बर्दघाट नगरपालिकामा एउटै गठबन्धनबाट जितेका मेयर-उपमेयरबीच किन बढ्दैछ विवाद ? – Nepal Press

बर्दघाट नगरपालिकामा एउटै गठबन्धनबाट जितेका मेयर-उपमेयरबीच किन बढ्दैछ विवाद ?

उपप्रमुखद्वारा प्रस्ताव च्यातेर नगरसभा बहिष्कार

रूपन्देही । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा एउटै गठबन्धन गरेर निर्वाचन जितेका मेयर-उपमेयरबीचको विवाद बढ्दै जाँदा एकले अर्कोलाई अस्वीकार गर्न थालेका छन् ।

०७९ सालको निर्वाचनमा कांग्रेस-माओवादीसहितका ५ दलको गठबन्धनबाट मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादीका रूद्रप्रकाश उपाध्याय विजयी भएका थिए । तर २६ सदस्यीय कार्यपालिकामा मेयर श्रेष्ठको पूर्ण बहुमत रहेको छ ।

उपमेयर उपाध्यायले बहुमतको दम्भमा आफ्ना अधिकार कटौती गरेको गुनासो गर्दै आएका छन् । उपमेयर उपाध्यायले कार्यपालिकाको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै नगरसभा बैठक बहिष्कार गरेपछि उनीहरूको विवाद सतहमा आएको हो । उपाध्यायले शुक्रबार १५ औं नगरसभामा प्रस्तुत प्रस्तावहरु च्यातेर बैठक बहिष्कार गरेको बताएका छन् ।

बर्दघाट नगर कार्यपालिकाको मंसिर २३ गतेको बैठकको निर्णयानुसार बर्दघाट नगरपालिकाको पुस २६ गतेको कार्यपालिकामा ल्याइएको प्रस्तावमाथि आपत्ति जनाउँदै उनले बहिष्कार गरेको बताए ।

चालु आ.ब. २०८१र०८२ को नीति कार्यक्रम तथा बजेटका शिर्षकान्तर र रकमान्तर सम्वन्धमा र विभिन्न समयका बैठकका निर्णय अनुमोदन रहने गरी आह्वान गरिएको १५ औं नगरसभामा नगर सभाको निर्णय नं।४ मा आफूले कार्यपालिका बैठकमा फरक मत राखेको आफ्नै विरुद्धको निर्णय अनुमोदनका लागि पेश गरेको आरोप लगाउँदै नगर उपप्रमुख उपाध्यायले प्रस्तुत प्रस्तावहरु च्यातेर पत्रकार सम्मेलन गरेको बताए ।

नगरप्रमुखले बहुमतको दम्भमा एकलौटी गरेको उपाद्यायको आरोप छ।२०८१ असोज २२ गतेको नगरकार्यपालिकाको बैठकमा बर्दघाट ट्रमा सेन्टरका विषयमा आफू लगाएत अन्य कार्यपालिका सदस्यहरुले फरक मत राखेको निर्णयका विरुद्धमा गरिएको निर्णय अनुमोदन गराउने प्रस्ताव आएपछि त्यो बाहेकका सबै निर्णय नगर सभामा पेश गर्न र त्यस विषयमा पछि छलफल गर्नका लागि नगर प्रमुख शम्भुलाल श्रेष्ठसंग आग्रह गर्दा नमानेपछि आफूले नगर सभा बहिस्कार गरेको उनको भनाइ छ ।

बर्दघाट नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको ट्रमा सेन्टरको भवन सार्वजनिक जग्गामा भाडामा बनाइएको विषयमा बिगतदेखि नै फरक मत राख्दै आएका उपाद्यायले ट्रमा सेन्टर शिलान्यासको दिन अनुपस्थित रहि आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर विरोध जनाएका थिए । ट्रमा सेन्टर शिलान्यासका बारेमा आफूलाई कुनै जानकारी नआएको र कुनै सूचना नगरिएको उपाद्यायको भनाइ छ ।

सोही विषयलाई लिएर गौरवको आयोजना शिलान्यासकै दिन उपप्रमुख उपाद्यायले शिलान्यास कार्यक्रम बहिष्कार गरेको भन्दै कार्यपालिकामा मेयर श्रेष्ठले खेद प्रस्ताव लगेर पास गराएका थिए ।आफ्नै विरुद्धमा आएको खेद प्रस्तावमा म कसरी हस्ताक्षर गरौं अनि कागचात च्यातेर हिडेको हुूँ’उपाद्यायले भने । फरक मत राख्दैमा विरोध वा असहयोग हो भन्ने नहुने उनले बताए ।

‘त्यो प्रस्तावबाहेक अरु विषयमा त मेरो सहमति नै छ अरु मुद्दामा छलफल गरौँ भन्दा मेयरसाब मान्नु भएन,विषय एउटा छ प्रसङ्ग अर्कोमा लगेर जोडिएको छ, अनि उठेर हिड्नु बाहेक विकल्प रहेन’ उपाद्यायले भने ।

उपमेयर उपाध्यायले आफ्नो अडानमा एमाले, समाजवादीबाट जितेका वडाध्यक्ष र कार्यपालिका सदस्यले साथ दिएपनि मेयरले बहुमतको दम्भमा अगाडि बढाएको बताए । ‘सार्वजनिक जग्गामा भाडा तिरेर कसरी पालिकाले काम गर्न सक्छ, गठबन्धन गरेर जितेपनि गलत कुराको समर्थन गर्न सकिएन, एउटामात्र कुरामा होइन मेयरसँग धेरै कुरामा विमति छन्, बजेटमा मेरो कुनै अधिकार छैन,उहाँको तजविज छ’ उनले नेपाल प्रेससँग भने ।

यो विषयमा नगरप्रमुख शम्भुलाल श्रेष्ठले असन्तुष्टि जनाउने विधि र प्रकृया हुँदा हुँदै पनि उपप्रमुख असभ्य भएको र कार्यपालिकाको गरिमा भुलेर अभद्र शैलीमा प्रस्तुत भएको बताए ।’उहाँलाई चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न सकिन्छ प्रस्ताव नै च्यातेर अभद्रता देखाइयो,अर्को कुरा म एक्लैले ल्याएको प्रस्ताव पनि होइन सिङ्गो कार्यपालिका बहुमतले ल्याएको कुरा हो त्यसैले यो पदीय आचरण होइन गैरजिम्मेवारी हो’ नगरप्रमुख श्रेष्ठले भने ।

ट्रमा सेन्टर शिलान्यासमा उपप्रमुख जस्तो ब्यक्तिले सूचना वा जानकारी नपाएको भन्नू हाँस्यास्पद रहेको र कसरी अवरोध गर्न सकिन्छ भन्ने मात्रै चिन्तन भएको नगरप्रमुख श्रेष्ठको आरोप छ ।

‘उहाँको ध्यान नै कसरी असफल बनाउने भन्ने छ,एउटा गौरवको आयोजना बर्दघाटमा आउँदा उहाँलाई केको आपत्ति होरु हरेक कुरामा आपत्ति हरेक कुराको विरोध त्यसैले यो विरोधका लागि विरोध बाहेक केही होइन’ नगर प्रमुख श्रेष्ठले भने । बर्दघाटमा गठबन्धन गरेर गएकाले मेयर उपमेयर दुवै पुरूष छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *