेक्टर बराबरको शक्ति सकिन्छ ।

भूकम्प, केन्द्रविन्दुलगायतका विवरण मापन गर्दै केन्द्रका अधिकारी ।

त्यस्तै गरेर ७ रेक्टरको भूकम्पको शक्ति कुनै ठाउँमा छ भने ६ रेक्टरको भूकम्प ३२ वटा जानुपर्छ ।

उनी भन्छन्,‘८ रेक्टरको भूकम्प जाने शक्ति छ भने ६ रेक्टरको भूकम्प १ हजार २४ वटा भूकम्प जानुपर्ने हुन्छ । बल्ल ८ रेक्टर बराबरको भूकम्प जान्छ । ५ रेक्टर स्केलको भूकम्प ३२ हजार वटा भूकम्प गयो भने ८ रेक्टरको भूकम्पको शक्ति जान्छ । अहिले गएका भूकम्पहरूले कति शक्ति लैजान्छ भन्ने कुरा यही अंकबाट बुझन सकिन्छ ।’

पूर्वतयारीको अवस्था कस्तो छ ?

अब नेपालको ध्यान सानाठूला भूकम्पबाट क्षति कसरी कम गर्ने भनेर सोचेर काम सुरू गरिहाल्नुपर्ने भूगर्भविद्हरूको सुझाव छ ।

‘ठूला भूकम्प नगएको समयमा हामीले बनाउने संरचनाहरूबाट मानवीय र पछि बनाएका संरचनाहरूबाट मानवीय क्षति कम भन्दा कम होस भन्ने हो । त्यसका लागि सम्बन्धित सेक्टरले विभिन्न क्षेत्रमा काम गर्नुपर्ने हुन्छ ’, भूकम्पविद् डा. अधिकारी भन्छन् ।

भूकम्पबाट क्षति कम गर्नको लागि पहिलो नम्बरमा जनचेतना हो । राज्यले भूकम्पलाई रोक्न नसकेपनि भूकम्प गइसकेपछि कुन ठाउँमा कस्तो क्षति हुन्छ कति क्षति हुन्छ भनेर पत्ता लगाउनुपर्ने काम राज्यको भएको उनले बताए ।

साथै हामीले बनाउने संरचनाहरू राज्यले बनाउने संरचना नियम बनाएर अनुगमन गरेर भूकम्पबाट कम क्षति हुने तर्फ अबदेखि सुरू गरेर भएपनि बनाउन लाग्यौं भने भविष्यमा जुनसुकै बेला पनि जान सक्ने भूकम्पबाट हुने क्षतिलाई कम गर्न सकिने सुझाव दिन्छ त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभागका सह-प्राध्यापक ढकाल ।

प्राकृतिक प्रकोपहरूलाई रोक्न नसकिए पनि पूर्वतयारीले केही हदसम्म क्षति न्यूनीकरण गर्न सकिन्छ । पूर्वतयारीका लागि केन्द्र सरकार एवम् प्रदेश सरकार तथा स्थानीय तहले समयमै ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

भूकम्प पूर्वचेतावनीमा राज्यको लगानी शून्य

भूकम्पको भविष्यवाणी गर्न नसक्ने भएपनि पूर्वचेतावनी प्रणालीमा लगानी गर्न सकिन्छ । तर, सरकारले भूकम्पको पूर्वचेतावनीमा लगानी नै नगरेको भूकम्पविद् अधिकारी बताउँछन् ।

विश्वमा भूकम्पको अर्लि वार्निङ सिस्टम छ । अहिले भएका सबै सिस्टमहरूको बेसले भूकम्प गइसकेपछि ३० किलोमिटर वरिपरि कुनै सूचना दिन सक्दैन ।

नेपालमा भूकम्पका अर्लि वार्निङ सिस्टम राखियो भने भूकम्पको केन्द्रविन्दु भएको करिब ३० किलोमिटर भन्दा टाढाको बस्तीमा त्यो भूकम्प तरङग खबर गर्न सकिने अधिकारीको भनाइ छ ।

करिब ३० किलोमिटर वरिपरि अर्लि वार्निङ दिन सकिँदैन । नेपालमा दार्चुलादेखि ताप्लेजुङसम्म ४२ वटा भूकम्प मापक यन्त्र राखिएको छ ।

नेपालको भूकम्पीय इतिहास

नेपालमा ठूला भूकम्प गएको इतिहास हेर्ने हो भने सबैभन्दा पहिला विक्रम संवत् १२५५ मा गएको ठूलो भूकम्पलाई मान्ने गरिएको छ । त्यसपछि साना मझौला खालका भूकम्पहरू धेरै गएको इतिहास भेटिन्छ ।

सन् १५०५मा पश्चिम नेपालमा गएको भूकम्पलाई नै सबैभन्दा ठूलो भूकम्प गएको मानिँदै आएको छ ।

पूर्वी नेपालमा १२५५ यता ठूलो भूकम्प जान ५ सय ६ सय वर्ष लागेको थियो ।

पूर्वी नेपालमा १९९०मा संखुवासभा केन्द्रविन्दु बनाएर गएको भूकम्पको रप्तार २०० सेन्टिमिटरसम्म पश्चिम काठमाडौंसम्म पुगेको थियो । जसको कारण धरहरा ढलेको इतिहास छ ।

त्यसको १ सय वर्षको अवधि नहुँदै २०७२ सालमा गोखरा भूकम्पले डेढसय सेन्टिमिटर पश्चिमतर्फ काठमाडौंसम्म ठूलो क्षति पुग्यो । पहिलेको भूकम्पको तथ्यांक केलाउने हो भने ठूलो भूकम्पको औषत समय ८० देखि १०० वर्षको बीचलाई मानेको छ ।

तर, पश्चिम ५ सयवर्षदेखि सुरक्षित नै रहेको छ । पपश्चिममा अझ ठूलो जाने हो भने ६ सात सय वर्ष लाग्छ कि भन्ने अनुमान पनि भूगर्भविद्हरूले गरिरहेका छन् ।
अध्ययनहरूका अनुसार अझै पनि काठमाडौंदेखि तराईसम्मको बीचमा ठूलो शक्ति जम्मा भएर बसेको छ । जसले गर्दा काठमाडौं अझै ठूलो भूकम्पको जोखिममै रहेको छ ।

*शीर्षक अपडेट गरिएको 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *