ढँडार मष्टामाणु पुनर्निर्माण महाअभियान सुरु, राष्ट्रपतिद्वारा शिलान्यास गरिने – Nepal Press

ढँडार मष्टामाणु पुनर्निर्माण महाअभियान सुरु, राष्ट्रपतिद्वारा शिलान्यास गरिने

बझाङ । खस आर्यहरुका कुलदेवता मष्टाको उत्पतिस्थल बझाङको मष्टा गाउँपालिकामा रहेको ढँडार मष्टा माणु (मन्दिर)पुनर्निर्माणका लागि महाअभियान सुरु गरिएको छ । जनस्तरबाट सहयोग संकलन गरि निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गाउँपालिकाले यो अभियान संचालन गरेको हो ।

उक्त अभियानका क्रममा एकै दिन करिब ४० लाख रकम संकलन भएको छ । महाअभियानको बारे जानकारी दिन बझाङ सदरमुकाम चैनपुरमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न व्यक्तिहरुले ३९ लाख ८४ हजार ९९२ रुपैयाँ सहयोग गरेका हुन् ।

विक्रम संवतको ११ औं शताब्दी तिर निर्माण भएको विश्वास गरिएको यो मन्दिर जिर्ण अवस्थामा रहेको छ । देशै भरिबाट बर्षेनी ठूलो संख्यामा मष्टो प्रती आस्थावान व्यक्ति ढँडार मस्टाको दर्शन गर्न यहाँ पुग्ने गरेका छन् ।

मष्टा गाउँपालिकाले आर्थिक श्रोत संकलन र ब्यवस्थापनको लागि ‘मष्टामाणु पुनर्निर्माण अभियान सम्बन्धी कार्यविधी २०८१ तयार गरी नागरिक स्तरको समितिलाई पुनर्निर्माणको जिम्मेवारी दिएको छ ।

‘देशको कुल जनसंख्याको आधा हिस्सा रहेको खसआर्यहरुले मान्ने देवताको उत्पती थलोलाई यस्तो दुरावस्था राख्नु लज्जाको विषय भएको भन्दै पालिकाले यो अभियान संचालन गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले भने, ‘धार्मिक आस्थाका धरोहरहरु राज्यको विकास बजेट नभै आस्थावानहरुकै लगानी र स्वामित्वमा बन्नु पर्छ भन्ने मान्यतामा आधारित भएर पालिकाले कार्यविधी तयार गरी अभियान सुरु गरिएको हो ।’

उनले मष्टो सभ्यताको संग्राहलयको रुपमा विकास गर्ने गरी केही दिन भित्रै पुनर्निर्माणको प्रक्रिया सुरु हुने र राष्ट्रपतीले त्यसको शिलान्यास गर्ने गरी तयारी भैरहेको जानकारी दिए ।

पालिकाले जारी गरेको कार्यविधी अनुसार नागरिक स्तरको एउटा भेलाले केही दिन अघि पुर्न निर्माण मुल समिति गठन गरेको थियो । मष्टामाणु पुनर्निर्माणको लागि पुरातत्व विभागले दुइ वर्ष अघि नै अध्ययन गरी पुर्न निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको र सोही अनुसार पुनर्निर्माणको काम अघि बढाइने बताइएको छ ।

पुरातत्व विभागले पुनर्निर्माणका लागि रु ९ करोड ६८ लाख रकम खर्च हुने अनुमान गरेको समितिका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए । मष्टो देवता प्रति आस्थावान देश विदेशमा रहेका तथा सभ्यता संरक्षणमा लागेकाहरुबाट स्वऐच्छिक दान संकलन गरेर पुर्न निर्माणको काम थालिने उनले बताए ।

‘यो काम केवल मष्टाको मन्दिर निर्माणको काम मात्रै होइन । मष्टो सभ्यताको उत्पती थलोको संरक्षण र पुर्नउत्थानको अभियान पनि हो । उनले भने, ‘यसमा मष्टो संस्कृति मान्नेहरु र सभ्यता संरक्षणमा चासो राख्नेहरुबाट सहयोग हुने अपेक्षा गरेका छौ । उनले प्राप्त सहयोग रकम खर्च गर्ने प्रक्रियामा पुर्ण पार्दशिता कायम गर्नका लागि गाउँपालिकाले लेखा व्यवस्थापन गर्ने र सम्पुर्ण खरिद कार्य नेपाल सरकारको नियम अनुसार गरिने बताए ।

बिहिबार गरेको पत्रकार सम्मेलनमा पुर्व जिल्ला पञ्चायत सभापती नवराज जोशी, नेपाल प्रहरीका पूर्व डीआइजी तथा मष्टो संस्कृतिका अध्येता श्यामबहादुर खड्का लगायतले मष्टो सभ्यता र संस्कृतिको महत्वका बारे समेत जानकारी दिएका थिए ।

‘मष्टो संस्कृती भनेको प्रकृती पुजक संस्कृति हो । यसले प्रकृतीलाई क्षती नगरी जिवन यापन गर्ने कला लाई अंगिकार गरेको छ । देशको कुल जनसंख्याको ५१ प्रतिशत जनसंख्या खसआर्यहरुको रहेको र उनिहरुको कुल देवता मष्टो रहेको बताउदै खड्काले भने, ‘मष्टाको उत्पती थलोको पुनर्निर्माणपछि यो क्षेत्रलाई धार्मिक मात्रै नभई प्रकृति मैत्री जिवन शैलीको खुला संग्राहलयको रुपमा विकास गर्न सकिने सम्भावना छ ।’,
मष्टा माणुको पुनर्निर्माणपछि ढँडार मष्टा मन्दिरलाई धार्मीक पर्यटनको केन्द्र बनाउनका लागि मष्टाको मुल मन्दिर, नजिकै रहेका बाँठपाला र लाकुँडा देवताको मन्दिर, मन्दीरको सिंढी, धर्मशाला, संग्राहलय तथा पार्क सहित निर्माण गर्ने गरी काम भैरहेको पुनर्निर्माण मुल समितिका सचिव जोग कठायतले जानकारी दिए ।

‘यो क्षेत्रलाई धार्मिक मात्रै नभई मष्टो सभ्यताको बारे अध्ययन गर्न चाहानेहरुको केन्द्रको बनाउने योजना अनुसार काम अघि बढेको छ । उनले भने, ‘पुनर्निर्माण सम्पन्न भए पछि यो क्षेत्रको पर्यटन प्रर्बद्धनको लागि पनि काम गर्ने तयारी भइरहेको छ । उनले आगामी दुई वर्ष भित्रमा सम्पुर्ण संरचनाहरु निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरीने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *