बढ्यो सार्वजनिक यातायातको भाडा
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । आजबाट नै लागू हुने गरेर भाडादर समायोजन गरेको हो । अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको हो ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको हो ।
विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुने गरको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तर निर्णयबाट भाडादर वृद्धि भएको हो ।
सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यातायात व्यवस्था विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरूसँग गरिएको परामर्शको आधारमा भाडा वृद्धि भएको हो ।
यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफा लगायतका मूख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा समायोजन भएको विभागले बताएको छ ।