बुद्ध जन्मस्थल लुम्बिनीमा दानबापत १ करोड ४३ लाख संकलन (भिडिओ)
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ।
आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए ।
उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली गणना गर्ने गरिएको बताए ।
दानपेटिकामा संकलित दानलाई सिसिटिभी क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरू खटाएर गणनाको व्यवस्था मिलाइएको थियो ।
मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान चढाउँछन् ।
दानबापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ ।