साना होटलभित्र हत्या र आत्महत्याका घटना बढ्दो, व्यवसायीलाई टाउको दुखाइ
काठमाडौं । गत १७ पुसमा काठमाडौंको पिंगलास्थानस्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा एक युवती मृत भेटिइन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोटकी सुस्मिता खड्का अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन उक्त होटलमा देवबहादुर थापासँग पुगेकी थिइन् ।
भोलिपल्ट थापाले केही बेरमा आउँछु भन्दै कोठामा चाबी लगाएर सम्पर्कविहीन भएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ताला फुटाएर हेर्दा युवतीको शव भेटिएको थियो । प्रहरीका अनुसार सोही दिन उनको मृत्यु भएको भनिए पनि हत्या हो वा आत्महत्या हो ? अझै खुलिसकेको छैन ।
०००
गत मंसिर ९ मा काठमाडौंको सिनामंगलस्थित ‘होटल जन्मभूमि’ को कोठा बाहिर बरण्डामा श्रीमान-श्रीमती एउटै पासोमा झुन्डिएको अवस्थामा मृत भेटिए । क्यानाडाबाट विमानस्थल ओर्लेर सिधै उक्त होटलमा पुगेका सुनसरी निवासी ३४ वर्षीय रमेश माझी र श्रीमती २९ वर्षीया शर्मिलाकुमारी माझीले होटलको बरन्डामा झुण्डिएर आत्महत्या गरेका थिए । उनीहरूले होटलमा गएर आत्महत्या गर्नुको कारण खुल्न सकेन । उनीहरूले आत्महत्या गर्न किन होटल नै रोजे भन्ने प्रश्न अनुत्तरित छ ।
०००
गत भदौमा गोर्कणश्वर नगरपालिका-४ माकलबारीका ४५ वर्षीय तेन्जिङ लामा बेलुकीपख घरबाट निस्केका थिए । अबेरसम्म नआएपछि ७ दिने सुत्केरी श्रीमतीले पटक-पटक फोन गरिन्, तर फोन लागेन ।
भोलिपल्ट बिहान प्रहरीले फोन गरेर तेन्जिङले गोंगबुको एक लजमा आत्महत्या गरेको खबर सुनाए । अघिल्लो दिनसम्म छोराको न्वारनको तयारी गरिरहेका श्रीमानले कसरी गोंगबु पुगेर आत्महत्या गरे ? उनले अझै उत्तर पाएकी छैनन् ।
०००
२०८० चैतको पहिलो साता विराटनगरको नोबेल टिचिङ अस्पतालमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी होटलमा मृत फेला परे । प्रेमिकाको कोठामा गएर हत्या गरी फरार रहेका २२ वर्षीय शिवशंकर दास तीन दिनपछि होटल फाइनमा झुण्डिएको अवस्थामा मृत भेटिए ।
०००
२०८० माघ २७ गते साँझ काठमाडौंको गौशालास्थित सिरहा धनुषा होटल एण्ड लजमा प्रमिला दमाई मृत फेला परिन् । उनी बसेको लजको कोठा दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा शव भेटिएको थियो । त्यसपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरे । उनीसँगै रहेका प्रेमी हत्या गरेर होटलको कोठामा साँचो लगाई फरार भएका थिए । विवाहित प्रमिलाका प्रेमीले होटलमा गलत विवरण राखेर कोठा बुक गरेको पाइयाे ।
सस्ता होटलमा आपराधिक घटना !
नेपाल प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म देशभरमा १२८ जनाको हत्या भएको छ भने २ हजार ७११ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा देशभर ७३८ जनाको हत्या हुँदा ७ हजार २१९ जनाले आत्महत्या गरेका थिए ।
यीमध्ये कति घटना होटल-लजभित्र भएका हुन् भन्ने छुट्टै तथ्यांक भने प्रहरीसँग छैन, तर पछिल्लो समयमा होटल-लजभित्र हत्या र आत्महत्याका घटना बढिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीको अपराध शाखा हेरिरहेका प्रहरी निरीक्षक शंकर कटुवालले होटल तथा लजमा भएको आपराधिक गतिविधिलाई छुट्टै तथ्यांकमा नराखे पनि यस्ता घटना उल्लेख्य बढिरहेको बताए ।
सस्ता लजहरूमा आपराधिक घटना धेरै भइरहेको अनुसन्धान अधिकृतहरूको भनाइ छ । तारे होटलहरूले पाहुनाको सबै विवरण अनिवार्य राख्ने र सुरक्षामा कडाइ हुने भएकाले त्यहाँ अपराधको सम्भावना न्यून हुने गर्छ । सस्तो होटल तथा लजहरूले सेटिङमा ग्राहकको पूर्ण विवरण नखोजी जसलाई पनि कोठा दिने गरेका छन् ।
किन रोज्छन् होटल-लज ?
