प्यूठान कांग्रेसमा दरार- रोज राणा र गोविन्दबीच पानी बाराबार
रुपन्देही । नेपाली कांग्रेस प्यूठानमा दुई गुटको विवाद सतहमा आएको छ । जिल्लामा पहिले इतर समूहको प्रभाव देखिए पनि अहिले संस्थापन समूहको प्रभाव बढेको नेताहरूको दाबी छ ।
लुम्बिनीका भौतिक पूर्वाधार विकासमन्त्री रोज राणा (सरोज थापा) ले संस्थापन समूहको नेतृत्व गरेका छन् । शेखर-गगन समूहबाट पहिलेदेखि नै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले नेतृत्व गर्दै आएका थिए ।
थापा र पोखरेलबीच ०७९ सालको निर्वाचनअघि टिकटमा रस्साकस्सी चलेको थियो । प्रदेशसभामा सहजै टिकट पाएका थापा दुई दुई पटक मन्त्री बन्दै पार्टीको तर्फबाट नेतृत्व गरेर गएका छन् । पोखरेलले भने तत्कालीन गठबन्धनमा रहेको राजमो उपाध्यक्ष दुर्गा पौडेललाई क्षेत्र छाडिदिनुपर्ने भएकाले टिकट पाएनन् ।
चुनावपछि पोखरेल समूहका नेता पनि थापाको पक्षमा खुल्न थालेको बताइन्छ । एक नेताका अनुसार डा. पोखरेललाई साथ दिने अमर भण्डारी र शिव रिजाल पार्टी सभापति विष्णुकुमार गिरी, प्रदेश सांसद निमा गिरी पहिलेदेखि नै इतर समूहबाट अगाडि बढेका नेता हुन् ।
थापा प्रमुख अतिथि भएको कार्यक्रम शेखर-गगन पक्षबाट वहिष्कार
प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री रहेका नेता सरोज थापा (रोज राणा) सहभागी भएको कार्यक्रम शेखर-गगन पक्षले वहिष्कार गरेपछि नेताहरूबीचको विवादले नयाँ मोड लियो । थापाले उद्धाटन गरेको पार्टीको प्युठान नगरपालिका र मल्लरानी गाउँपालिका सम्मेलनमा इतर पक्षधरका पार्टी सभापति विष्णु कुमार गिरी, पूर्वसभापति अमरप्रसाद भण्डारीलगायत गएनन् ।
पार्टीको विधि मिचेर राणालाई प्रमुख अतिथि बनाइएकोले कार्यक्रम वहिष्कार गरेको उनीहरूको जिकिर छ ।
तर, कार्यव्यस्तताले नगएको आफू सम्मेलनमा सहभागी हुन नसकेको सभापति गिरीको भनाइ छ ।
‘व्यस्त भएर केही साथीहरू जान नभ्याएको हुनसक्छ, किन वहिष्कार गर्नुपर्यो र, म आफू पनि समय नमिलेर जान नसकेको हो, पार्टीमा केही विवाद भएजस्तो मलाई लाग्दैन, कुन समूहमा कुन नेता रहे भन्ने कुराले त्यति ठूलो अर्थ राख्दैन’, उनले नेपाल प्रेससँग भने ।
प्रमुख अतिथि थापाले पूर्वसभापति सुवास केसीलाई २०७९ को चुनावमा आफूविरुद्ध बागी उठाउन प्रयास गरेपनि डा. गोविन्दराज पोखरेल असफल भएको आरोप सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
उता, प्यूठानको मच्छिमा हुने भनिएको झिमरुक गाउँपालिका सम्मेलन मन्त्री थापाले उद्घाटन गर्ने तय भएपछि स्थगित गरिएको छ । मन्त्री थापाले पार्टी र जनताको हितमा गरेको काम गुटबन्दी गर्दै हिँड्ने नेतालाई मन नपरेको र थापालाई असफल बनाउने प्रयास भइरहेको नेपाली कांग्रेस प्यूठानका कोषाध्यक्ष दीपक केसीको दाबी छ ।
मन्त्री थापाको लोकप्रियता बढेको बताउँदै केसीले इतर समूह रक्षात्मक अवस्थामा पुगेको पत्रकारमाझ बताएका छन् । पार्टीको कार्यक्रम वहिष्कारबारे सोध्दा मन्त्री थापाले आफ्नो पक्षमा जनमत देखेपछि केही व्यक्ति भागेको बताए ।
नेपाली कांग्रेसको १४ औँ अधिवेशनपछि डा. पोखरेल र राणा एउटै मञ्चमा उपस्थितसम्म छैनन् । उनीहरूको बोलचालसमेत नरहेको बताइएको छ । नेता थापाले चुनावमा आफूलाई हराउन पोखरेल लागि परेको आरोपपछि उनीहरूबीचको तिक्तता अझ पेचिलो बनेको छ ।
जिल्लामा नेताहरूले आफ्नो पुरानो गुट बदल्न थालेका छन् । यसअघि संस्थापनबाटै दुई पटक उम्मेदवार बनेका नेता शिव रिजाल अहिले इतर समूहमा लागेका छन् भने इतर समूहमा लामो समय रहेका सभापति सुवास केसी र अहिलेका उपसभापति एवं प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्मा संस्थापन समूहमा छन् । नेता केसीले त्यो विषय स्वीकार गर्दै बदलिएको अवस्था अनुसार संस्थापन समूहमा आवद्ध रहेको जनाए ।