संघीयताको विषयमा कांग्रेस-एमालेमा बहस गर्नुपर्छः गगन थापा (भिडिओ) – Nepal Press

संघीयताको विषयमा कांग्रेस-एमालेमा बहस गर्नुपर्छः गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि राजनीतिक दल संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन् ।

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरु नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौं, कोही पनि संघीयताप्रति उदार छैनौं । एकदमै अनुदार छौं । यसमा रुचि छैन । मैले नयाँ दलहरु पनि हेरें, क्षेत्रीय दलहरु पनि हेरें । जसले बाहिर जे जे भने पनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन् ।’

उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठूलो महत्व रहेको बताए । महामन्त्री थापाले संघीयताको विषयमा कांग्रेस-एमालेमा बहस गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘संघीयताको विषयमा बहस, छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौं । दुवै आन्दोलनको महत्व ठूलो छ, तर अलि फरक रुपमा पनि हेर्नुपर्छ । केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नुपर्छ । शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ । सबै राजनीतिक पार्टीको घोषणापत्रमा संघीयताप्रति कमिटमेन्ट छ । यो संस्थागत कमिटमेन्ट हो ।’

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संविधान कार्यान्वयनको विषय धेरै चुनौती र पेचिलो रहेको बताए ।

उनले भने, ‘संविधान रचनाकालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो, अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ । यसको मर्मअनुसार कार्यान्वयन त्यतिकै उन्नतस्तर र हार्दिकताको जिम्मेवारीबोधका साथ, समझदारीका साथ जान सक्नुपर्दथ्यो । त्यहाँनेर ल्याकिङ भयो । कार्यान्वयनमा चुनौती र पेचिलो छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर