धार्मिक पर्यटनको अनुकरणीय केन्द्र बन्दै शाश्वत धाम – Nepal Press

धार्मिक पर्यटनको अनुकरणीय केन्द्र बन्दै शाश्वत धाम

काठमाडौं । नवलपरासीको देवचुली नगरपालिका–२ स्थित दुम्कौलीमा रहेको शाश्वत धाम पछिल्लो समय धार्मिक पर्यटनको प्रमुख केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । चौधरी फाउन्डेसनले नवलपरासीमा ७ बिगाहामा निर्माण गरेको यो धाम सनातन धर्मको प्रवर्द्धन र धार्मिक पर्यटनको विकासका लागि २०७३ मा स्थापना गरिएको थियो ।

धामको प्रमुख आकर्षण एकम्वरेश्वर शिव मन्दिर हो, जुन खजुराहो शैलीमा निर्माण गरिएको छ । मन्दिरलाई सर्वतीर्थ सरोबर तालले घेरिएको छ, जहाँ बद्रीनाथ, केदारनाथ, पशुपति, मुक्तिनाथ र हरिद्वारको जल मिसाइएको छ ।

यो तालसँगै १२ राशि र २७ नक्षत्रलाई प्रतीक गर्ने वृक्षारोपणले धामको महत्वलाई थप उचाइ दिएको छ ।

शाश्वत धामको विशेषतामध्ये धार्मिक सङ्ग्रहालय, डिजिटल पुस्तकालय, गुरुकुल आश्रम, गौशाला, धर्मशाला, यज्ञ कुण्ड, शुद्ध साकाहारी भोजनालय र सुन्दर पार्क रहेका छन् । धामभित्र रहेको गुरुकुल विद्याश्रममा हाल ४३ विद्यार्थीले कक्षा ८ सम्मको धार्मिक शिक्षा प्राप्त गरिरहेका छन् ।

२०७३ साल फागुन २४ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको शाश्वत धाममा दिनहुँ नेपाल, भारत तथा अन्य देशका हजारौं पर्यटक आउने गरेका छन् । पर्यटक र भक्तजनले मन्दिरसँगै यहाँको प्राकृतिक सुन्दरता, धार्मिक कर्मकाण्ड र आकर्षक वास्तुकलाको आनन्द लिइरहेका छन् ।

शाश्वत धामले नेपाली कला, संस्कृति र सनातन धर्मको प्रवद्र्धन गर्दै देशको पर्यटन उद्योगमा योगदान पुर्याइरहेको छ । विशेषतः देवघाट र लुम्बिनी क्षेत्रको सामीप्यका कारण पनि यो धामले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ ।

धार्मिक सौन्दर्य र आधुनिक प्रविधिको अनुपम संयोजनका रूपमा शाश्वत धामले धार्मिक पर्यटन प्रवर्द्धनको उदाहरणीय भूमिका निर्वाह गर्दै आएको छ । हरेक साँझ यहाँ हुने गङ्गा आरती यस धामको अर्को विशेष आकर्षण हो, जसले पर्यटकलाई आध्यात्मिक ऊर्जा प्रदान गर्दै आएको छ ।

सनातन धर्मको प्रचार–प्रसार र नेपाली संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको शाश्वत धामले धार्मिक पर्यटकलाई नेपालतर्फ आकर्षित गर्ने प्रमुख गन्तव्यको रूपमा आफूलाई स्थापित गरिसकेको छ ।

शाश्वत धामले ५० लाख आगन्तुकको ऐतिहासिक उपलब्धि हासिल गर्न लागेको छ । यो उपलब्धिले धार्मिक पर्यटनको क्षेत्रमा धामको स्थानलाई अझ विशेष बनाएको छ । चौधरी फाउन्डेसनले यो धाममार्फत नेपाली कला, धर्म र परम्परालाई विश्वभर चिनाउँदै नेपालको पर्यटन उद्योगलाई थप बलियो बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *