‘सर्वसाधारणदेखि बहालवाला सहसचिवसम्म अनलाइन ठगहरुको पासोमा परेका छन्’ (भिडियो)
सीआईबी प्रवक्ता होबिन्द्र बोगटी भन्छन्– हामीकहाँ प्रविधि प्रयोग गर्दै मानिसहरूलाई दिग्भ्रमित पारेर ठगी गरेका घटनाहरूको चाङ छ
काठमाडाैं । पछिल्लो समय नगदरहित कारोबारको सीमा र दायरा फराकिलो बन्दै गएको छ । जसले गर्दा डिजिटल कारोबार निरन्तर बढ्दो छ । खल्तीमा नोट बोकेर कारोबार गर्नुको सट्टा स्मार्ट फोनमार्फत डिजिटल कारोबार गर्ने मानिसहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । डिजिटल कारोबार बढेसँगै अनलाइनमार्फत हुने ठगी पनि मौलाएको छ ।
डिजिटल कारोबार र यसको गोपनीयताबारे जानकार नहुँदा सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरूसम्म ठगको पासोमा परिरहेका छन् । पछिल्लो समय नेपालमा भइरहेका ठगीका नयाँ ट्रेन्ड र यसबाट जोगिने उपायबारे नेपाल प्रेसकर्मी रिता राउतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीसँग कुराकानी गरेकी छन् । सोही कुराकानीको सम्पादित अंश नेपाल टकमाः
– नेपालीहरू अनलाइन ठगीको पासोमा कसरी परिरहेका छन् ?
नेपाल प्रहरीले अनुसन्धान गरिरहेका आपराधिक घटनाहरूमा ८० प्रतिशत आर्थिक अपराध छन् । आर्थिक अपराधमा पनि साइबर अपराधका घटना धेरै छन् । प्रविधि प्रयोग गरेर, मानिसहरूलाई दिग्भ्रमित पारेर ठगी गरेका घटनाहरूको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा चाङ छ । दैनिकजसो सयौं मानिस ठगीमा परेको भन्दै हामीकहाँ आइरहेका छन् ।
हामी नेपालीहरू छिट्टै प्रलोभनमा पर्छौं । युट्युब, कुनै एप्स, कसैले रेकर्ड गरेर पठाएका कुराहरू साँच्चै हो कि भनेर लोभिन्छौं । त्योभित्र प्रवेश गर्छौं र ठगिन्छौं ।
घटना- १ः हिजोमात्रै प्रहरीकै पूर्वसिनियर प्रहरी अधिकृत ठगीमा परेको उजुरी हामीकहाँ आएको छ । ई-सेवा हेड भनेर लोगो राख्दै एक जनाले उहाँलाई फोन गर्छ । तपाईंलाई ई-सेवाले ९ हजार ५०० रुपैयाँ बोनस दिँदैछ, तपाईंको अकाउन्ट नम्बर र डिटेल पठाउनु भन्छ । उहाँको ई-सेवामा खाता पनि छ । होला त नि भनेर उहाँले सबै डिटेल पठाइदिनु भयो । तुरुन्तै एक लाख ४९ रुपैयाँ ठग्दियो । आफू ठगीमा परेको पछि मात्रै उहाँलाई थाहा भयो ।
घटना- २ः हाम्रै कर्मचारीलाई एक जनाले तपाईंलाई आइफोन १६ हामीले ४० हजारमा दिदैंछौं त्यसको लागि पहिले १० हजार रुपैयाँ पठाइदिनु भन्छ । उहाँले १० हजार रुपैयाँ पठाइदिनु भयो । उहाँलाई आइफोन १६ पनि देखाइदियो । अनलाइनमा सबै कुरा देखाएर उसले हो जस्तै पारेर ठगिदियो ।
घटना- ३ः केही दिन अगाडि मात्रै नेपाल सरकारकै बहालवाला सहसचिवको एउटा उजुरी परेको छ । उहाँलाई एक जनाले एकदमै राम्रो सारी अनलाइनमा देखायो । यो सारीको मूल्य ४० हजार रुपैयाँ हो, तपाईंलाई २० हजार रुपैयाँ मात्रैमा दिन्छौं भन्यो । पहिले ५ हजार पठाइदिनु हामी होम डेलिभरी गर्छौं, त्यसपछि बाँकी पैसा दिनु भनेर भन्यो । उहाँलाई हो जस्तै लाग्यो । पैसा पठाइदिनु भयो, तर केही बेरमै त्यो साइट नै हरायो ।
घटना- ४ः चार्टर्ड एकाउन्टेन्टलाई एक जनाले माछापुच्छ्रे बैंकको हेड अफिसबाट फोन गर्दैछु, तपाईंको खाता नवीकरण, केवाईसी अपडेटलगायतका काम तुरुन्तै गर्नुपर्ने भयो भनेर डिटेल माग्यो । उहाँले होला भनेर दिनुभयो । पछि १० लाख रुपैयाँ खाताबाट चोरी भयो ।
घटना- ५ः भक्तपुरको एक जना आईटी इन्जिनियरलाई अङ्ग्रेजी फिल्मको प्रमोट गर्न १० वटा लाइक गर्नु, तपाईंलाई ३०० रुपैयाँ फिर्ता आउँछ भनेर आग्रह गरियो । उसले सोहीअनुसार गरे । उहाँलाई पहिलो पटक ३०० रुपैयाँ फिर्ता पनि आयो । पछि उसलाई तीन हजार पठाइदिनू, म तपाईंलाई ६ हजार पठाइदिन्छु भन्यो । उहाँले तीन हजार पठाइदिनुभयो । ६ हजार पनि फिर्ता आयो । सोहीअनुसार दोब्बर आउँछ भन्दै पैसा आदानप्रदान गर्न थालियो । आमा, बुबा र काकासँग माग्दै पैसा पठाउँदै गर्दा अन्तिममा ५ लाख ३४ हजार रुपैयाँ ठगिन पुग्नुभयो । यसमा ‘मेक मनी ग्रुप २०२५’ भनेर एउटा ग्रुप नै खडा गरिएको छ । यसमा सयौं नेपालीहरू जोडिएर ठगीमा परेको पाइएको छ ।
जाने, मानेका, आईटी पढेका, चार्टर्ड अकाउन्टेन्ट, नेपाल प्रहरीकै पूर्वकर्मचारी, सरकारका उच्चपदस्थमा रहेका नेपालीहरू समेत ठगीमा परेका छन् । कुनै कम्पनीमा काम गरेर पछि छोडेका कर्मचारीहरू पनि ठगीमा संलग्न भएको पाइएको छ ।
– ठगीमा सबैभन्दा बढी के प्रयोग गर्ने गरिएको छ ?
अहिले सबैभन्दा बढी ठगी टेलिग्रामबाट भइरहेको छ । टेलिग्रामलाई हामीले डिटेक्ट गर्न पनि गाह्रो हुन्छ । ई-सेवालगायत वालेटहरू प्रयोग गरेर ठगी भइरहेको छ । मोबाइल बैंकिङ, फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालको प्रयोग गरेर पनि ठगी भइरहेको छ ।
– यस्ता अपराध अनुसन्धानमा अप्ठेरा पाटाहरू के-के हुन् ?
अनलाइन ठगीका घटना ट्र्याक गर्न गाह्रो भइरहेको छ । विदेशमा बसेर ठगिरहेका हुन्छन् । कतिपय विदेशमा बसेर नेपालको खाता प्रयोग गरेर ठगी भएको हुन्छ । त्यो नेपालमा प्रयोग भएको खातावाला मानिस आफू हुँदैन । ऊ पनि पीडित बनिरहेको अवस्था छ । नेपाल-भारतको बोर्डरमा बसेर पारिपट्टि पैसा लाने गरेको पाइएको छ । कुनै वालेटहरूबाट सीधै क्रिप्टोमा कन्भर्ट गरिरहेको पनि अवस्था छ । यस्तो अवस्थामा अनुसन्धान गर्न र कारबाहीको दायरामा ल्याउन समस्या भइरहेको छ ।
कुनै बैंकको लोगो, ई-सेवाको लोगो बनाएका हुन्छन् । फोन गर्दा त्यो लोगोसहित गर्छन् । साँच्चै नै त्यही कम्पनीबाट फोन गरेछ भन्ने विश्वास हुन्छ । जे जे माग्छ, त्यो हामी दिन्छौं । हामी आफैं सचेत भएनौं भने यसमा ठगीपछि फिर्ता आउने सम्भावना न्यून हुन्छ । हामीले काम नगरेको होइन । सीआईबीले तदारुकताका साथ काम गरिरहेका छौं । म्यानुअल ठगीहरूमा पक्राउ गर्न सकिन्छ । मुद्दा चलाउन सकिन्छ, तर, प्राविधिक ठगीमा रिकभर गर्न हामीलाई पनि समस्या छ । ठगीको पैसा फर्किने सम्भावना जिरो नै छ ।
हामीले अनुसन्धान नै गर्न नसक्ने गरेर भारी मात्रामा ठगीका घटनाहरू भइरहेका छन् । हामीभन्दा एक कदम अगाडि ठगहरू दौडिरहेका छन् । तैपनि हामीले अनुसन्धान गरिरहेका हुन्छौं, तर हामीले ट्र्याक गर्न र कारबाही गर्न नसक्नेगरी ठगी भइरहेको छ । एउटै ठगले ५०० वटासम्म सिमकार्ड प्रयोग गरेको पाइएको छ । एउटा सिमबाट जसलाई ठग्ने हो, उसलाई मात्रै कल गर्ने र अरूलाई नगर्ने गरेको छ । यस्तो अवस्थामा हामीले पत्ता लगाएर कानूनी दायरामा ल्याउन गाह्रो हुन्छ ।
– अपराधको बदलिँदो प्रवृत्तिले प्रहरीसामु चुनौतीका चाङ तेर्सिएको छ, यसमा प्रहरीले कस्तो अस्त्र चालिरहेको छ ?
ठगीका घटना कम गर्न विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरिरहेका छौं । ठगीको पैसा फिर्ता गर्न प्राविधिक जनशक्ति पनि थपिरहेका छौं, तर कमब्याक गर्न हामीसँग पर्याप्त स्रोतसाधन छैन । थप्ने प्रयास गरिरहेका छौं । नयाँ प्रविधि थप गर्दै काम गरिरहेका छौं । हामीले हाम्रोतर्फबाट यथेष्ट प्रयास गरिरहेका छौं ।
– ठगीका घटना न्यूनीकरण गर्न कसले के गर्नुपर्छ ?
म्यासेन्जरमा कसरी कुराकानी भइरहेको छ भन्नेबारे ह्याकरले हेरेर सोहीअनुसार पैसा माग्ने ठगी गर्ने गर्छ । आफन्त, साथीभाइले पैसा माग्यो भनेर तुरुन्तै पैसा पठाइदिने गरेको पाइएको छ । यसमा आममानिस नै सचेत हुनुपर्छ ।
फेसबुकमा विभिन्न लिंकहरु आइरहेको हुन्छ । जस्तैः तपाईं कति सुन्दरी, तपाईंको भविष्यवाणी भन्ने जस्तो लिंकहरु आइरहेका हुन्छन् । त्यसमा तपाईं हामी नेपाली रमाएर क्लिक गरिरहेका हुन्छौं । आहा ! मेरो भविष्य यस्तो रहेछ भनेर रमाइरहेका हुन्छौं, तर त्यस्तो लिंक क्लिक गर्नेबित्तिकै उसले तपाईंको फेसबुकमा भएको डकुमेन्टहरू सबै तानिरहेको हुन्छ । यसो गर्दा अकाउन्ट ह्याक हुने सम्भावना धेरै हुन्छ । यस्ता लिंकहरु तपाईं हामीले क्लिक गर्न नै हुँदैन ।
ह्वाट्सएपबाट ठगी भइरहेको छ । तपाईंलाई लट्री पर्यो, पहिले कर तिर्न पैसा पठाउनु भन्दै म्यासेज आइरहेको हुन्छ । यसरी म्यासेज गर्नेहरूलाई तपाईंहरूले पैसा पठाउने होइन, बरु चरम गाली गर्नुस् । यो सबै नक्कली हो । त्यसैले सचेत रहन आग्रह गर्छु ।
हामीले जसरी सिमकार्डहरु बजारमा वितरण गरिरहेका छौं कि त्यसको नेशनल रेकर्ड नै हुँदैन । फालिएका डकुमेन्ट, नागरिकताहरू प्रयोग गरेर सिमकार्डहरु लिइरहेका छन् । सिमकार्ड वितरण गर्दा सेन्ट्रलाइज गरेर, बायोमेट्रिक मेथडबाट वितरण गर्नुपर्छ । बैंकका खाता खोल्दा पनि बायोमेट्रिकको व्यवस्था गर्नुपर्यो । यसो गर्न सकिएमा मात्रै ठगीका घटना केही न्यूनीकरण गर्न सकिन्छ । यसबाहेक पहिले त हामी नै सजग हुनुपर्छ ।
कसैले हामीलाई फलानो बैंकबाट बोलिरहेको छु, ई-सेवाबाट बोलिरहेको छु, ओटीपी पठाइदिनु, यो गर्नु, त्यो गर्नु भनेर भन्छ भने ती कुनै पनि काम नगर्नुहोस् । जब तपाईंले यी काम गर्नुहुन्छ, तब तपाईं फस्नुहुन्छ । कुनै लिंकहरु क्लिक गरेर पनि डाटाहरू चोरी भइरहेको छ । यसरी आउने लिंकहरु नखोल्न आग्रह गर्छु । आफ्ना गोप्य डकुमेन्टहरू गोप्य नै राख्नुपर्छ । पासपोर्ट, मोबाइल नम्बर, ओटीपी नम्बर, खाता नम्बर केही पनि अरूलाई नदिनु ।
बैंकहरुले साइबर सेक्युरिटी अझै बढी मजबुत बनाउनुपर्छ । वालेट सञ्चालकहरूले पनि सेक्युरिटीको पाटोमा सबैभन्दा बढी ध्यान दिनुपर्छ । यसरी नै ठगी बढ्ने हो भने, उहाँहरूले सेक्युरिटीको पाटोलाई मजबुत बनाउनु भएन भने सर्वसाधारण ठगिने क्रम बढी नै रहन्छ । र, उहाँहरूप्रतिको विश्वास घट्दै जान्छ ।
अनलाइन व्यापारमा पनि ठगी बढेको छ । पहिले पैसा मगाउने पछि सामान डेलिभरी नगरिदिएर ठगी गरेका घटनाहरू थुप्रै छन् । तपाईं हामी जो-कोही लोभमा पर्नुभएन । सहजै विश्वास गर्नुभएन । तपाईंले जसरी विश्वास गर्नुहुन्छ, त्यहीअनुसार ठगले ठग्ने योजना बनाउँछ र ठगी गर्छ । यस्ता कुनै पनि कुराहरूमा विश्वास नगरी ठगीबाट बच्नुहुन आग्रह गर्दछु ।