रवि स्थलमार्गबाट काठमाडौं आउँदै*, आइतबार अदालतमा हाजिर हुने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आइतबारमात्रै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् ।
बिहीबार सहकारी अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी रकम जम्मा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेपछि बेलुकी प्रहरी हिरासतबाट रिहा भए । हिजाे उनी पोखराको लेकसाइडस्थित होटल बसुन्धरामा बस्न गए । आज पाेखराबाट काठमाडौं आउँदै छन् ।
रविको ‘न्याय’ का निम्ति पोखरा केन्द्रित भएका उनका सहयोगीहरू आज बिहान काठमाडौं फर्किएका थिए ।
कामपा- १४ मा सञ्चालित स्वर्णलक्ष्मी वहुउद्देशीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा अदालती बयानका निम्ति उनी आइतबार हाजिर हुने उनी पक्षका कानुन व्यवसायी कमलप्रसाद पोखरेलले बताए ।
(भुलसुधारः यसअघि प्रकाशित समाचारको व्यहोरा सच्याइएको छ)