एमाले केन्द्रीय बैठक- सबै सदस्यका बोली, सुन्ने मुडमा यसरी पुगे ओली – Nepal Press

एमाले केन्द्रीय बैठक- सबै सदस्यका बोली, सुन्ने मुडमा यसरी पुगे ओली

नेतृत्वमा पुगेको ११ वर्षपछि जुट्यो अवसर

रुपन्देही । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आइतबार २७ र सोमबार ९८ जनाले आफ्नो धारणा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखे । मंगलबार २३ जना बाँकी रहेका केन्द्रीय सदस्य र विभिन्न आयोगका अध्यक्षहरुले यसैगरी धारणा राखेपछि अध्यक्ष ओलीले यसको जवाफसहित आफ्नो धारणा राख्नेछन् ।

नेकपा एमालेभित्र मात्रै होइन आमपब्लिकमा एमालेभित्र नेताहरुले नै आफ्ना धारणा औपचारिक रुपमा राख्न नपाएको भन्दै आलोचना भइहरहेको विषय हो । यसअघि भएका बैठकमा समूहगत रुपमा छलफल हुने र त्यसभित्रका निचोड मात्रै छलफलका विषय बनिरहेका थिए तर अहिलेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलाीले कार्यकर्ता, नेता र सामाजिक सन्जालबाट आएका यस्ता सुझावलाई लिएर नै प्रत्यक्ष रुपमा नेताहरुलाई धारणा राख्न समय दिएको र पूरै समय दिएर ती भनाइहरु सुनेको बैठकमा सहभागी नेताहरुले जनाएका छन् ।

त्यसो त बैठकमा लिखित र मौखिक सुझाव राख्न नेताहरुलाई भनिएको थियो तर अधिकांश नेताहरुले मौखिक नै आफ्ना धारणा राख्दै अहिलेको अवस्था र पार्टीले अघि सार्नुपर्ने रणनीतिका विषयमा विचार राखेका हुन् ।

०७१ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौं र ०७८ सालमा सम्पन्न दशौं तथा बीचको नेकपाकालमा गरी अध्यक्ष केपी शर्मा ओलीले ११ वर्ष पार्टीको नेतृत्व गरेका छन् तर यसरी बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई बोल्न दिइएको पहिलो पटक भएको नेताहरुको भनाइ छ ।

यसरी ११ वर्षपछि केन्द्रीय कमिटी बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई व्यक्तिगत रूपमा धारणा राख्ने अवसर पाएपछि आफ्ना धारणा खुलेर राखेका छन् । यसअघि, समूहगत छलफलमार्फत मात्र सदस्यहरूको विचार सुन्ने प्रचलन थियो ।

बैठकमा सहभागी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले सबै सदस्यहरुले यसरी खुलस्त रुपमा आफ्नो धारणा राख्न पाउँदा वास्तविक विषयहरु आएको बताए ।

‘पहिले ग्रुपमा छलफल हुने गर्दथ्यो, यो पटक सबै केन्द्रीय सदस्यहरुले खुलस्त धारणा राख्न पाइयो, पार्टीभित्र खुलस्त यसरी धारणा राख्न पाउनुपर्दछ तर बाहिर पार्टीको विधि मान्नुपर्दछ, सबै सदस्यहरुका धारणा अध्यक्षले समय दिएरै सुन्नुभयो, आइतबार २७ र सोमबार ९८ सय जनाले बोल्दा सबै समय सुन्नुभएको छ’, उनले भने, ‘पार्टीविरुद्ध अनावश्यक घेराबन्दी छ, यस्तो समय वडा र टोलसम्म पुगेका नेताहरुको वास्तविक विषय बुझ्न पनि यस्तो निर्णयमा अध्यक्ष पुग्नुभएको होला, अब यसले निरन्तरता पाउनेछ ।’

भट्टराईले आफूले बैठकमा पार्टी अध्यक्षले पेश गरेको प्रतिवेदन सकारात्मक भएको, समस्या समाधान गर्ने किसिमले बनेका योजनामा साथ दिने बताउँदै पार्टीभित्र रहेका अन्तरविरोधलाई समयमै सम्बोधन गर्नुपर्ने विषय उठाएको बताए ।

यसअघि समूहगत छलफल गर्ने विषय परिवर्तनको पछाडि अध्यक्ष ओलीको उद्देश्य पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्दै सदस्यहरूको सक्रिय सहभागिता बढाउनु रहेको नेताहरुको विश्लेषण छ ।

प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय दिइएको छ, जसले गर्दा उनीहरूले आफ्ना विचार र सुझावहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्न सकून् भन्ने उद्देश्य राखिएको छ ।

यस कदमले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई प्रवद्र्धन गर्दै निर्णय प्रक्रियामा सबै सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने प्रयास गरेको संकेत गरेको अर्का नेता गिरिधारीलाल न्यौपाने बताउँछन् ।

‘यसले पार्टीभित्रको संवादलाई थप प्रभावकारी बनाउने र सदस्यहरूको मनोबल वृद्धि गर्ने अपेक्षा गर्न सकिन्छ, यसअघिका बैठकमा प्रदेशगत रुपमा केहीले छिटफुट बोल्न पाउने अवस्था थियो, म पनि एकपटक बोलेको हुँ तर अहिले सबैलाई समय दिएर मन लागेका सबैलाई बोल्न दिइएको र लिखित सुझव राख्नेलाई पनि छुट दिइएको थियो’, उनले भने ।

न्यौपानेले समयलाई मध्यनजर गर्दै लिखित धारणा राखेको बताए । ‘हामी जिल्ला, पालिका, वडा र टोलसम्मका जनताको घरमा पुगेकाले त्यहाँको वास्तविक समस्या पार्टीको मुख्य नेतृत्वसमक्ष राख्नु उचित थियो, जनताको अनुभूति के छ ? पार्टी र सरकारलाई सुझाव के छन् ? अब पार्टीको रणनीति कस्तो बनाउने ? यही नै अध्यक्षले सबैसँग राय लिनुभएको हो’, उनले भने ।

उनका अनुसार ओलीले कसैका कुरा सुन्दैनन्, नेताहरुलाई बोल्न नै दिदैनन् भन्ने अनावश्यक प्रचार गरेकालाई जवाफ दिनेगरी समय मिलाइएको हो ।

‘उहाँविरुद्ध जे भ्रम फैलाइएको थियो त्यो चिर्न यस्तो निर्णय लिनुभएको होला, सबैका कुरा सुनेपछि आउने उहाँको धारणाले अधिकांश विषय सम्बोधन हुने अपेक्षामा छौं’, उनले भने ।

एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले सबै सदस्यहरुका विषयमा प्रत्यक्ष धारणा सुनेर पार्टीको रणनीति बनाउनका लागि यसखालको रणनीति बनेको बताए । ‘माधव नेपाल, झलनाथ खनाल नेतृत्वमा हुँदा पनि धेरैजसो समूहगत नै छलफल हुनेगर्दथ्यो तर ०७१ सालमा नवौं अधिवेशनपछि यसरी खुलारुपमा सबै सदस्यहरुले आफ्ना धारणा राखेको पहिलो पटक हो’, उनले भने, ‘सिधासिधी नेताहरुका कुरा अध्यक्ष र पदाधिकारी बसेर सुनेपछि वास्तविक फिल्डको कुरा आउने अर्थमा यसो गरिएको हो, पहिले समूहगत छलफल गरेर टोली नेताले प्रस्तुत गर्दा सबै विषय नसमेटिएको पनि हुनसक्थ्यो, अहिले यो प्रकृयाले सबैले अवसर पाउनुभयो ।’

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनवादी तरिकाले बैठकमा नेताहरुलाई लागेको कुरा बोल्न कुनै बन्देज नलगाइएको बताएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने पार्टीले यसअघि पनि उच्चतम लोकतान्त्रिक विधिबाटै बैठकमा छलफल गराइरहेको बताए । ‘एजेण्डाका आधारमा कुन विधिबाट जाने भन्ने हुन्छ, अहिले प्रतिवेदन अध्यक्षज्यूको आएकाले सबैले बोल्ने विधि तय गरिएको हो, भोलि समूहगत छलफलमा पनि जान सकिन्छ, तर सबैको अपनत्व हुनेगरी, धारणा समेटिने गरिी लोकतान्त्रिक विधि तय हुन्छ, एमालेले कसैलाई देखाउन अर्को विधि प्रयोग गर्नुपर्ने अवस्थामा छैन, यसका सबै नेताहरुले पार्टीको फोरममा धारणा राख्न पाउछन् ’ उनले भने ।

गुटबन्दीको समीक्षा

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीभित्र तल्लो तहसम्म गुट फैलिएको विषयमा समीक्षा भएको छ । जारी केन्द्रीय कमिटीको बैठकमा बोल्ने नेताहरुले गुटबन्दी अन्त्य गर्नुपर्ने विषयमा जोड दिएका हुन् ।

उनले भने, ‘पार्टीभित्र आफ्नो स्वार्थ पूरा गर्न विभिन्न समूह बनाएर आगामी अधिवेशनमा वडा, पालिका, प्रदेश, संघमा उठ्ने तयारी गर्न ससाना समूह बनाइएको आभाष भएको छ, तर विचारधारात्मक र संगठनात्मक रुपमा पार्टीमा कुनै गुट छैन । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लानुपर्छ । त्यसका निम्ति पार्टीको वैचारिक दिशाबाट अगाडि बढाउनुपर्छ । नेता गौतमले पार्टी स्कुलिङलाई लगातार सञ्चालन गर्नुपर्छ भन्ने विषयमा नेताहरुले जोड दिएको बताए ।

उनले थपे, ‘पार्टीलाई सवल बनाउँदै जनतासँगको सम्बन्ध सुदृढ बनाउन वडा केन्द्रित सांगठनिक प्रस्ताव छ, त्यसलाई कार्यान्वयन गर्ने कुरामा हामीले भूमिका खेलेका छौं । कार्यान्वयन गर्ने कुरामा नीतिगत रुपमा जिल्ला र प्रदेश इन्चार्जलाई निर्देशित गर्ने, जिम्मेवारी गाउँमा लिने शहरमा बस्ने त्यसको अनुगमन गर्नुपर्छ । त्यसरी पार्टी चल्दैन ।’ नेताहरुको कारबाहीबारे सचिवालयभन्दा केन्द्रीय कमिटीमा एकमत भएको उनले दाबी गरे ।

उनले भीम रावलसहित तीन नेताको कारबाहीबारे भने, ‘कसैले फरक मत राख्नुभएको छैन । कारबाहीको पुनर्विचार गर्न उहाँहरुको गतिविधिमा भर पर्छ । उहाँ कोकोसँग मिलेर केके गर्दै हुनुहुन्छ, पार्टीमा जानकारी भइरहन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर