नेपालको पूँजी बजारमा प्रयाप्त विदेशी मुद्रा भित्र्याउने सरकारको तयारी छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पूँजी बजारमा प्रर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारले तयारी गरिरहेको बताएका छन् ।
नेपाल निर्यात परिषदको २७औँ वार्षिक साधारणसभाको सम्बोधन गर्दै उनले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु बनाइरहेको जानकारी दिए । लगानीको मुनाफा सुनिश्चीत गर्न नीतिगत सुधारमा सरकार लागिपरेको छ । मन्त्री भण्डारीले नेपालको उत्पादन अन्यत्र निर्यातका निजिक्षेत्रले उत्पादनमा जोड दिनुपर्ने आवश्यक रहेको बताए ।
यस्तो छ उनको भनाइः
नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको छ । त्यसले नेपालको उत्पादनमा असर परिरहेको अवस्थामा उक्त श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाई रोजगारी बढाउनु पर्दछ । उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु आजको आवश्यकता हो ।
विभिन्न उत्पादित वस्तुको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भरका लागि र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने आवश्यकता टड्कारो भईसकेको छ । त्यसका लागि सरकार र निजी क्षेत्रले नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्नुपर्दछ ।
विगत २७ वर्षदेखि नेपाल निर्यात परिषदले समग्र राष्ट्रको निर्यात व्यापार तथा व्यवसायमा आईपर्ने विभिन्न समस्याहरु सरकार तथा सम्बन्धित निकायहरुसंग सहकार्य गर्दै व्यवस्थित रुपमा समाधान समेत गरी सम्पूर्ण निर्यात योग्य बस्तुहरुको निर्यात व्वसायमा संलग्न उद्यमी, व्यवसायीहरुको व्यवसायिक क्षमता अभिबृद्धि गरी, गराई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निर्यात व्यापारको विकास, विस्तार, संरक्षण, प्रवर्धन गर्दै आएको कुरा सर्वविदितनै छ । फेरि पनि देशमा निर्यातित बस्तुहरु आयातितको दाँजोमा निकै गौण हुनु हाम्रो दुर्भाग्य बनिरहेको छ ।
हाम्रा उत्पादन विश्व बजारमा उच्च मागमा छ । हाम्रा कला, सिल्प हामी माझमै छ । फेरि पनि निर्यात बढ्न नसक्नु हाम्रो कमजोरी हो । यसर्थ स्वदेशमानै स्वदेशी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन तथा प्रशस्त रोजगारीको श्रृजना गर्न, र साथै निर्यातजन्य उत्पादनबाट बैदेशिक मुद्रा आर्जन गरि त्यसको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याउदै आएको एक मात्र यस परिषदले हरसमय चनाखो रह निर्यात प्रवर्धनको विभिन्न सम्भाव्यताको खोजी गर्नु पर्दछ ।