न्यूरोडमा दुई दृष्यः फेरिएको इन्द्रचोक, नफेरिएको खिचापोखरी
फराकिलो फुटपाथ र तारहरु भूमिगत गरिएसँगै इन्द्रचोकको मुहार फेरियो
काठमाडौं । व्यस्त सडक, दायाँबायाँ फराकिला फुटपाथ, खुला देखिएको आकाश ।
यो दृश्य अन्त कतै नभएर काठमाडौंकै व्यापारिक हव न्यूरोडको हो । न्यूरोड पुग्ने जोकोहीले जुद्धशालिकबाट हेर्दा दुई फरक दृश्य देख्छन् ।
जुद्ध शालिकबाट बायाँ खिचापोखरीतर्फ नियाल्दा साँघुरो फुटपाथ, त्यहीमाथि तारले गन्जागोल दृश्य देखेर मन खिन्न हुन्छ भने दायाँ इन्द्रचोकतर्फ हेर्न वित्तिकै जोकोहीको मुखबाट आहा भन्ने शब्द निस्कन्छ ।
जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फराकिला फुटपाथले खुल्ला र तारबिहिन सडकले न्यूरोडको परिचय नै बदलिदिएको छ । तर, व्यस्त व्यापारिक हब न्यूरोडमा यो दृश्य कसरी सम्भव भयो त ?
न्यूरोडमा गत माघ ३ गतेसम्म सडकमा अव्यवस्थित सवारी पार्किङले न्यूरोड अस्तव्यस्त मात्र नभई भद्रगोल बनाएको थियो । जति सवारीसाधन गुड्छन् त्यति नै सडकपेटीबाट पैदलयात्रु हिँड्छन् । तर, बढी भीडभाड हुने यो ठाउँमा पैदलयात्रुका लागि पर्याप्त थिएन फुटपाथ । साघुँरो फुटपाथमा पकेटमारीमारीदेखि पैदलयात्रुलाई हिँड्न गाह्रो भएकोे, यौन दुव्र्यवहारसमेत भएको गुनासो वडाध्यक्ष हुँदै काठमाडौं महानगरपालिकाको मेयरको कार्यकक्षसम्म पुगेको थियो ।
वडामार्पmत उक्त क्षेत्रको फुटपाथ बढाइदिनु भन्दै महानगरसम्म प्रस्ताव पुगेपछि महानगर सडक विज्ञसँग छलफलमा जुटेको थियो । छलफलपछि त्यस क्षेत्रमा फुटपाथ बढाउनुपर्ने निष्कर्ष निस्कियो । २०८० मंसिरमा नै महानगरले आफ्नै बजेटबाट न्यूरोडमा सौन्दर्यीकरण गरी फुटपाथ बढाउने योजना सुरु गरिसकेको थियो ।
फुटपाथ विस्तारअघि ११ मिटर लम्बाइ कालोपत्रे सडक रहेको न्यूरोड क्षेत्रमा दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ रहेको थियो ।
सो फुटपाथ साढे एक मिटर बढाएर ११ मिटर फराकिलो कालोपत्रे सडक सात मिटरमा खुम्च्याउने महानगरको तयारी समेत गरेको थियो । दुवैतिर डेढ मिटर थप गरी ३.९ मिटरको फुटपाथ बढाउने र आधाआधा मिटर ड्रेनेजका लागि छुट्याइने गरी महानगरले डीपीआर तयार गरेको थियो ।
०८० मंसिर ८ मा नयाँ सडक, धर्मपथ र गंगापथको पेटीको चौडाइ बढाउने र सडकको चौडाइ घटाउने योजना तयार गरी टेन्डर आह्वान गरेर सीके जेभी कम्पनीले निर्माणका लागि तीन करोड १९ लाख २० हजारमा टेण्डर पाएको थियो । तर, न्यूरोडमा पार्किङको लागि दुई कम्पनीले ठेक्कामा लिएका थिए । सम्झौता सकिने प्रतिक्षामा बसेको महानगरले ०८० माघ ३ गतेपछि दुई कम्पनीको सम्झौता नविकरण गरिदिएन ।
महानगरले माघ ३ गतेबाट वडा नम्बर २२ र २४ नम्बरमा पर्ने न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यहाँको सडक साँघुरो बनाएर सडक पेटी बढाउने काम अघि बढाएको थियो ।
फुटपाथ विस्तारको काम सुरु गर्न खोजेको महानगरविरुद्ध स्थानीय र त्यहाँका व्यापारीहरु विरोधमा उत्रिए । महानगरले न्यूरोड पुग्ने सवारी साधनधनीहरुको लागि नवनिर्मित धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरिदिएको थियो ।
