एमालेमा १० बुँदे, पूर्वमाओवादी जस्ता समूह छैनन् : ओली
नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाड्ने प्रतिबद्धता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरु कायम नरहेको दाबी गरेका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु कायम नरहेको बताए ।
उनले भने, ‘एमालेमा अब कुनै पनि पूर्व समूहरु छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ । हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ ।
ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालहरु लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने स्पष्ट गरे ।
मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र काँग्रेससहितको वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरु सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरु चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गरे ।
उनले ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गरे ।
प्रधानमन्त्री समेत रहेका ओलीले असंलग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताए । नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गरे ।