रुपन्देही आसपासकालाई काठमाडाैं जोड्ने हवाई र सडक दुवै बाटो अवरुद्ध (भिडिओ)
शीतलहर र हुस्सुले दुई दिनदेखि गौतमबुद्ध विमानस्थल अवरुद्ध, दाउन्ने सडक अवरुद्धले सयौं गाडी सडकमै लामवद्ध
रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनयता उडान हुन सकेको छैन । नियमित उडान नहुँदा यसका सेवाग्राही प्रभावित भएका छन् ।
केही दिनयता परेको शीतलहर र हुस्सुले यहाँबाट अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडान नियमित हुन सकेका थिएनन् तर, दुई दिनयता अत्यधिक शीतलहर र हुस्सुले सबै सेवा प्रभावित बनेको हो ।
सोमवार बिहानैदेखि दिनभरि चर्को घाम लागेको भैरहवा र आसपासका क्षेत्रको मौसम मंगलवार बिहानदेखि एकाएक परिवर्तन भएको थियो । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले छोपेको छ । मंगलवार दिउँसोदेखि शीतलहर चल्न थालेको हो । बुधबार अझै बढेको छ । हुस्सु र शीतलहरसँगै चिसो बढेकाले यस क्षेत्रको जनजीवन प्रभावित छ ।
हुस्सुका कारण मंगलवार विहानैदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाइ उडान संचालन हुन सकेको छैन । सडकमा यातायातका सवराी साधन कम संख्यामा चलेका छन् । पैदल यात्रु कम छन् । सडक किनारका पेटी र चोकहरुमा चिसोबाट जोगिनका लागि स्थानीय सर्वसाधारण आगो बालेर तापेका छन् ।
मौसम केन्द्रका अनुसार, मंगलवार भैरहवाको तापक्रम न्युनतम ११ देखि अधिकतम १५ डिग्री सेल्सियसका बीच छ । बाक्लो कुहिरोका कारण भिजिबिलिटी न्युनतम ९ सय र अधिकतम १ हजार २ सय मिटर छ । रुपन्देहीको भैरहवा र आसपास क्षेत्रको मौसम अझ दुई–तीन दिन मंगलवारको जस्तै बाक्लो हुस्सु, कुहिरो शर शीतलहर चल्ने सम्भावना देखिएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई मौसम केन्द्रले भैरहवा र आसपास क्षेत्रको मौसमकाबारे यस खालको पूर्वानुमान गरेको हो । केन्द्रका प्रमुख तथा मौसमबिद् सुभाष रिमालका अनुसार ‘घरि घरि आकाश खुलिहाले पनि समान्यतया अझ दुई–तीन दिनसम्म मौसम खुल्ने अवस्था देखिँदैन, त्यसपछिका दिनको मौसमका बारेमा अहिल्यै पूर्वानुमान गर्न भने सकिँदैन ।
तापक्रम र भिजिविलिटी दुवै बढ्ने र घट्ने क्रम चलिरहेको र मंगलवार दिउँसोपछि अझै प्रतिकुल बनेको मौसमबिद् सुभाष रिमालले जनाए । भिजिविलिटी कम भएकाले मंगलवार र बुधबार भैरहवाबाट कुनै पनि हवाइ उडान संचालन भएको छैन ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी बिनोद रावतले सामान्य अवस्थामा हवाई उडान संचालनका लागि १ हजार ८ सय मिटरको भिजिविलिटी आवश्यक पर्नेमा त्यस अनुरुपको भिजिविलिटी नभएकाले हवाइ उडान हुन नसकेको बताए । उनका अनुसार मंगलबार र बुधबार यो समाचार तयार पार्दासम्म सबै सेवा अवरुद्ध छ ।
‘कतिबेला खुल्छ केही अनुमान छैन, पूरै ढाकेको छ, हावा चल्यो भने बुधबार अबेर खुल्न पनि सक्छ तर हिजोदेखि सबै सेवा रोकिएको छ’ उनले नेपाल प्रेससँग भने–‘प्रकृतिले यस्तै बनाएपछि के गर्न सकिन्छ ?’
बुद्ध, यति र श्री एयरलायन्सले भैरहवा–काठमाडौं बीच दैनिक १८ देखि २० वटा र पोखराका लागि एउटा हवाइ उडान संचालन हुने गरेको छ । दैनिक सरदर २ हजार ६ सय जनाले यस विमानस्थल हुँदै हवाई यात्रा गर्ने गर्छन् ।
विमानस्थल अवरुद्ध भएपछि स्थलमार्गको बाटो रोजेका स्थानीय दाउन्नेमा मंगलबार रातीबाट सडक अवरुद्ध बनेपछि बीचमै अलपत्र परेका छन् ।
नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्डमा उकालो र ओरालोमा शीतलहरले बाटो चिप्लो भएका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ। बाक्लो हुस्सुले अगाडिको सवारीसमेत नदेखिने अवस्था छ ।
बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा हुस्सु तथा शीतलहरको कारण बाटो चिप्लो भएर दुईतर्फी आवागमन नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए ।
प्रहरीले ठूला र मालवाहक सवारीलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ । यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्द हुने गरेको थियो ।
सडक विस्तारको क्रममा दाउन्नेमा सडक एकतर्फी भएर घन्टौँ जाममा बस्नुपर्ने बाध्यतामा रहेका यात्रुलाई थप सास्ती भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा परेका छ्न । सडक चिप्लिएका कारण दुर्घटनाको जोखिम रहेको छ ।
रुपन्देहीबाट काठमाण्डौ जान विमानस्थलको टिकट लिएका डिआर घिमिरे हवाई र स्थलमार्र्ग दुवै अवरुद्ध हुँदा अलमल परेको बताए । ‘काठमाण्डौ जानुपर्ने छ । भैरहवा एयरपोर्ट चल्न मौसमले साथ दिने अवस्था रहेन ।उता दाउन्नेमा गाडी चलिरहेका छैनन् भन्ने सुनिन्छ । हेरौ कुनै उपाय निस्कन्छ कि ? म जस्ता अरू पनि हुनुहोला । आखिरी हामीमा सहकार्यको सस्कृति त छँदैछ नि ।’ उनले भने ।
रुपन्देहीका खगराज शर्मा काठमाडाैंबाट भैरहवा हुँदै आउन टिकट लिए पनि नपाएपछि सडकयात्रा रोजे । तर चिसोमा रातभर रोकिएपछि अलपत्र परेको सुनाए ।
‘हिजो २ बजेदेखि ५ बजेसम्म काठमाडौं एयरपोर्टमा, जहाज नउड्ने टुङ्गो भएपछि बसपार्कबाट साँझ ८ बजे हिडेको बिहान ४ बजे दाउन्ने आएपछि फेरी कुहिरो र ट्राफिक व्यवस्थापनमा समस्याका कारण अहिलेसम्म दाउन्नेको जाममा परेको अवस्था छ’ उनले भने ।
अर्का यात्रु भोजराज भण्डारीले पनि सडक यात्रामा रोकएको सुनाएका छन् । ‘हिजो काठमाडौंदेखि आफ्नै साधनमा निस्किएको हुँ, पुसको यस्तो चिसोमा म बाटैमा छु हजुर’ उनले सुनाए ।
रुपन्देही तिलोत्तमाका दुर्गाप्रसाद पाण्डेले पनि काठमाण्डौ जान मंगलबार जहाजको टिकट लिएको तर दिनभर कुरेर भैरहवाबाट नउडेपछि रात्री बसमा ८ बजे चढेपनि बिहानसम्म दाउन्नेको चिसोमै कुरेर बसेको बताए । बुटवलकै हिमाल गैरेले मंगलबार बुटवलबाट हिंडेको बस बुधबार बिहानसम्म दाउनेमा रोकिँदा वैकल्पिक बाटो नभएकाले समस्यामा परेको बताए ।
हवाई तथा सडक अवरुद्धको पूर्वसूचना भएपनि धेरै यात्रुहरुले यसलाई ख्याल गर्दैनन् । मौसम विभागले पहिलेबाट नै यसबारे जानाकरी दिएपनि धेरैले व्यवास्था गरेकाले यस्तो भएको हो । त्यसो त रुपन्देहीबाट काठमाण्डौ जान मुख्य हवाई यात्राका लागि गौतमबुद्ध विमानस्थल र सडक यात्राका लागि बुटवल नारायणगढ सडक नै हो तर, यी दुवै बाटो रोकिँदा केही घुमाउरो बाटोको पनि प्रयोग स्थानीयले गरेका छन् ।
अत्यावश्यक भएकाले बुटवलबाट पाल्पाको रामदी–रामपुर–देवघाट–दासढुङ्गा गएर पनि काठमाण्डौ गएका छन् भने केही बुटवल–पोखरा हुँदै काठमाण्डौं गएका छन् ।
केहीले पाल्पा–पिपलडाँडा–रामपुर हुँदै गैंडाकोट (कालीगण्डकी करिडोर) को बाटो प्रयोग गरेका छन् । तर, धेरै घुमाउरो हुने हुँदा र नियमित सार्वजनिक साधन यो बाटोमा नचल्दा सर्वसाधारण अलपत्र परेका हुन् ।