सोही क्रममा महानगरले सडक कटिङको अनुमतिका लागि सडक डिभिजन काठमाडौंलाई पत्र लेखेको थियो । तर, समयमै अनुमति नपाएपछि महानगर आफूखुशी सडक कटिङको काम सुरु गर्दा सडक डिभिजन काठमाडौंले हस्तक्षेप गर्यो । उसले कटिङ रोक्नेदेखि कटिङ गरेको सडकसमेत पिच गरिदियो ।
यहीबीच दुबै पक्ष अदालत समेत पुगे । उच्च अदालत पाटनले काठमाडौं महानगरको पक्षमा अन्तरिम आदेश दिएपछि महानगरले सडक विस्तारको काम अघि बढायो । अनेक बाधाकैबीच २४ नम्बर वडा अन्र्तगत न्यूरोडमा फराकिलो फुटपाथ तयार भयो ।
गत साउन ६ मा महानगरले न्यूरोडमा फुटपाथ विस्तार सकाएपछि २२ नम्बर वडा अन्तर्गत नयाँ सडकमा काम गर्ने महानगरको योजना थियो । तर जति २४ नम्बरमा फुटपाथ बढाउन सजिलो थियो, त्यति २२ नम्बर वडामा सजिलो हुन सकेन ।
धर्मपथ र गंगापथ २२ नम्बर वडामा पर्छ । यो वडाको वडाध्यक्ष चिनीकाजी महर्जन न्यूरोड जस्तो व्यापारिक क्षेत्रमा सुरुदेखि नै सडक नकाट्ने पक्षमा थिए । उनी आप्mनो वडामा त कुनै पनि हालतमा सडक घटाउनु नहुने पक्षमा छन् ।
नयाँ सडकको सडकपेटी खन्ने तयारी गरिरहँदा स्थानीयसमेत विरोधमा उत्रिएपछि काम अघि बढ्न सकेन । स्थानीयहरु कुनै पनि हालतमा फुटपाथ विस्तार गर्न नदिने पक्षमा थिए ।
स्थानीय र जनप्रतिनिधिसँग छलफल नै नगरी सडक विस्तार गर्न खोजेको भन्दै आक्रोशित बनेका वडाध्यक्ष महर्जनसहित स्थानीयले काम अघि बढाउन नदिँदा महानगर तत्काल पछि हट्न बाध्य भयो । साउन ७ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफैं स्थानीय र जनप्रतिनिधिसँग वार्तामा बसेर तत्कालका लागि निर्माण कार्य रोकियो ।
उक्त वार्ताबाट महानगरले न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै काम नगर्ने सम्बन्धित वडा र स्थानीय बासिन्दासँग सहमति गरेको थियो । सहमतिअनुसार सुमनराज भण्डारीको संयोजकत्वमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव रहेको कार्यदलले दिएको आधारमा त्यसपछि फुटपाथ विस्तारलाई के गर्ने भनी निर्णय गर्ने सहमति भएको थियो ।
इन्द्रचोकमा गरिएको फुटपाथ विस्तारले पारेको प्रभावबारे अध्ययन गरेर कार्यदलले बुझाएको प्रतिवेदनको सुझावको आधारमा थप कार्य अघि बढाउने सहमति भएको थियो ।
मंसिर २ को भाका नाघेको डेढ महिना भइसकेको छ । अहिलेसम्म २२ नम्बर वडाको फुटपाथ विस्तारको प्रकिया अघि बढेको छैन । न्यूरोडले नयाँ रुप लिँदा खिचापोखरीमा भने उस्तै हाल छ । धर्मपथ, खिचापोखरी लगायतका ठाउँमा न्यूरोड जस्तै फराकिला फुटपाथ र सफा सडक बन्छ कि बन्दैन भन्ने प्रश्न उठेको छ ।
सुरुमा फुटपाथ विस्तारको विरोध गरेका न्यूरोडका व्यापारीहरु भने अहिले फुटपाथको विस्तारको समर्थन उभिन थालेका छन् । न्यूरोडमा फुटपाथ विस्तार र तार भुमिगत गर्दा व्यापारमा कुनै असर नपरेको बताउँछन् न्यूरोडमा मोवाइल पसल चलाइरहेको रजाह खान ।
उनी भन्छन्, ‘पहिले हामीलाई सडक सानो बनाउँदा ग्राहक आउँदैनन् र व्यापार ठप्प हुने चिन्ता थियो । तर हाम्रो व्यापारमा कुनै असर परेको छैन । अहिले त एकदमै खुसी छौं । यस्तो फुटपाथ त अन्त पनि बनाउनुपर्ने रहेछ ।’
उनीमात्र होइन न्यूरोडका अधिकांश व्यापारीहरु फुटपाथ विस्तारले आफूहरुको व्यवसायमा खासै असर नपरेको बताउँछन् । साथै सर्वसाधरणले पनि खुला रुपमा बजार घुम्न पाएको बताएका छन् ।
जेठसम्म टुंगो लाग्ने छैन
न्यूरोड खुला र सफा हुँदा छेउमै रहेको खिचापोखरी तर्फ भने उस्तै भिडभाड, अव्यस्थित तारहरुले कुरुप देखिएको छ । खिचापोखरीका व्यापारीहरु पनि आफनो एरियामा कहिले फुटपाथ विस्तार होला भन्दै कुरिरहेका छन् । तर स्थानीयबासी र वडाध्यक्षको अडिगमा सडकपेटी विस्तार हुने छाँटकाट अझै छैन ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले आगामी जेठसम्म २२ नम्बर वडामा फुटपाथ विस्तारको काम अघि नबढ्ने बताए ।
उनले नेपालप्रेससँग भने, ‘कार्यदलले के प्रतिवेदन दिन्छ, त्यसपछि मात्र थाहा हुन्छ । कार्यदलको फेरि ६ महिना म्याद थपेको छ । जेठसम्ममा कार्यदलले प्रतिवेदन बुझाइसक्छ । अहिले इन्द्रचोकमा बनाइएको फुटपाथको प्रतिक्रिया हेरेर २२ नम्बरको समेत प्रतिवेदन बनाउने हो । प्रतिवेदन नआएसम्म अर्को निर्माण हुँदैन होला ।’
कार्यदलका संयोजक समेत रहेका काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष सुमन राजभण्डारीले अझै विस्तुत प्रतिवेदन तयार भइनसकेको बताए । विस्तृत इन्जिनियरिङ र विद्युत स्कटिङ गरेर मात्र प्रतिवेदन तयार गर्ने भनेको कारण हालसम्म प्रतिवेदन तयार भइनसकेको बताए ।
उनले भने, ‘हामीले त्यसको लागि विस्तृत इन्जिनियरिङ र विद्युत स्कटिङ गरेर मात्र रिपोर्ट दिने निर्णय गरेका छौं । सबै कुरा नाप्ने स्टडी गर्ने काम भइरहेको छ । निस्कर्ष केही निस्केको छैन । विस्तुत अध्ययनको काम भइराखेको छ । मंसिर दुई गतेसम्म म्याद दिएको थियो । अहिले म्याद थपेका छौं ।’
न्यूरोडमा पहिलोपटक तार भूमिगत
विद्युत प्राधिकरणले भूमिगत विद्युत् आपूर्ति थालेपछि महानगरले अनावश्यक पोल, ट्रान्सफर्मर र तार हटाएसँगै न्यूरोडको मुहार फेरिएको हो ।
नेपाल विद्युत प्राधिकरणले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको अव्यवस्थित तार र विजुलीको पोल हटाएपछि सफा र खुल्ला देखिएको छ ।
आँखै विझाउने तार र पोल हटाएपछि यतिबेला इन्द्रचोकको दृश्यले सबैलाई केही मात्रमा खुसी दिएको छ । सर्वसाधरणले यस्तो काम अन्य ठाउँमा पनि आवश्यक रहेको बताएका छन् ।
प्राधिकरणले पहिलोपटक न्यूरोडमा तार भूमिगत गरेर विद्युत् आपूति थालेकोे प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताए ।
उनले भने,‘ न्यूरोडमा हामीले पहिलोपटक तार भूमिगत गरिसकेका छौं । त्यहाँबाट विद्युत् आपूर्ति पनि भइरहेको छ । अझै केही ठाउँहरुमा बाँकी नै छ । त्यो पनि विस्तारै गरिदै जानेछौं ।’
उनका अनुसार न्यूरोडमा जस्तै अन्य ठाउँमा पनि तार भूमिगत गरिसकेपछि सहर सफा र चिटिक्क देखिन्छ ।