होटलमा सँगै बसेका साथीभाइबीच बेमेल हुँदा हत्याको अवस्थासम्म पुग्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । अपराध अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जोकोहीले नदेख्ने र चासो पनि नराख्ने भएकाले आपराधिक क्रियाकलापमा होटल-लज रोज्ने गरिएको टिप्पणी गरे ।
उनी भन्छन्, ‘त्यहाँ रुम लिएर बसेपछि अरुले देख्दैनन् । घरमा समस्या भएकाहरू दुई जना बिजनेश वा अन्य विषयमा कुरा गर्न होटलमा आउँछन् । सोही कारण त्यहाँ घटना-परिघटना हुन्छ । कोही झुण्डिन्छन्, कसैको हत्या हुने गरेको पाइन्छ ।’
सुनियोजित तरिकाले भन्दा पनि अकस्मात घटना हुन जाने गरेको एसएसपी भट्टराई बताउँछन् ।
‘त्यहाँ पुगेर आत्महत्या गर्नुको पछाडि केही प्लानिङ पनि हुनसक्छ । कतिपय अवस्थामा ऊ मानसिक रुपमा विक्षिप्त भएर त्यहाँ पुगेको हुनसक्छ । त्यतिबेला सम्हाल्ने कोही नहुँदा पनि गलत कदम उठाइरहेको हुन सक्छ’, उनी भन्छन्, ‘तर होटल लजमा भएको हत्याको अहिलेसम्मको रेकर्ड हेर्ने हो भने योजना बनाएर भन्दा पनि अकस्मात भएको देखिन्छ । होटलमा पुगेका दुई जनाबीच यसअघि भइरहेको विवादले उग्र रुप लिनु र अकस्मात विवाद हुँदा हत्या हुने क्रम बढेको छ ।’
भट्टराईका अनुसार केटा र केटी होटलमा बस्दा यस्तो घटना बढी हुने गरेको छ ।
होटल व्यवसायीको गुनासो- व्यवसायमा असर पर्यो
होटल तथा लजमा कोही मृत भेटिने वित्तिकै सञ्चालकहरूलाई टाउको दुखाइको विषय बनेको छ । समाचारमा आफ्नो होटल तथा लजको नाम आएर व्यवसायमा नै असर पर्ने गरेको उनीहरूको गुनासो छ ।
होटल जन्मभूमिका सञ्चालक रामजी कटुवालले आत्महत्या गरिएको समाचारमा आफ्नो होटलको नाम आएपछि त्यसले आफूलाई मानसिक रुपमा तनाव भएको बताए ।
सञ्चारमाध्यमले आफ्नो व्यवसायलाई धराशायी हुने गरी होटलको नाम उल्लेख गरेको आरोप लगाउँदै उनले प्रेस काउन्सिलमा उजुरीसमेत गरेका थिए । उनले भने, ‘मैले २० वर्षदेखि होटल व्यवसायमा कमाएको गुडविल मिडियाको एक लाइन समाचारले खत्तम पारिदियो ।’
पछिल्लो तथ्यांक हेर्ने हो भने हत्या तथा आत्महत्याको घटना हेर्दा धेरैजसो लजहरूमा भइरहेको छ । केही समयअघि सुन्धारा, बसपार्कका होटल तथा लजमा आत्महत्याका घटनाहरू धेरै हुने गरेका थिए, तर पछिल्लो समय सिनांमगल एरियामा सरेको छ ।
वैदेशिक रोजगारीमा जानेलाई लक्षित गर्दै खुलेका सस्ता होटेल तथा लजमा आपराधिक गतिविधि भइरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत बताउँछन् ।
‘यस्ता होटलहरूले केही घण्टाका लागि पनि रुम बेच्छन्, भित्र जे जस्तो गतिविधि होस्, पैसा आए पुग्यो भन्ने होटलवालालाई छ । को कस्तो मान्छे आएका छन्, उनीहरूको डिटेल नखोज्ने र बल्ल घटना भएपछि प्रहरी गुहार्ने गर्छन्’, उनले भने ।
परिवारलाई ढाँटेर होटलमा बास
केटीहरू घरबाट साथीसँग अथवा आफन्तकोमा जान्छु भनेर ढाँटेर होटलमा जाने गरेका छन् ।
पछिल्ला घटनाहरू अध्ययन गर्दा अधिकांश घटना केटीले आफ्नो परिवारलाई जानकारी नदिई अपरिचित व्यक्तिसँग वा प्रेमीसँग होटलमा जाने गरेको पाइएको नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारी बताउँछन् ।
‘सकेसम्म घरपरिवारलाई थाहा नदिई गएको देखिन्छ’, उनी भन्छन्, ‘परिवारलाई ढाँटेर होटेलमा बास बस्न नजाने, जाने भए कोसँग किन जाँदैछु भनेर जानकारी दियो भने यस्तो घटना हुन पाउँदैन ।’
यस्ता घटना कम गर्न होटल व्यवसायीहरूले रेकर्ड सिस्टम दुरुस्त बनाउने, उनीहरूको नागरिकतालगायत सरकारीस्तरबाट जारी भएका आइडी कार्डहरू माग्ने व्यवस्था मिलाउन होटल व्यवसायीहरूलाई अनुरोध गरिरहेको उनले बताए ।
होटलमा जोसुकै आएर बस्नसक्ने भएकाले सीसीटीभी अनिवार्य रुपमा राख्नुपर्ने अधिकारीको भनाइ छ । होटलमा बसेका मान्छेहरूको गतिविधि सीसीटीभीबाट निगरानी गर्याे भने आपराधिक घटनामा पनि कमी हुने र अनुसन्धानमा पनि सजिलो हुने उनले बताए ।
नकरात्मक असर त परिहाल्छ : हान अध्यक्ष शाह
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा १२६ वटा स्टार होटल छन् । ननस्टार होटल र लजको संख्या ११ हजार ९१९ वटा छन् ।
होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल तथा लजहरूमा हत्या, आत्महत्याका घटना हुँदा ठूलो प्रभाव नपरे पनि कहीँ न कहीँ नकारात्मक असर पर्ने बताउँछन् ।
‘होटल र जलमा यस्ता घटना हुनु पक्कै पनि राम्रो कुरा त होइन । त्यसलाई पक्कै पनि कम गर्नुपर्छ, तर मान्छेको मनभित्र को पसेको हुन्छ ?’, उनी भन्छन्, ‘त्यस्तो धेरै पनि भएको हुँदैन, फाट्टफुट्ट भएको हुन्छ । अलिकति नकारात्मक असर त परिहाल्छ ।’
होटलमा हुने यस्ता घटनामा होटल व्यवसायीको कुनै हात नहुने उनको भनाइ छ ।
अध्यक्ष शाह भन्छन्, ‘त्यस्तो घटना भएपछि मात्रै होटललाई थाहा हुन्छ । होटल सञ्चालकले पनि पुलिस प्रशासनलाई नै भन्ने हो । हामी होटलवालाले जानीजानी त्यस्तो गरेको हुँदैन । त्यस्तो प्रभाव त पर्दैन ।’
होटल व्यवसाय नेपाल सरकारको नियम कानूनअनुसार नै चल्ने उनको भनाइ छ ।
उनी भन्छन्, ‘हामीकहाँ जो बस्नुहुन्छ, उहाँहरूको परिचय हामीले राखेका हुन्छौं । को को, के कामको लागि बस्ने भनेर प्रस्ट हुँदैन । त्यो सोध्ने कुरा पनि भएन ग्राहकलाई । होटल व्यवसायी कहीँ न कहीँ चुकिराखेका छौं जस्तो पनि लाग्छ । जसले गर्दा व्यवसायमा पनि असर पर्छ । ’
होटल व्यवसायी संलग्न नहुने हुँदा व्यवसायमा ठूलो प्रभाव नपर्ने उनी बताउँछन् ।