बैंकले गुपचुपमा जग्गा लिलाम गरेको भन्दै राजमार्गमै सुते ऋणी, प्रहरीको व्यवहारप्रति आपत्ति – Nepal Press

बैंकले गुपचुपमा जग्गा लिलाम गरेको भन्दै राजमार्गमै सुते ऋणी, प्रहरीको व्यवहारप्रति आपत्ति

जनकपुरधाम । सिरहाको लहानस्थित कृषि विकास बैंकले प्रक्रिया छलेर जग्गा लिलाम गरेको भन्दै पीडित परिवारले थालेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ ।

लहान नगरपालिका-२ का रामचन्द्र यादवको पूर्वपश्चिम राजमार्गमै टाँसिएको ७ धुर जग्गा बैंकले प्रक्रिया मिचेर लिलाम गरेको दाबीसहित उनको परिवार आन्दोलित बनेका हुन् । यादव परिवार राजमार्गमा सुतेका छन् ।

सडकमा उनीहरू सुतेपछि सवारी साधनहरू ठप्प भएको थियो । प्रहरीले सडक खाली गर्न सुरूमा दबाब दिए । उनीहरू नमानेपछि प्रहरीले आन्दोलनको समर्थनमा पुगेका स्थानीयलाई लाठी चार्ज गरेर भगाए । त्यसपछि प्रहरीले रामचन्द्रको परिवारलाई घिसारेर सडकबाट हटाए र राजमार्ग खुलाए ।

अहिले राजमार्ग सञ्चालनमा आएको छ । बैंकमा सुरक्षा निगरानी बढाइएको छ ।

प्रहरीले आन्दोलनकारीलाई घिसारेको भिडिओ सामाजिक सञ्जालमा धेरैले सेयर गर्न थालेका छन् । प्रहरीले एक महिला र एक युवतीको लुगा समातेर सडकमा घिसारिरहेको भिडिओमा देख्न सकिन्छ ।

जग्गा लिलामसम्बन्धी विवादमा एउटा समूहले बैंक जलाउन खोज्दा बल प्रयोग गरेको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रसाद सोतीले बताए ।

सडकमा घिसार्न मिल्छ ? भनी सोध्दा उनले भने, ‘सडकमा सुतेपछि गाडीले किच्न सक्छ नी, त्यसैले सडकबाट हटाएका छौं ।’

सडक खुलाउने नाममा पीडित परिवार र आन्दोलनमा सहयोग गर्नेमाथि प्रहरी निर्मम बनेको स्थानीय युवा नेता बालेश्वर यादवले आरोप लगाए ।

उनले भने, ‘प्रहरीको काम पीडित जनतालाई न्याय दिनु हो । तर, यहाँका प्रहरी नै पीडितलाई झन् पीडित बनाएको छ ।’

रामचन्द्रले ०७७ फाल्गुन १५ मा कृषि विकास बैंक लहान शाखाबाट ३० लाख रूपैयाँ ऋण लिएका थिए । मंसिरको किस्ता तिरेको उनको दाबी छ ।

ब्याज सावा गरी १९ लाख ९२ हजार ७७३ रूपैयाँ तिरिसकेको अवस्थामा बैंकले जग्गा गुपचुप तरिकाले लिलाम गरेको यादवको भनाइ छ । उनले जग्गा फिर्ता पाउनुपर्ने भन्दै पुस ११ मा बैंकमा ताला लगाएका थिए ।

तालाबन्दीपछि बैंकले जग्गा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउने सहमति गर्‍यो । तर, सहमति कार्यान्वयन नभएपछि पीडित यादव पुनः बैंकविरुद्ध सडक आन्दोलनमा उत्रेपछि प्रहरीबाटै दमनको सिकार भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *