रवि तत्काल नछुट्ने, काठमाडौं प्रहरीलाई जिम्मा लगाउने तयारी – Nepal Press

रवि तत्काल नछुट्ने, काठमाडौं प्रहरीलाई जिम्मा लगाउने तयारी

काठमाडौं । अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने तत्काल नछुट्ने भएका छन् । काठमाडौं प्रहरी उनलाई पुनः पक्राउ गर्न तयार भएर बसेको छ ।

सहकारी ठगी मुद्दामा रविलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो । तर, उनी ‘छुटी जाने भएमा प्रहरीकै जिम्मा दिनु’ भन्ने मागबमोजिम अदालतले उनलाई प्रहरीकै जिम्मा दिन लागेको स्रोतले जनायो ।

रविविरुद्ध दायर भएको आर्थिक अपचलनसम्बन्धी मुद्दामा धरौटीमा रिहा भए पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा केही आदेश नआएको प्रहरी स्रोतको भनाइ छ ।

रविविरुद्ध काठमाडौं प्रहरीले आइतबार र रुपन्देही प्रहरीले मंगलबार सोही प्रकृतिको मुद्दा दायर गरेका कारण कास्की प्रहरीले उनलाई ती जिल्लामा पठाउने प्रहरी स्रोतले जनाएको छ ।

रविसहितका प्रतिवादीविरुद्ध कास्की,काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाइएका छन् । सबै जिल्लाका अदालतको मुद्दा किनारा नलागी उनलाई रिहा गर्न नसकिने प्रहरी स्रोत बताउँछ ।

रास्वपा स्रोतले भने अदालतले मागेको ६५ लाख रुपैयाँ धरौटी सकेसम्म आजै बुझाइने बतायो । प्रहरी स्राेतले भने शुक्रबार रविलाई काठमाडाैं प्रहरी परिसरकाे जिम्मा लगाइने दाबी गर्याे । तर, काठमाडौं प्रहरीलाई उनी राति नै वा भोलि ल्याइन लागेकोबारे केही जानकारी छैन । ‘उहाँलाई पहिला भैरहवा पठाउने हो कि यहाँ हो, यसबारे हामीलाई जानकारी भएन’, काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।

धरौटीमा छोड्न आदेश भएका छविलाल जोशीसहित अन्य प्रतिवादीका हकमा पनि यही हुने स्रोतको भनाइ छ ।


प्रतिक्रिया

One thought on “रवि तत्काल नछुट्ने, काठमाडौं प्रहरीलाई जिम्मा लगाउने तयारी

  1. अब पनि हिरासतमा लिनु भनेको जानी जानी फसाउन खोज्नु हो । मूल्य महंगो चुकाउनु पर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर