अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित- १३ हजारको ६१ करोडबढी बचत अपचलन
विराटनगर । केही दिनअघि कोशी प्रदेश सरकारले गठन गरेको संकटग्रस्त सहकारी व्यवस्थापन समितिले काम थालेको छ ।
समितिको सिफारीसमा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । १३ हजार बचतकर्ताबाट ६१ करोड रूपैयाँभन्दा बढी हिनामिना भएको अम्बे बचत तथा ऋण सहकारीमा बचत कर्ताको रकम फिर्ता गर्नका लागि थप अध्ययन भइरहेको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए ।
उनका अनुसार समितिले प्रदेशका अन्य समस्याग्रस्त सहकारीहरूको पनि अध्ययन भइरहेको छ । अम्बे सहकारीले विराट चोक, विराटनगर र दमकमा शाखा कार्यालय स्थापना गरे बचत तथा ऋणको कारोबार गर्दै आएको थियो । पछिल्लो समय बचतकर्ता आन्दोलित थिए ।
बचतकर्ताको रकम फिर्ता नभएपछि सहकारीका अध्यक्ष फणीन्द्र मगर हाल पुर्पक्षका लागि थुनामा छन् भने केही सञ्चालक धरौटीमा रिहा भएका छन् ।
कोशी सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो । समिति गठन भएको पाँच दिनपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
सहकारीले फर्जी ऋणी खडा गरेर बचतकर्ताको रकम हिनामिना गरेको देखिएको थियो ।