वाइडबडी प्रकरणका‍े छानबिन संसदीय समितिमार्फत गर्न माग (भिडिओ) – Nepal Press

वाइडबडी प्रकरणका‍े छानबिन संसदीय समितिमार्फत गर्न माग (भिडिओ)

काठमाडौं । सांसदहरुले वाइडबडी जहाज प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरुले समितिले विशेष पहल लिएर वाइडबडी जहाज प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन गरेका हुन् ।

बैठकमा रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा यसबारे संसदीय समितिबाट छानबिन गर्नुपर्ने बताए ।

विशेष अदालतले अख्तियारले गरेको छानबिनमा प्रश्न समेत उठाएकाले समितिले नै संसदीय छानविन समिति बनाउन पहल गर्नुपर्ने उनले बताए । उनले बायुसेवा निगमले व्यवसायीक हिसावले काम गर्न नसकेको जिकिर गरे ।

त्यस्तै, सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका विषयहरुमा छानबिन हुनुपर्ने बताए ।

त्यस्तै, सांसद देवि प्रकाश भट्टचनले वायुसेवा निगमलाई जोगाउन समयमा नै आवश्यक कदम चाल्नुपर्ने बताए ।

बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजका सामानहरु समयमा नै नपाउँदा मर्मत कार्यमा ढिलाइ हुने गरेको भन्दै नियतबस हुने ढिलाईको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको बताए ।

साढे १० प्रतिशत व्याजमा जहाज किनेर नाफा कमाउने बिषय उचित नभएको उनले बताए । अधिकारीले निगमको ऋण चुक्ता गर्नका लागि किस्ता बढाउन र उचित सहुलियत माग गरेपनि सम्बोधन हुन नसकेको उल्लेख गरे ।

बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखेका थिए ।

मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधिसहित निर्देशन दिएको समेत जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर