उपचार नपाएरै सुत्केरीको मृत्यु, जोगिएन बाटोमै जन्मिएको शिशु पनि – Nepal Press

उपचार नपाएरै सुत्केरीको मृत्यु, जोगिएन बाटोमै जन्मिएको शिशु पनि

कैलाली । बझाङमा एक सुत्केरी महिलाको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खिना बोहराको बीच बाटोमै बच्चा जन्माउँदा मृत्यु भएको हो ।

बच्चा जन्माउँदा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको केदास्युँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले जानकारी दिए ।

‘व्यथाले च्यापेर निकै समस्या भएपछि अस्पतालको लागि लगिएको रहेछ ’ उनले भने ‘अस्पतालसम्म पुग्न नपाउँदै बच्च जन्मियो । उपचार नपाएर आमा र शिशु दुवैको मृत्यु भयो ।’

उनका श्रीमान् उमेश बोहरा भारत छन् । घरमा सासू ससुरासँग रहेकी खिनालाई हिजो साँझबाटै व्यथा सुरु भएको थियो । बिहान करिब ३ बजे समस्या बढ्दै गएपछि सासू ससुराले उनलाई नजिकैको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको लागि हिँडाएका थिए । निकै समस्या हुँदा पनि उनलाई हिँडाएरै अस्पताल पुराउने प्रयास गरिएको थियो ।

त्यसको करिब डेढ घण्टापछि उनले बाटामा नै बच्चा जन्माएकी थिइन् । बाटो मै शिशुको जन्म भएपछि उनका अभिभावकहरूले जनप्रतिनिधि पदम प्रसाद भट्टलाई सम्पर्क गरेका थिए ।

वडा सदस्य भट्टले रायल प्राथमिक स्वास्थ्य चौकीका अहेब कमल कुमार मल्ललाई घटनाबारे जानकारी गराएपछि त्यहाँ एम्बुलेन्स ,उपचार सामाग्रीसहित टोली पुगेको थियो । तर, त्यो बेलासम्म आमा र शिशुको अवस्था निकै गम्भीर भइसकेको अहेब मल्लले जानकारी दिए ।

‘हामी पुग्दासम्म उहाँको अवस्था गम्भीर भइसकेको थियो तर पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेका थियौँ ’ उनले भने ‘ निकै प्रयास गर्दा पनि आमा छोरा दुबैलाई बचाउन सकेनौँ ।’

समयमा अस्पतालसम्म पुराउन नसक्दा आमा र शिशु दुवैको मृत्यु भएको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रत्येक वर्ष उपचार नपाएर यसरी सुत्केरी तथा गर्भवतीको मृत्यु हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *