२५ सहकारी मर्ज गरेको किसान- ९२ हजार सदस्यको सारथि – Nepal Press
सहकारीका असल अभ्यास- १

२५ सहकारी मर्ज गरेको किसान- ९२ हजार सदस्यको सारथि

काठमाडौं । धान खेतीसँग जोडिएको असार १५ लाई किसानहरूले विशेष महत्व दिन्छन् । आजभन्दा २९ वर्ष पहिले किसानहरूको महत्वपूर्ण यो दिनमा जागरूक २५ युवा भेला भए । जुन भेलामा १६ पुरुष र ९ महिला थिए । उनीहरूको भेलाले किसानहरूको हितका लागि एउटा संस्था जन्माउने निष्कर्ष निकाल्यो । सोहीअनुसार उनीहरूले एउटा संस्था गठन गरे र मासिक ५० रुपैयाँ बचत संकलन गर्ने निर्णय गरे ।

तर किसानहरूलाई सदस्य बनाउन र मासिक ५० रुपैयाँ बचत संकलन गर्न सुरुमा उनीहरूलाई हम्मेहम्मे पर्‍यो । एक वर्षसम्म झोलामा संस्था बोकेर बचत संकलनको कार्य गर्नुपरेको सम्झन्छन् सहकारीका अध्यक्ष भोजराज पौडेल ।

उनी सुनाउँछन्, ‘२५ जना शेयर सदस्यबाट हामीले यो संस्थाको यात्रा सुरु गर्‍यौं । एक वर्षसम्म हामीले झोलामा संस्था बोकेर काम गर्‍यौं । त्यतिबेला किसानहरूबाट ५० रुपैयाँ निकाल्न हम्मेहम्मे थियो ।’

संस्था गठन गरेको एक वर्षपछि २०५३ साल असार १५ गते उनीहरू विधिवत रुपमा सहकारी दर्ता गर्न सफल भए । उनीहरू सहकारी स्थापानाको फाइल बोकेर तत्कालीन डिभिजन सहकारी कार्यालय नवलपरासी पुगे । सहकारी दर्ता गरे, जसको नाम हो किसान बचत तथा ऋण सहकारी संस्था ।

यो हो किसान बचत तथा ऋण सहकारी संस्थाले सहकारी क्षेत्रमा पाइला सुरु गर्दाको कथा । सहकारीको परिकल्पना ‘समृद्ध सदस्य, दिगो साकोस’ भन्ने छ । परिकल्पना जसरी गरिएको थियो, सोहीअनुसार सहकारी अगाडि बढिरहेको अध्यक्ष पौडेल बताउँछन् । जसले सहकारी क्षेत्रको यात्रामा करिब तीन दशक पार गर्न लागेको छ ।

सहकारी ठग हुन् भन्ने भाष्य स्थापित भइरहेको बेला किसान सहकारीको असल अभ्यास गरिरहेकामध्ये एउटा उदाहरणीय बन्न सफल भएको अध्यक्ष पौडेलको दाबी छ । त्यसैले अन्य सहकारी संस्थाहरूबाट पनि यस सहकारीको अभ्यासको सिको गर्न अवलोकनका लागि आउने गरेको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रोमा अन्य सहकारी संस्थाहरूबाट अवलोकनमा आउनुहुन्छ । हामीले गरेका राम्रा कुराहरूको सिको गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आएका छन् । हामीले गरेको अभ्यास उदाहरणीय नै छ ।’

गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान साकोसको कार्य क्षेत्र गण्डकी, बाग्मती र लुम्बिनी प्रदेश हो । हालसहकारीका चार जिल्लामा २४ सेवा केन्द्र र २६ सेवा काउन्टर छन् ।

स्वास्थ्योपचारदेखि ऋण मिनाहासम्म

सहकारीले आफ्ना सदस्यहरूका लागि स्वास्थ्योपचारमा समेत छुटको व्यवस्था गरेको छ । यस सहकारीका सदस्यहरूले भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज), भरतपुर सेन्ट्रल अस्पताल, नारायणी सामुदायिक अस्पतालमा विशेष छुट पाउँछन् । किसान साकोसको सदस्य खुल्ने प्रमाण देखाएमा त्यहाँ २५ प्रतिशतसम्मको स्वास्थ्योपचारमा छुट पाइन्छ ।

संस्थाले सदस्यमुखी कार्यक्रम जस्तैः उत्कृष्ट कारोबार सदस्य, नवविवाहित दम्पती भेटघाट, पूर्ण सदस्य परिवार भेटघाट, सुत्केरी भेटघाट कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

संस्थाले महिला सदस्यहरूलाई आफ्नै समूहमा संस्थागत वित्तीय साक्षरता तथा नीति-नियमबारे जानकारी प्रदान गर्ने, समूहमा आबद्ध गराउने, समूहबाट नै बचत संकलन गर्ने, समूहको सिफारिसअनुसार सदस्यहरूलाई सरल र सुलभ ब्याजदरमा सहज ढंगले ऋण सेवा उपलब्ध गराउने, नेतृत्व तथा क्षमता विकासको तालिम प्रदान गर्दै आएको छ ।

सदस्यहरूको मृत्युपश्चात् ऋण रकम मिनाहासमेत गर्ने गरेको छ । ‘सदस्यबाहेक बाहिर हामीले ऋण लगानी गरेका छैनौं । ऋण लिएकामध्ये तिर्न नै नसक्ने अवस्थामा पुगेको परिवारलाई हामीले ऋण मिनाहासम्म गरिदिएका छौं’, उनले भने ।

सदस्यहरूलाई वित्तीय साक्षरता, प्रविधिसम्बन्धी ज्ञान, सीपमूलक तालिम, गोष्ठीहरूको सञ्चालन गरी सदस्यहरूलाई व्यवसायीकरणमा जोडिने कार्यक्रमलाई पनि सञ्चालन गर्दै आएको छ ।

सदस्यहरूलाई ऋण सुरक्षा र सेवा दिने अभिप्रायले सञ्चालन गरिएको बीमा कार्यक्रमलाई केही संशोधन गरी संस्थाले पाँच लाखसम्म विनाधितोको ऋण सुरक्षणका लागि संस्थाले सञ्चालन गरेको चिन्ता निवारण कोषका माध्यमबाट सुरक्षा प्रदान गरिएको छ । सोभन्दा माथिका विनाधितो ऋण र धितो ऋणलाई बीमा कम्पनीसँग समन्वय गरी सेवा सञ्चालन गरिएको छ ।

संस्थाले विभिन्न सेवा केन्द्रहरूमा वित्तीय साक्षरता कक्षाहरू, युवा लक्षित सचेतना तथा विभिन्न व्यवसायिक तालिमहरू पनि सञ्चालन गर्दै आएको छ । सहकारीले साबुन, फिनेल, कौसी खेती, अगरबत्ती, बाटेको धुप, अचार, पशुपालन तालिमदेखि स्वास्थ्य शिविर, लागूऔषध दुव्र्यसन न्यूनीकरण र साइबर क्राइमसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

किसान साकोसले आर्थिक अवस्था कमजोर भएका सदस्यका परिवारका बालबालिकालाई छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ । कुनै रोगले पीडित सदस्य परिवारका बालबालिकालाई कक्षा १२ सम्म आवासीय विद्यालयको प्रायोजनमा निःशुल्क शिक्षाको व्यवस्था गर्दै आएको छ ।

७० वर्ष पुगेका वृद्ध सदस्यहरूलाई सम्मान गर्ने गरेको छ । ८४ वर्ष पुगेकालाई पनि चौरासी पूजाका दिन सम्मान गर्दै आएको छ । वृद्ध सदस्यहरूलाई तीर्थाटनको कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । यससँगै नेत्रदान, रक्तदान, स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।

किसान केन्द्रित स्मार्ट वित्तीय सेवा

किसान साकोसले १८ प्रकारका बचत सेवा दिइरहेको छ । आकस्मिक, दैनिक, मासिक, सञ्चय कोष, मुद्दती, बाल, सुपर, समृद्धि, विशेष, खुत्रुके, सुनौलो, सवारीसाधन, ज्येष्ठ नागरिक, रेमिट्यान्स, एकल महिला, नारी, कर्पोरेट र ऐच्छिक नामक बचत सेवा दिइरहेको छ । लघु उद्यमदेखि शैक्षिकसम्मको विभिन्न २१ शीर्षकमा ऋण प्रवाह गरिरहेको छ ।

संस्थाका शेयर सदस्यहरूलाई बैंक, वित्तीय संस्थाहरूबाट प्रदान गरिने सेवा सुविधाभन्दा कम नहुने गरी यस साकोसहरुले आफ्ना सदस्यहरूलाई सेवा प्रदान गरिरहेको छ । आफ्ना सदस्यहरूलाई प्रभावकारी गुणस्तरीय एवं सर्वसुलभ वित्तीय तथा गैरवित्तीय सेवा सञ्चालनका लागि अत्याधुनिक प्रविधिमा आधारित कोर बैंकिङ सिस्टम, मोबाइल एप्स सञ्चालनमा छन् ।

जुन प्रविधिबाट सदस्यहरूले घरमै बसेर पनि विद्युत, खानेपानी, मोबाइल रिचार्ज, इन्टरनेट, बैंक फन्ड ट्रान्सफरलगायत आफ्नो खाताको अद्यावधिक विवरणको जानकारी लिन रकम रकमान्तरसमेत गर्न सकिने व्यवस्था छ । मोबाइल बैंकिङ, क्यूआर कोड पेमेन्ट, इन्टरनेट बैंक फन्ड ट्रान्सफर, एटीएम जस्ता प्रविधिहरूको प्रयोग गरी सदस्य सेवा प्रदान गर्दै आएको छ ।

टेलिफोन बिल भुक्तानी, विद्युत पानीको महसुल भुक्तानी मोबाइल बैंकिङ सेवामार्फत गरी सदस्यहरूको खर्चमा मितव्ययी बनाउने गरिएको छ । किसान स्मार्ट बैंकिङ एप्सको प्रयोग गरी सदस्यहरूले आफ्नो घरायसी युटिलिटी सेवाको बिल भुक्तानी गर्न र राष्ट्रियस्तरका बैंकहरूमा प्रतिदिन अधिकतम २ लाखसम्म रकमान्तर गर्ने सुविधा उपलब्ध गराइएको छ ।

यससँगै ईऔसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत सदस्यहरूको खातामा रकम जम्मा गर्ने व्यवस्थासमेत गरिएको छ ।

सदस्यहरूको घरदैलो तथा पसलबाट दैनिक बचत गर्ने कार्यलाई व्यवस्थित, सुरक्षित, विश्वासिलो र कर्मचारीहरूको समय बचत गरी गुणस्तरीय सेवा प्रदान गर्न बजार प्रतिनिधिहरूलाई मोबाइल ट्याब्लेट प्रदान गरिएको छ ।

संस्थाका सदस्य तथा आफन्तहरूले देश विदेशबाट पठाएको पैसा सजिलैसँग झिक्न र पठाउन सकून् भन्ने अभिप्रायले १८ वटा रेमिट सेवा सञ्चालन गरिएको छ ।

संस्थाले सञ्चालनमा ल्याएको एटीएम कार्डमार्फत सदस्यहरूको बचत फिर्ता गर्न केन्द्रीय कार्यालयमा एटीएम बुथमार्फत नेपाल र भारतभरि एससीटी नेटवर्कमार्फत सुविधा लिन मिल्नेगरी व्यवस्था गरिएको छ ।

सहकारी एकीकरणमा अग्रणी भूमिका, २५ संस्थासँग मर्ज

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ सहकारीलाई मर्ज गरिसकेको छ । सहकारीको सङ्ख्यात्मकभन्दा गुणात्मक विकासका लागि एकीकरण अभियान नै चलाएर यस संस्थाले उक्त सङ्ख्यामा सहकारी एकीकरण गरेको हो । किसान सहकारी एकीकरण अभियानमा नेपालको अग्रणी संस्थाको रुपमा परिचित छ ।

२०५८ सालमा पहिलो पटक किसानले पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थालाई मर्ज गरेको थियो । त्यसयता २०६५ सालमा भृकुटी कागज कारखानामा कार्यरत कर्मचारी संगठनले चलाएको एक संस्थालाई मर्ज गर्‍यो । २०६८ सालमा अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई मर्ज गरेको थियो ।

त्यस्तै २०७३ सालमा जनमुखी बहुउद्देश्यीय सहकारी संस्था मर्ज गरेको यस संस्थाले सोही वर्ष अन्य ६ सहकारीसँग पनि मर्ज ग¥यो । जसमा पञ्चदृष्टि बहुउद्देश्यीय सहकारी संस्था, कावासोती बचत तथा ऋण सहकारी संस्था, समृद्धि बचत तथा ऋण सहकारी संस्था, हिमचुली सहकारी संस्था, कुनाको बचत तथा ऋण सहकारी संस्था र पञ्चवटी सामाजिक महिला उद्यमी सहकारी संस्था रहेका छन् ।

वि.सं २०७४ सालमा यस सहकारीले अन्य ६ सहकारी संस्थालाइ मर्ज गरेको थियो । नवअरुण बहुउद्देश्यीय सहकारी संस्था, श्रमिक सहयोग बचत तथा ऋण सहकारी संस्था, पूर्णिमा कृषि सहकारी संस्था, माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था, तीनचुली बचत तथा ऋण सहकारी संस्था र नव-जनभावना बहुउद्देश्यीय सहकारी संस्थालाई पनि यस सहकारीले मर्ज गरेको हो ।

२०७६ सालमा यस संस्थाले अन्य ८ सहकारीलाई मर्ज गर्‍यो । त्यस साल भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था, देवज्योति कृषि सहकारी संस्था, समृद्धि बहुउद्देश्यीय सहकारी संस्था, कीर्तिपुर बचत तथा ऋण सहकारी संस्था, सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था, सौहार्द बचत तथा ऋण सहकारी संस्था, सहज स्वास्थ्य सहकारी संस्था र सप्तगण्डकी कृषि सहकारी संस्थासँग मर्ज गरेको थियो ।

संख्यात्मकभन्दा गुणात्मक विकास गरौं भन्ने अभिप्रायका साथ हालसम्म २५ वटा सहकारी संस्थाहरूलाई एकीकरण गर्दै सहकारी एकीकरण अभियानमा अग्रणी संस्थाको रूपमा परिचय बनाउन सफल भएको अध्यक्ष पौडेलले दाबी गरे ।

‘हामीले धेरै सहकारी संस्थासँग विधिवत एकीकरण गरी एकीकृत कारोबार गरिरहेका छौं । अन्य सहकारी संस्थाहरू हामीसँग एकीकरण गर्न औपचारिक तथा अनौपचारिक संवाद भई नीतिगत प्रक्रियामा पनि छन् । आगामी दिनमा अन्य संस्थालाई पनि एकीकरण गर्न सक्छौं’, अध्यक्ष पौडेलले भने ।

निकट भविष्यमै तीन सहकारी संस्थासँग मर्जरमा जाने तयारी भइरहेको उनले जानकारी दिए ।

तीन अर्बमाथि बचत, यस्तो छ वित्तीय अवस्था

सहकारीका शेयर सदस्य सङ्ख्या ९२ हजार ६० पुगेको छ । ऋणीको सङ्ख्या भने १० हजार १३५ रहेको छ । सहकारीको कुल सम्पत्ति ३ अर्ब ९० करोड ५१ लाख ११ हजार ४१४ रहेको छ ।

सहकारीको मंसिर मसान्तसम्मको वित्तीय विवरण हेर्ने हो भने शेयर पुँजी ३५ करोड १३ लाख ७७ हजार ८०० रुपैयाँ रहेको छ । जगेडा कोषमा २० करोड ९९ लाख ४४ हजार ६३४ हुँदा अन्य कोषमा ४ करोड ४९ लाख ८३ हजार ३६८ रुपैयाँ रहेको छ ।

त्यस्तै किसान सहकारीको संस्थागत पुँजी २३ करोड २६ लाख ८२ हजार २७७ रहेको छ । यस सहकारीमा बचत रकम भने तीन अर्ब रुपैयाँ नाघेको छ । मंसिर मसान्तसम्म यस सहकारीमा ३ अर्ब १६ करोड ७५ लाख ९२ हजार ४९३ रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म यस सहकारीले २ अर्ब ४५ करोड ९९ लाख ७५ हजार ४५६ रुपैयाँ ऋण लगानी गरेको छ । ऋण लगानी नउठ्ने समस्या धेरै नरहेको जानकारी दिँदै अध्यक्ष पौडेल भन्छन्, ‘हाम्रोमा धेरै खराब ऋणी छैनन् । केही भएकाहरूको हामीले बीमामार्फत असुल गरेका छौं । आर्थिक मन्दीका कारण ऋण तिर्न नै नसक्नेगरी आम्दानीको स्रोत शून्य भएका केही ऋणीहरूलाई समय थप गरिदिने र कसैलाई छुट दिनेसम्मको काम हामीले गरेका छौं ।’

सहकारीमा बचत गर्नेहरू घटेका छन् । ऋण तिर्दैनौं भन्दै आन्दोलन गर्नेहरू पनि छन् । उनीहरुले ऋण पनि नतिर्ने गरेका छन्, तर यस सहकारीमा न बचत गर्नेहरू घटेका छन् न त ऋण तिर्दैनौं भन्नेहरू नै आएका छन् ।

‘सहकारीप्रतिको हल्लाले हामीलाई कुनै असर परेको छैन । बचत संकलनमा पनि असर परेको छैन । ऋण नै तिर्दैनौं भन्नेहरू पनि छैनन्’, उनले भने ।

आगामी दिनमा थप सशक्त र सदस्य केन्द्रित नै भएर अगाडि बढ्ने अध्यक्ष पौडेलले प्रतिबद्धता जनाए । विभिन्न शीर्षकमा उपसमिति गठन पनि गरिएको छ । विषय विज्ञसहितको उपसमिति गठन गरिएको हुँदा आगामी दिनमा अगाडि बढ्न सहज हुने उनले जनाकारी दिए ।

नोटः केही वर्षयता सहकारी क्षेत्र संघर्षपूर्ण अवस्थामा छ । सहकारीका नकारात्मक कुरा यतिसम्म फैलिएका छन् कि सहकारी अब चाहिँदैन भन्दै विरोधसम्म हुन थालेको छ । आमसमुदायसँग जोडिएको सहकारीका सबल पक्ष ओझेलमा परेको छ । केही सहकारीको बदमासीका कारण राम्रा सहकारी ओझेलमा परेका छन् । त्यसैलाई मध्यनजर गर्दै नेपाल प्रेसले आमसमुदायका बीच असल अभ्यास गरिरहेका सहकारीबारे जानकारीको श्रृङ्खला सुरु गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर