रविकाे तर्फबाट पूर्व महान्यायाधिवक्ता श्रेष्ठसहित ३ अधिवक्ताले गरे बहस – Nepal Press

रविकाे तर्फबाट पूर्व महान्यायाधिवक्ता श्रेष्ठसहित ३ अधिवक्ताले गरे बहस

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट ३ कानून व्यवसायीले बहस गरेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठसहित ३ जनाले बहस गरेका हुन् । श्रेष्ठसहित वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए । रविको तर्फबाट बहस गर्न १७ अधिवक्ताले नाम टिपाएका छन् । भोलि पुनः निरन्तर हुने खनालले बताए ।

रवितर्फबाट बहस गरेका अधिवक्ताले सहकारीसँग रविको कुनै सम्बन्ध नरहेको दाबी गरेका थिए । उनीहरुले सहकारीमा रवि सदस्य पनि नरहेको र उनलाई यसमा जोड्न नहुने तर्क थियो ।

यसअघि पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईका तर्फबाट अधिवक्ताले बहस गरेका थिए । रविका तर्फका अधिवक्ताको बहसपछि आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङका अधिवक्ताकाे बहस हुनेछ । त्यसपछि सरकारी वकिल कार्यालयले जवाफी बहस गर्नेछ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर