सुप्रिम सहकारी रकम अपचलनमा रविसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय – Nepal Press

सुप्रिम सहकारी रकम अपचलनमा रविसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय

रूपन्देही । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ ।

कास्की जिल्ला अदालतबाट लामिछाने धरौटीमा छुटेकै दिन रूपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । यो विषयमा अनुसन्धान गरेकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बिहीबार नै अनुसन्धान प्रतिवेदन बुझाएको नेपाल प्रेसलाई बताए ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा पूरक अनुसन्धान गरी प्रहरीले लामिछानेसहित पूर्वडीआइजी छविलाल जोशी र अन्य १४ जनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो । यसअघि पुराना २८ जनालाई समावेश गरी कुल ४२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले प्रतिवेदनको अध्ययन भइरहेको र उपयुक्त निर्णयका लागि छलफल भइरहेको जानकारी दिए ।

अनुसन्धान प्रतिवेदन अनुसार, रवि लामिछानेको व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाको नाममा सामूहिक रूपमा २ करोड १५ लाख २८ हजार गरी कुल ४ करोड १५ लाख २८ हजार बिगो मागदाबी गरिएको छ ।

प्रतिवेदनमा छविलाल जोशी र अन्यको संलग्नताबारे पनि खुलाइएको छ ।

पूर्वडीआइजी जोशीमाथि व्यक्तिगत २ करोड ५० लाख र मिडियाको नाममा सामूहिक रूपमा १ करोड ७७ लाख ८८ हजार गरी कुल ४ करोड २७ लाख ७८ हजार बिगो दाबी गरिएको छ। सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङमाथि ४ करोड ९६ लाख ८ हजार बिगोको दाबी छ ।

यसअघि, रवि लामिछाने गृहमन्त्री रहेको बेला ३ वैशाखमा अदालतमा दर्ता भएको मुद्दामा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना भएको आरोप लगाइएको थियो ।

बिहीबारमात्रै लामिछाने कास्की अदालतबाट ६५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका छन् । पोखरामा उनीमाथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।

कास्की अदालतमा धरौटीमा छाड्ने आदेशपछि प्रहरीले पहिले रूपन्देही वा काठमाडौं कहाँ लैजाने भन्ने विषयमा पनि आन्तरिक छलफल गरिसकेको थियो । तर, काठमाडौं अदालतमा हाजिर हुने भनेपछि रूपन्देही ल्याउने विषय तत्कालका लागि रोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर