माग पूरा गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंले धर्ना तोडे (भिडिओ)
काठमाडौं । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले धर्ना तोडेका छन् ।
नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहेका चापागाईंले सोमबार शिक्षामन्त्री विद्या भट्टराईले भेटेकी थिइन् । शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई माइतीघर मण्डला गएकी थिइन् ।
चापागाईंलाई भेटेपछि मन्त्री भट्टराईले सबै मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
उनले भनिन् ,‘तपाईंले गरेका धेरै मागहरू सम्बोधन गर्न सकिने छन् । सरकारले पूरा गर्ने छ । मैले यो सब बोल्नको लागि मात्र बोलेको होइन । केही कुरा कार्यदल बनाएर सुरु भइसकेका छन् । कार्यदलले दिएको सिफारिसका आधारमा आउने बजेटमा नीति कार्यक्रमहरूलाई लगेर जान्छु । मैले गरेका कुराहरु भए की भएन भनेर भोली जवाफदेहिता खोज्ने अधिकार मसँग रहन्छ । मन्त्री हुँदा कार्यान्वयन गर्छु, भएन भने पनि संसदमा रहन्छु र सरकारलाई काम गर्नको लागि अगाडि बढाउँछु ।’
बजेट बनाइसकेपछि आफू मन्त्रालयमा आएकाले आफ्नो भिजन बजेटमा राख्न नसकेकाले आगामी बजेटमा स्पष्ट भिजनसहितको बजेटको व्यवस्था गरिने उनले प्रतिवद्धता जनाइन् । यो वर्ष कार्यान्वयनमा नरहेका कार्यक्रमको बजेट प्रकोपबाट प्रभावित विद्यालयमा केन्द्रित गरेको भट्टराईको भनाइ थियो ।
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरू गरेका चापागाईं सातै प्रदेशमा दुई-दुई घण्टा उभिएर काठमाडौं आएका थिए । काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी वैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।
विद्यार्थीको छात्रवृत्ति पाँच हजार बनाउनुपर्ने, विद्यालयमा सय युनिट बिजुली र पानी निशुल्क गर्नुपर्ने उनको माग थियो । यसैगरी उनले विद्यार्थी, शिक्षक र कर्मचारीसँग सम्बन्धित सार्वजनिक शिक्षा सुधारका १५ सुत्रीय माग राखेका थिए ।