केन्द्रीय कमिटीमा ओलीको सम्बोधन- एमालेमाथिको चौतर्फी हमलाविरुद्ध जुध्न एकढिक्का हुन्छौं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि जति प्रहार गरेपनि दृढताका साथ दरो भएर सत्यको पक्षमा उभिने बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै सुखी नेपाली समृद्ध नेपाल राष्ट्र निर्माणको पक्षमा अगाडि बढिरहेको बताए ।
उनले भने, ‘हामी विश्व शान्तिको पक्षमा सधैँ उभिन्छौं । हामीमाथि जति नै प्रहार गरेपनि दृढताका साथ दरो भएर सत्यको पक्षमा हामी उभिन्छौं । हामीमाथि आन्तरिक र बाह्य चौतर्फी हमला छ तर हामी निरन्तर अगाडि बढिनै रहने छौँ ।’
एमालेको महान कार्यको रिस डाह गर्नेहरू अनेक लाञ्छना लगाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको उनले बताए ।
उनले भने, ‘हरेक अपराधी कुरा गरेर जनतालाई भ्रममा पारेर एमालेलाई आक्रमण गर्ने काम भएको छ यी सबै षड्यन्त्र र आक्रमणका विरुद्ध सबै पार्टी पंक्ति एक ढिक्का भएर लड्ने छौं ।’
राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र मुलुकको विकास र समृद्धि एमालेको पहिलो प्राथमिकता भएको बताए ।
उनले थपे, ‘देश र जनताको निम्ति जति नै घेराबन्दी गरेपनि जति नै हामीमाथि षड्यन्त्र भएपनि हामी त्यसकाविरुद्ध जुध्नेछौं र जित्नेछौं ।’