सुपर लघुवित्तमा साढे ३२ करोड हिनामिना प्रकरण: सञ्चालक ज्योति चौधरी पुर्पक्षका लागि थुनामा
दाङ । साढे ३२ करोड बढी रकम अपचलन गरेको अभियोगमा दाङको सुपर लघुवित्त वित्तीय संस्थाका सञ्चालक ज्योति चौधरी कारागार चलान भएका छन् । २०८१ बैशाख ४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका चौधरीले आइतबार उच्च अदालत तुलसीपुरमा आत्मसमर्पण गरेका थिए ।
न्यायाधीश अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले सोमबार चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई तुलसीपुर कारागारमा राखिएको छ ।
ज्योतिसहित उनका छोरा किरण, भाइहरू रामबहादुर, बुद्धि र भाइकी छोरी तारा चौधरीले सुपर लघुवित्तमा भएको ३२ करोड ५७ लाख रूपैयाँ हिनामिना गरेको अभियोग छ ।
प्रहरीका अनुसार उनीहरूले नक्कली ऋणी खडा गरेर २५ करोड २६ लाख हिनामिना गरेका छन् । साढे ६ करोड बढी सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना भएको प्रहरीले जनाएको छ ।