नक्कली शरणार्थी प्रकरणः प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकामा थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा आज निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुर्इँकेलका अनुसार सोही निवेदनमाथिको सुनुवाइपछि थप कागजात मगाउने आदेश गरिएको छ ।
यसअघि गत असार १४ गते थापालाई सो प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले निजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो निर्णयविरुद्ध थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
उच्च अदालतले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि निजले धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
-रासस