सबैका लागि हामी : बर्दिबासमा न्यानो बाँड्दै – Nepal Press

सबैका लागि हामी : बर्दिबासमा न्यानो बाँड्दै

काठमाडौं । डम्म लागेको कुहिरो, तरतरी झरिरहेको शीत । असारमा नझरेको वर्षा हिउँदमा बेकामे थोपा बनेर झरिरहेको छ । निरन्तर झरिरहेको शीतले खान योग्य अन्न तरकारी बालीमा समेत क्षति पुगेको छ । यो तराई हो जहाँ बस्ने जनजीवन न्यानोको लागि घरभित्र पस्न लता कपडा छैन बरु घर बाहिर उखुको सुकेको पतकर,अन्य सुकेका झ्यास सडक , बाटोमा बालेर सम्झौता गरिरहेको हुन्छ । पतकरको आगोले दिएको न्यानोको बदलामा अनवरत चलिरहेको सिरेटोले चिसो दिइरहेको हुन्छ ।

हुन त यहाँका पालिकाहरू चोक चौराहामा दाउरा बाँड्ने कार्यहरू नगरेका पनि होइनन् । फेरि विशेष गरी बालबालिका वृद्ध वृद्धा र अति विपन्न परिवारमा न्यानो पुग्ने गरी पुगिरहेको हुँदैन । प्रायः वर्षहरूमा लामै समयसम्म चल्ने शीतलहरले कृषि,स्वास्थ्यलाई प्रभावित पारिरहेको हुन्छ । यस्तो देख्दा हर कसैको मनले केही कुनै सक्ने सहयोग गर्न पाए भन्ने चाहन्छ । तर चाहना हुँदा हुँदै पनि व्यवस्थापन र उपस्थितिको कारण सहयोग गर्न सकी रहेको हुँदैनन् ।

यसबिचमा महोत्तरीको बर्दिबासमा रहेको सबैका हामी संस्थाले न्यानो अभियान ३ बा आमा सङ्ग सञ्चालन गरिरहेको छ । बर्दिबास नगरपालिकामा बसोबास गर्ने दलित, मुसहर, अशक्त, असहाय, महिला तथा बालबालिका लक्षित न्यानो अभियान सञ्चालन भएको संस्थाका अध्यक्ष रवि निरौलाले जनाए । विगतमा झैँ यस वर्ष पनि विभिन्न पेसा, व्यवसायमा रहेका देश तथा विदेशबाट पठाइएका रकम संकलन गरी कार्यक्रमले निरंतरता पाइरहेको अध्यक्ष निरौलाले स्पष्ट पारे ।

यस वर्ष न्यानो अभियान ३ बा सङ्गमा २०० परिवारलाई फाइबरको सिरक वितरण गरिने लक्ष्य रहेको छ । जस अन्तर्गत पौष २३ र २४ गरी ८९ र ३२ परिवारलाई सिरक वितरण गरिएको छ । बर्दिबास नगरपालिका ६, ७, ८, ९, १२ र १३ का १२१ परिवारलाई घरभित्र पस्दा पनि न्यानो अनुभूत गराउने पहल गरेको हो ।

संस्थाले २०७९ साल पौष ५ गते न्यानो अभियान सञ्चालन गरेको थियो । अभियानको सुरुवातमा १४५ ब्ल्याङ्केट वितरण गरेको संस्थाका कोषाध्यक्ष गणेश विक्रम थापाले जनाए । यसैगरी २०८० सालमा पनि दोस्रो चरणमा न्यानो अभियान २ बालबालिका सङ्ग सञ्चालन गर्‍यो । उक्त अभियानमा बर्दिबास नगर भित्रका विभिन्न विद्यालयमा अध्ययनरत २०० बालबालिकाकालाई ज्याकेट र ट्राउजर वितरण गरिएको सो कार्यक्रमका संयोजक सन्जीत लामाको भनाइ छ ।

यसरी तेस्रो वर्षमा कार्यक्रम सञ्चालन गरिरहँदा भने पहिले मनमा आएको एक्कासि तरंगलाई प्रतिबिम्बित गर्न थालनी गरिएको अभियान अहिले आएर विश्वास र जिम्मेवारी थपिएको अनुभूत भएको अध्यक्ष निरौलाले सुनाए । गाडीमा भरेर बाँड्न लगेको सामानलाई बाँडेर फर्कँदा मनभरि खुशी लिएर आउन पाउँदा संस्थाका सदस्यहरू दङ्ग छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर