अहिले सहकारीमा भएको बचत थप्ने होइन, जोगाउने बेला हो : खतिवडा – Nepal Press

अहिले सहकारीमा भएको बचत थप्ने होइन, जोगाउने बेला हो : खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले अहिले सहकारीमा भएको बचत जोगाउनुपर्ने बेला भएकाले थप्नेबारे बहस गर्न आवश्यक नरहेको बताएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघको सोमबार भएको साधारणसभामा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडाले भने, ‘अहिले सहकारीमा भएको बचत जोगाउने बेला हो, थप्ने होइन । जोगाउने बेलामा यति करोड जम्मा गर्न पाइँदैन भनेर कराउनुको अर्थ रहँदैन ।’

बचत र ऋणको कारोबार सहकारीमा धेरै हुँदा यसको सीमाको कुरा उठेको उनले स्पष्ट पारे । सहकारी संस्थाहरूप्रतिको विश्वास बढाउनुपर्ने र स्वनियमन पहिला बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

‘अहिले नै सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो कि भन्ने अर्थमा नबुझ्नुहोला । पछि गएर पुँजीका सीमाहरू पनि हट्दै जान्छन्, जब व्यवस्था बलियो हुन्छ’, उनले भने, ‘तर अहिले नै अध्यादेश संशोधन गर्ने कुरा नगरौं । जब सहकारी ऐनको संशोधनको कुरा आउँछ, त्यो बेला बचत संकलन प्राथमिक पुँजीको आधारबाट तय गर्ने, ऋणको पनि त्यसै गर्ने र आफ्नो बचतकर्तालाई फिर्ता दिनसक्ने क्षमताको आधारबाट व्यवस्था गर्न सकिन्छ । त्यस विषयमा थप छलफल गरेर अगाडि बढ्न सकिन्छ ।’

सहकारीमा बचत कति राख्नेबारे उनले आफ्नो धारण राख्दै अगाडि भने, ‘सहकारीमा तपाईंले कति पुँजी राख्न सक्नुहुन्छ, त्यसको निश्चित गुणासम्म बचत राख्न पाउने हो । तपाईंको पुँजी एक करोड छ भने दश करोडसम्मको बचत राख्न पाउनुपर्छ । बैंकमा पनि हामीले त्यस्तै प्रथा चलाएर बैंकलाई बलियो बनाएका हौं ।’

खतिवडाले कृषि सहकारीका कृषि उद्यमहरूलाई उद्योगमा परिवर्तन गर्न उद्योग मन्त्रालयले कसरी सहजीकरण गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी दिए ।

कृषि उत्पादनले बजार नपाउने समस्या अन्त्य गर्न प्रधानमन्त्री कार्यालयले काम गरिरहेको खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर