शितलहरले चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
रूपन्देही । शितलहरका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको दाउन्ने सडक अवरुद्ध बनेको छ ।
नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्डमा उकालो र ओरालोमा शितलहरले बाटो चिप्लो भएका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ। बाक्लो हुस्सुले अगाडिको सवारी समेत नदेखिने अवस्था छ ।
बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएर आज बिहान ४ बजेसम्म दुईतर्फी सडक अवरुद्ध भएर केही बेर एकतर्फी सञ्चालनमा आए पनि अहिले पुनः दुईतर्फी आवागमन नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए ।
प्रहरीले ठूला र मालवाहक सवारीलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ । यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्ध हुने गरेको थियो ।
सडक विस्तारको क्रममा दाउन्नेमा सडक एकतर्फी भएर घन्टौँ जाममा बस्नुपर्ने बाध्यतामा रहेका यात्रुलाई थप सास्ती भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा परेका छन् । सडक चिप्लिएका कारण दुर्घटनाको जोखिम रहेको छ ।
पावरफूल सडक बत्ती राखन रोड छेउमा, शितलहर भएको बेला गाडी चलाउन सजिलो हुन्छ।