तीन वाणिज्य बैंक मर्जरको तयारीमा, उपयुक्त पार्टनर खोज्दै
काठमाडौं । केही वर्षअघि बैंकहरूमा मर्जरको लहर नै चल्यो । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई पुँजी बढाउन मर्जरमा जान दबाब दिएपछि वाणिज्य बैंकहरू धमाधम एक आपसमा गाभिए । वाणिज्य बैंकको सङ्ख्या एक दर्जनले नै घट्यो । ३२ वटा वाणिज्य बैंक रहेकोमा त्यो सङ्ख्या घटेर २० मा झर्यो ।
त्यसबेला ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज भए । प्रभु र सेञ्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, हिमालयन बैंक र सिभिल बैंक, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नबिल र बंगलादेश लगायत बैंकहरू ‘बिग मर्जर’मा गए । यी बैंकहरूले एक आपसमा गाभ्ने/गाभिने प्रक्रियामा सामेल भएर एकीकृत कारोबार शुरु गरे ।
अन्य केही बैंकहरूले मर्जरमा जाने तयारी थालेपनि जान सकेनन् । त्यसपछि बिस्तारै वाणिज्य बैंकहरूमा मर्जरको लहर सेलाउँदै गयो । तर, पछिल्लो समय फेरि वाणिज्य बैंकहरूले मर्जरमा जाने तयारी थालेपछि बैंकहरूमा मर्जरको लहर पुन: चल्ने देखिन्छ । यसअघि पनि ‘मर्जर’ मा सामेल भएको नबिल बैंक फेरि पनि मर्जरमा जाने तयारी थालेको छ । गत मंसिर २७ गते भएको नबिल बैंकको साधारण सभाको विशेष प्रस्ताव नै मर्जरमा जाने थियो ।
बैंकको ४० औँ वार्षिक साधारण सभाको विशेष प्रस्तावमा भनिएको थियो, ‘नबिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन)गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।’
बैंकको उक्त प्रस्ताव गत मंसिर २७ गते बसेको साधारण सभाले पारित गरिसकेको छ ।
नबिल बैंक यसअघि पनि मर्जरमा गइसकेको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंकले २०७९ सालमै मर्ज भएर एकीकृत कारोबार सुरु गरेको थियो । मर्जरपछि पनि बैंकलाई पुँजीकोषमा दबाब परेपछि अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिने तयारी थालेको देखिन्छ ।
नबिल बैंकजस्तै अन्य केही वाणिज्य बैंकहरूले पनि साधारण सभा मार्फत मर्जर जाने विशेष प्रस्ताव पारित गरेका छन् । प्राइम कमर्सियल बैंकले पनि मर्जरको नीति अघि सारेको छ ।
यस बैंकको १७ औँ वार्षिक साधारण सभाको विशेष प्रस्तावमा भनिएको थियो, ‘यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गरी एक आपसमा मर्ज (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।’
यो प्रस्ताव गत मंसिर १९ गते बसेको साधारण सभाले पारित गरिसकेको छ । कैलाश विकास बैंकलाई प्राप्ति गरेको प्राइम बैंक फेरि मर्जरमा जाने तयारीमा छ ।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले पनि मर्जरको प्रस्ताव पारित गरिसकेको छ । गत कात्तिक १२ गते बसेको बैंकको १८ औँ साधारण सभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको हो ।
बैंकले सभामा विशेष प्रस्ताव गर्दै भनेको थियो, ‘सिटिजन्स बैंक इन्टरनेसनल र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न) वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।’
बैंकको यो प्रस्ताव सभाले पारित गरिसकेको छ । उपयुक्त ‘पार्टनर’ भेटिए बैंक मर्जरमा जाने तयारीमा लागेको छ ।
हालसम्म ८ वटा वाणिज्य बैंकको साधारण सभा सम्पन्न भइसकेको छ । सम्पन्न भइसकेका वाणिज्य बैंकहरूमध्ये तीन बैंकको विशेष प्रस्तावमा मर्जरको नीति अघि सारिएको हो । उपयुक्त पार्टनर भेटिए यी तीन बैंकले मर्जर जाने बताउँदै सो प्रक्रिया अगाडि बढाउने जिम्मा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गराएका छन् ।
लक्ष्मी सनराइज बैंकको साधारण सभा आज छ । यसबाहेक एनएमबी, सिद्धार्थ, माछापुच्छ्रे, हिमालयन, कृषि विकास, राष्ट्रिय वाणिज्य र प्रभु बैंकले पुस २९ गतेसम्म साधारण सभा बोलाएका छन् । अहिलेसम्म ७ वटा वाणिज्य बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् भने ९ वटा वाणिज्य बैंकले पुस मसान्तभित्रै साधारण सभा गर्ने गरी सूचना जारी गरिसकेका छन् ।