संसदीय समितिमाा कांग्रेस सांसद थानी आक्रोशित: रामहरि खतिवडालाई भने- तपाईं नै सभापति, तपाईंमात्रै जान्ने (भिडिओ)
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले बिचमै बोलेपछि समितिका सदस्य हृदयराम थानीले आक्रोशित हुँदै बोल्न छोडे । समितिको सोमबारको बैठकमा उजुरीमाथिको छलफलका क्रममा समितिका सदस्य थानीले आफूले पेश गरेको प्रतिवेदन आईसीयूमा पुगेको बताएपछि समितिका सभापति रामहरि खतिवडाले बिचैमा ‘आईसीयुमा गएको छैन, धेरै पटक भनिसक्नुभयो’ भनेका थिए ।
त्यसपछि समितिका सदस्य थानीले आक्रोशित हुँदै नबोल्ने भन्दै बोल्न बन्द गरेका थिए । उनले आक्रोशित हुँदै भने, ‘तपाईं नै माननीय, तपाईं नै सभापति, म बोल्दैन, तपाईं नै बोल्नुस् । जति बोल्नुहुन्छ बोल्नुस्, तपाई नै हो सभापति, म बोल्दैन, तपाईंले सबै जान्नुभएको छ । तपाईंमात्रै जान्ने !’
त्यसपछि सभापति खतिवडाले थानीलाई बोल्न आग्रह गर्दा पनि उनले बोल्न चाहेनन् । उनले नबोल्ने भनेपछि सभापति खतिवडाले थानीसँगै बसेका नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठलाई बोल्न समय दिएका थिए ।
सांसद श्रेष्ठले आफ्नो धारणा राख्नुअघि सभापति खतिवडालाई आक्रोशित भएका थानीलाई बोल्ने मौका दिन आग्रह गरे । उनले भने, ‘नाम नै कस्तो हृदयराम छ । सभापतिले रमाइलोका लागि कुरा राखिरहनुहुन्छ । अलिकति सभापतिले बढी बोलेको हो कि भनेर आक्रोशित हुनुभयो । त्यस्तो नमान्नुहोला । बिचमा कुरा काटिँदा हस्तक्षेप जस्तो हुन्छ र सिलसिला पनि टुट्छ । यसले नकारात्मक उत्तेजना ल्याइदिन्छ । सभापतिले थानीलाई पहिले बोल्न दिनुहोस्, त्यसपछि म बोल्छु ।’
तर थानीने नबोल्ने अडान लिएपछि श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।