खाद्य तथा पेय पदार्थको ५ प्रतिशतले मूल्य वृद्धि, अन्यकाे कस्ताे छ स्थिति ?
काठमाडौं । पछिल्लो तथ्यांकमा मूल्य वृद्धि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.९५ प्रतिशत रहेकोमा चालू आवको ५ महिनामा १.१ प्रतिशतले मूल्य वृद्धि भएको हो ।
चालू आर्थिक वर्षको ५ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.०० प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ४.९९ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । उता मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.५२ प्रतिशतले बढेको छ । सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.८९ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा चालू आवको ५ महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६ प्रतिशत, मधेश प्रदेशको ६.७७ प्रतिशत, बागमती प्रदेशको ५.८४ प्रतिशत, गण्डकी प्रदेशको४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।