‘विश्नोइ ग्याङ’को नाममा दुर्गा प्रसाईँको गिरोह सञ्चालन, आपराधिक लाभको कसुरमा मुद्दा दर्ता – Nepal Press

‘विश्नोइ ग्याङ’को नाममा दुर्गा प्रसाईँको गिरोह सञ्चालन, आपराधिक लाभको कसुरमा मुद्दा दर्ता

काठमाडौं । बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दर्ता भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकृतहरू र उद्योगी व्यवसायीलाई धम्की दिएको प्रमाणसहित प्रसाईँ र उनको समूहमा रहेका थप दुईजनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

दुर्गा प्रसाईँसहित नवीन प्रधान भनिने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । उनीहरू पनि झापाकै हुन् ।

फुयाँललाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । उनले दुर्गा प्रसाईँकै योजना र आदेश बमोजिम आफूले विभिन्न व्यक्तिलाई धम्क्याएको बयान दिएका छन् ।

प्रसाईँलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा प्रहरीले पक्राउ गरेकोमा अदालतबाट धरौटीमा रिहा भएका थिए । त्यहिबेला उनी र र उनको समूहले विभिन्न व्यक्तिलाई धम्की दिएर रकम असुलेको प्रमाण प्रहरीले फेला पारेको थियो ।

प्रसाईँ र उनको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेतलाई धम्क्याएको अडिओ अदालतमा पेश भएको छ । त्यसबाहेक अन्य व्यवसायीको समेत निवेदन परेको सिआइबीले जनाएको छ ।

भारतका चर्चित ग्याङस्टार लरेन्स विश्नोइको ग्याङको सदस्य भन्दै विभिन्न व्ययवासीलाई धम्की आएको थियो । त्यसरी फोन गर्ने व्यक्ति फुयाँल नै भएको पाइएको छ ।

अदालतमा पेश भएको अभियोगपत्रमा दुर्गा प्रसाईँले पाँच लाख दिएकोबारे बोलेको अडियो पनि समावेश भएको छ ।

फुयाँलको मोबाइलबाट बरामद अडिओमा भनिएको छ, ‘त्यस्तोमा जाँदैन भाइ पैसा, स्पष्ट खाता नम्बर र मान्छेको नाम चाहिन्छ के, ए भाइ खै… चन्द्रलाई फोन गर्थ्यो । त्यो पैसा हाल्न लगाउँथ्यो । ५ लाख छिटो हाल भन त…’

चन्द्र बी.एण्ड सी. अस्पतालका लेखा प्रमुख रहेको बताइएको छ । यस्ता धेरै अडिओ फेला परेका र फरेन्सिक परीक्षणबाट प्रसाईँकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

धम्की दिँदै दुगाई प्रसाईलाई पठाउँथे अडिओ

फुयालले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्ने गरेका थिए । सो रेकर्ड उनले प्रसाईंलाई पठाउँथे । प्रहरीले मिसिलमा पेश गरेको अडिओमा उनले आफूलाई भारतीय गुण्डा नाइके ‘विश्नोइ ग्याँङबाट हुँ’ भन्ने गरेका थिए ।

झापा पारिपट्टि पानीट्यांकीमा उनले पसलसञ्चालन गरेका थिए भने दुर्गा प्रसाईले उनलाई पारीको नम्बरबाट नेपालमा धम्क्याउन परिचालन गरेका थिए । भारतमा उनी आफूलाई नवीन प्रधानको नामबाट चिनाउँथे र आधार कार्ड पनि बनाएका थिए ।

भारतबाट १४१ पटक फोन गरेर व्यवसायीलाई धम्की दिने फुयलविरुद्ध यसअघि पनि झापा र सुनसरीबाट मुद्दा चलेको थियो । इलाका प्रहरी कार्यालय धुलावारीबाट चलेको बैंकिङ कसुर मुद्दामा उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले अघि बढाएको ठगी मुद्दामा उनी १ लाख ४० हजार रकम बुझाएर छुटेका थिए ।


प्रतिक्रिया

One thought on “‘विश्नोइ ग्याङ’को नाममा दुर्गा प्रसाईँको गिरोह सञ्चालन, आपराधिक लाभको कसुरमा मुद्दा दर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर